गृहमन्त्री रवि लामिछानेको निर्देशनमा निर्मला हत्या अनुसन्धान गर्न डिआइजीको नेतृत्वमा समिति गठन
काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना अनुसन्धान गर्न पुनः समिति गठन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए ।
त्यस्तै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । मन्त्रीको निर्देशनमा शुक्रवार समिति गठन गरिएको प्रहरी प्रधान कार्यालयका अधिकारीहरू बताउँछन् । समितिमा सिआईबीमा कार्यरत एसपी कमल थापा र मनोचिकित्सक डा. राजेश दत्त सदस्य छन् ।
यद्यपि २०७५ साउन १० मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो । १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा पक्राउ गरिएका विष्ट डिएनए नमिलेपछि रिहा भएका थिए ।
यस्तै अनुसन्धान समितिको संयोजक तोकिएकी सिंह त्यतिवेला पनि घटना अनुसन्धान गर्न कञ्चनपुरमा खटिएकी थिइन् । घटनापछि धेरै समिति बनेर छानबिन भएपनि आरोपीबारे प्रहरीले अहिलेसम्म कुनै सुराक पाउन सकेको छैन ।













