"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को अध्यक्षमा पहिलो पटक नेपाल निर्वाचित

प्रकाशित मिति :  1 August, 2025 3:17 pm


काठमाडौं – संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा संयुक्त राष्ट्रसंघको एउटा प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा निर्वाचित भएका छन् । इकोसकको अध्यक्षमा नेपाल निर्वाचित भएको पहिलोपटक हो ।

विहीवार इकोसकको अध्यक्षता सम्हाल्दै राजदूत थापाले यो नेपालका लागि ऐतिहासिक क्षण भएको बताए । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएको ७० वर्षको अवधिमा मुलुकले बहुपक्षीयताप्रति देखाएको दृढ प्रतिबद्धतालाई यो निर्वाचननले प्रतिविम्बित गरको थापाले बताए ।

‘अहिले संसार द्वन्द्व, जलवायु परिवर्तनले सृजना गरेको अस्तव्यस्तता, आर्थिक अनिश्चितता तथा गहिरिँदो असमानताजस्ता बहुसंकटबाट गुज्रिरहेको छ,’ उनले भने, ‘पुन: चर्किएको महाशक्तिहरुबीचको प्रतिस्पर्धा, बढ्दो साइबर जोखिमहरु, बाटो बिराएको दिगो विकासको कार्यसूची, बढ्दो मानवीय सहयोगको आवश्यकता र विकासशील देशहरूका लागि वार्षिक ४० खर्ब डलरको वित्तीय स्रोत अभावको अवस्था छ ।’ यस्तो परिस्थितिमा इकोसोकको भूमिका इतिहासमा सबैभन्दा बढी सान्दर्भिक र महत्वपूर्ण रहेको उनले बताए ।

यसअघि सो पदमा राष्ट्र संघका लागि क्यानडाका स्थायी प्रतिनिधि बब रे थिए । समारोहमा इकोसकका निवर्तमान अध्यक्ष रेले थापालाई अध्यक्ष पद हस्तान्तरण गरे । आर्थिक तथा सामाजिक परिषद् (इकोसक) संयुक्त राष्ट्रसंघका ६ वटा मुख्य अङ्गमध्ये एक हो । यसले अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक विषयमा सहकार्य र विकासका क्षेत्रमा काम गर्छ ।

यसमा ५४ सदस्य राष्ट्रहरू सदस्य हुन्छन्, जसलाई महासभाले तीन वर्षका लागि क्षेत्रीय आधारमा निर्वाचित गर्छ । इकोसकले विकासदेखि मानवअधिकारसम्म काम गर्ने संयुक्त राष्ट्रसंघका विशेष एजेन्सीहरू, आयोगहरू र निकायहरूको कामलाई समन्वय गर्छ । यो स्थापना भएको ८० वर्ष पुगिसकेको छ ।

अल्पविकसित मुलुकबाट स्तरोन्नति गर्ने विषयमा निर्णय गर्ने निकाय पनि इकोसक नै हो । स्तरोन्नतिसम्बन्धी विषयमा विकास नीति केन्द्र नामक राष्ट्रसंघीय निकायले गर्ने सिफारिसलाई इकोसकले स्वीकृति प्रदान गरेर महासभामा पेश गर्छ । महासभाले  यस सम्बन्धमा अन्तिम निर्णय गर्छ ।

यो निकायले कोही पनि पछि नछुट्ने कुराको सुनिश्चितता गर्दै विश्वको विकास एजेन्डा निर्धारण गर्ने काम यो निकायले गर्नुपर्ने थापाले बताए । ‘इकोसोक हामी सबैको ठाउँ हो । यसमा संयुक्त राष्ट्रसंघका सबै सदस्य तथा सरोकारवालाको समर्पण, सहभागिता र सक्रिय संलग्नता आवश्यक छ,’ उनले भने ।

थापासँगै आगामी वर्षका लागि चार उपाध्यक्षहरू पनि निर्वाचित भएका छन्, जसमा अल्जेरियाका अमार बेन्डजामा, स्पेनका हेक्तर गोमेज हर्नान्डेज, डोमिनिक गणतन्त्रका वेलिङ्टन डारिओ बेन्कोसमे कास्टानोस र आर्मेनियाका परुयर होभानिस्यान छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारमा बिहीबार भएको भेटघाटमा सभामुख अर्यालले सरकारले

काठमाडौं – सरकारले नेपाल र भारतबीच रहेका सीमा सम्बन्धी समस्याहरूलाई ऐतिहासिक सन्धि, नक्सा र तथ्यका आधारमा कूटनीतिक माध्यमबाट समाधान गर्न

एजेन्सी – बेलायती प्रधानमन्त्री कियर स्टार्मरले सोमबार पदबाट राजीनामा दिएका छन्। भारी बहुमतका साथ निर्वाचित भएको दुई वर्ष पनि नपुग्दै