"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्रीले भोली संसद्बाट विश्वासको मत लिदै

प्रकाशित मिति :  10 March, 2024 11:46 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० मा संसद्मा विश्वासको मत लिने भएका छन् । सत्ता गठबन्धनको सहयात्री दल परिवर्तन गरेपछि दाहालले विश्वासको मत लिने तयारी थालेका हुन् । १४ महिनायता उनले विश्वासको मत लिन थालेको यो तेस्रो पटक हो । यसअघि गत वर्षको पुस २६ मा पहिलो पटक र चैत ६ मा दोस्रो पटक दाहालले विश्वासको मत लिएका थिए ।

विश्वासको मतका लागि दाहालले माओवादी केन्द्रको संसदीय दलबाट ह्विप जारी गर्ने निर्णय गराएका छन् भने सत्ता साझेदार दलहरूसँग छलफल तीव्र पारेका छन् । शनिबार बसेको दलको बैठकमा उनले साझेदार दलहरूसँग छलफल गरिरहेको जानकारी गराएका थिए । विश्वासको मत लिएपछि मात्रै सदनमा महत्त्वपूर्ण विधेयक अगाडि बढाउने र प्रतिनिधिसभामा पेस भएको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) माथि छलफल चलाउने तयारी रहेको प्रधानमन्त्रीले बताएका थिए ।

माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीले विश्वास लिन लागेको र सोहीअनुसार सांसदहरूका लागि ह्विप जारी गर्ने निर्णय गरेको बताए । ‘प्रतिनिधिसभामा विश्वासको मत र राष्ट्रिय सभामा अध्यक्षको निर्वाचन हुँदै छ । त्यो बेला हाम्रो दलका सांसदको अनिवार्य उपस्थितिका लागि ह्विप जारी गर्ने निर्णय गरेका छौं,’ उनले भने ।

बैठकमा प्रधानमन्त्री दाहालले सत्ता साझेदार दल फेरिएपछि राजनीतिक चलखेल जारी रहेको बताएका थिए । विश्वासको मत नलिएसम्म प्रमुख प्रतिपक्षलगायतले विश्वासको मत असफल पार्ने प्रयास जारी राख्ने उनको भनाइ थियो । दाहालको भनाइ उल्लेख गर्दै एक सांसदले भने, ‘विश्वासको मत नलिँदासम्म प्रधानमन्त्री पद बाँडिरहन्छन् । विश्वासको मत लिनका लागि सबै सक्रियतापूर्वक लागौं ।’ विश्वासको मत लिएर संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन, निजामती विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक, प्रि–बजेट छलफल सदनमा अगाडि बढाउने प्रधानमन्त्रीले बताएका थिए ।

प्रधानमन्त्री दाहालले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ,’ उक्त धारामा उल्लेख छ । कांग्रेसले फागुन २२ मा दाहाल सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।

प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी गरेसँगै सत्ता साझेदार दलहरूले आआफ्नो संसदीय दलको बैठक आह्वान गरेका छन् । प्रमुख सत्ता घटक एमालेले फागुन २९ मा संसदीय दलको बैठक बोलाएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले विश्वासको मत कहिले लिने भन्ने अहिले छलफलकै विषय भएको तर संसदीय दलबाट निर्णय लिने जानकारी दिए । ‘फागुन २९ मा संसदीय दलको बैठक बोलाएका छौं भने ३० गते हाउसको बैठक छ । प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा औपचारिक कुरा भइसकेको छैन । सरकारले निर्णय गरेमा प्रतिनिधिसभाको आगामी बैठक वा लगत्तै विश्वासको मत लिने भन्नेछ,’ उनले भने ।

सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । रास्वपाका सबै सांसद केन्द्रीय समिति सदस्य छन् । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले केन्द्रीय समितिमा प्रधानमन्त्रीले संसद्बाट विश्वासको मत लिने विषयमा छलफल र निर्णय हुने जानकारी दिए । माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकारमा एमाले, रास्वपा र एकीकृत समाजवादी सहभागी भइसकेका छन् भने जसपाबाट मन्त्री सहभागी हुन बाँकी छ ।

दाहालले यसअघि २०७९ पुस २६ मा एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गर्दै पहिलो पटक प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए । २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि दाहाल नेतृत्वमा २०७९ पुसमा सरकार गठन भएको थियो । त्यसपछि उनले विश्वासको मत लिनुपरेको थियो । त्यतिबेला प्रतिपक्षको बेन्चमा बसेको कांग्रेसले समेत दाहाललाई विश्वासको मत दिएको थियो । विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ सांसदले दाहालको पक्षमा मतदान गरेका थिए । उनको विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले मात्रै मत राखेका थिए ।

राष्ट्रपति निर्वाचनसँगै दाहालले २०७९ फागुन दोस्रो साता एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सत्तायात्रा सुरु गरेका थिए । एमालेसँगको गठबन्धन तोडिएपछि दाहालले दोस्रो पटक २०७९ चैत ६ मा प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । दोस्रो पटक विश्वासको मत लिँदा दाहालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायत उभिएका थिए । दोस्रो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री दाहालको पक्षमा सदनमा उपस्थित २६२ सांसदमध्ये १७२ सांसदले पक्षमा भोट हालेका थिए । दाहालको विपक्षमा ८९ सांसदले मत राखे भने नेमकिपा ‘मत दिन्न’ भन्ने पक्षमा उभिएको थियो ।

दाहालले तेस्रो पटक विश्वासको मत लिने तयारी गरिरहेका बेला उनको पक्षमा हालसम्म एमाले, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद अमरेशकुमार सिंहसमेत गरी १५३ सांसद देखिएका छन् । कांग्रेससँगै राप्रपा, जनमत, लोसपा, नागरिक उन्मुक्ति, जनमोर्चा, नेमकिपा, आमजनता पार्टी गरी ११९ सांसद विपक्षमा छन् । कांग्रेस र एमालेका १–१ सांसद निलम्बनमा छन् भने इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त छ । विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभामा तत्काल कायम रहेका सांसदहरुको संख्यामध्ये बहुमतले प्रधानमन्त्रीको पक्षमा मत दिनुपर्नेछ ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू