"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संसद्को नयाँ कार्यकालका महत्त्वपूर्ण जिम्मेवारी

प्रकाशित मिति :  10 January, 2023 1:14 pm


नयाँ प्रतिनिधिसभाको नयाँ यात्रा सोमबारदेखि सुरु भएको छ । यो संसद्ले सुरुमै पार लगाउनुपर्ने केही महत्त्वपूर्ण जिम्मेवारीहरू अघिल्लो संसद्ले नै तय गरिसकेको छ । नागरिकताविहीनको समस्या समाधान गर्न नागरिकता विधेयकलाई यसले टुंगो लगाउनुपर्नेछ ।

प्रहरी समायोजन र निजामती कर्मचारी समायोजनसँग सम्बन्धित विधेयक पारित गरेर संघीयतालाई कार्यान्वयनमा लैजान भूमिका खेल्नुपर्नेछ । सत्य निरूपण सम्बन्धी कानुन बनाई सशस्त्र द्वन्द्वकालीन मुद्दाहरूलाई टुंगोमा पुर्‍याउनुपर्नेछ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लागेको महाभियोग अनिर्णीत अवस्थामै रहेकाले नयाँ संसद्ले यसलाई स्वीकार गर्ने कि नगर्ने भन्नेबारे पनि निर्णय लिनुपर्ने हुन्छ ।

यस्ता नयाँ–पुराना मुद्दाहरू अगाडि बढाउन संसद्को संरचना भने सहज छैन । संसद्मा कुनै पनि राजनीतिक दलको बहुमत छैन । सत्ता गठबन्धनमा जो–जो सामेल छन्, न्यूनतम साझा कार्यक्रम ल्याए पनि उनीहरूबीच संघीयता, नागरिकता, संक्रमणकालीन न्याय लगायतका आधारभूत मामिलामै ठूलो मतभिन्नता देखिन्छ । अघिल्लो संसद्मा तत्कालीन नेकपाको झन्डै दुईतिहाइ बहुमत हुँदा पनि यी विषयमा पार्टीभित्रै एकमत थिएन, जसका कारण यो मामिला हालको संसद्सम्म तानिएको हो । अहिले विचारधारा नै नमिल्ने पार्टीहरूको सरकार रहेको अवस्थामा यी विषयको निर्क्योल हुन झनै कठिन हुन सक्छ, तर यसलाई नयाँ संसद्ले सार्थक निष्कर्षमा पुर्‍याउनैपर्ने हुन्छ । नत्र पुराना मुद्दा फेरि टड्कारो बनेर आउने जोखिम सामुन्नेमा छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार संसद्बाट विश्वासको मत पाउने निश्चितप्रायः देखिएको छ । त्यसपश्चात् मुलुकमा स्थायित्व सुनिश्चित गर्ने दायित्व संसद्को काँधमा पनि आउनेछ । कुनै एउटा दल यताउता हुँदासमेत सत्ताको अंकगणित खलबलिने सम्भावना देखिनु यो संसद्को सबभन्दा जोखिमपूर्ण पाटो हो । तर दलहरू जनमतअनुरूप काम नगरी सत्ताको खेलमा अल्झन थालेमा मुलुकले फेरि पनि राजनीतिक स्थिरता पाउनेछैन । अघिल्लो संसद् सत्तारूढ दलको आन्तरिक विवादमा परेर दुई–दुई पटक मृत्युशय्यामा पुगेको अवस्था नदोहोर्‍याउन र संसद्लाई परिणाममुखी बनाउनका निम्ति राजनीतिक दलहरूका नेताले आ–आफ्नो सत्ताकांक्षालाई संयमित राख्नुपर्छ ।

सरकारलाई आफूप्रति जवाफदेह बनाउन संसद्ले सुरुदेखि नै खबरदारी गर्नुपर्छ । सांसदहरूले दलविशेष होइन, जनताप्रति जवाफदेह भएर सरकारी कामको निगरानी गर्नुपर्छ । यसका निम्ति प्रथमतः सभामुख पदमा संसद्लाई कुशलतापूर्वक नेतृत्व दिन सक्ने व्यक्तित्व आउन जरुरी छ । दलहरूले सभामुखको उम्मेदवारीका लागि नाम प्रस्ताव गर्दा यसतर्फ विचार पुर्‍याउनुपर्छ । यसै गरी संसदीय समितिहरूलाई प्रभावकारी बनाउन त्यसको अगुवाइ अनुभवी एवम् सक्षम सांसदहरूबाट गराइनुपर्छ । संसदीय समितिमा स्वार्थ बाझिने सांसदहरूको बोलवाला तोड्न सक्ने र समितिको छलफल तथा छानबिनबाट आएका तथ्यका आधारमा सत्य कुरा जनतामाझ राख्ने क्षमता भएका सभापतिहरू चाहिएका छन् ।

प्रधानमन्त्री र मन्त्रीहरूलाई संसद्प्रति जवाफदेह बनाउन सक्ने क्षमता भएकालाई समितिको नेतृत्व दिँदा संसदीय समितिको पनि मान रहन्छ । त्यसमा नयाँ आउने सभामुख र राजनीतिक दलहरूका नेताले ध्यान दिनुपर्छ । यसअघि संसदीय समितिका अधिकांश सभापति कमजोर देखिएकाले प्रधानमन्त्री तथा मन्त्रीहरू संसद्प्रति जवाफदेह भएका थिएनन् । संसदीय समितिमा शीर्ष नेताहरूको उपस्थिति नगण्य हुन्थ्यो । प्रधानमन्त्रीको पदमा रहादा केपी शर्मा ओली र शेरबहादुर देउवा एक पटक पनि संसदीय समितिमा उपस्थित भएनन् । उस बेला कार्यपालिकालाई सहयोग पुर्‍याउने प्रकृतिका सभापतिहरू रहँदा संसदीय समितिहरूले सरकारी काम–कारबाहीको राम्ररी निगरानी गर्नै सकेनन् । मन्त्रीहरूले संसदीय समितिका सभापतिलाई निर्देशन दिएर निर्णय र निर्देशनसमेत उल्टाएका उदेकलाग्दा दृश्यहरू देखा परे । अब संसदीय समितिहरूको यस खाले दुर्गति हुनु हुन्न । त्यसका निम्ति पहिलो सर्त भनेकै यस्ता समितिको नेतृत्वमा ओजस्वी व्यक्तिहरूको उपस्थिति हो ।

संसदीय समितिको प्रभावकारितामा संसद् सचिवालयको भूमिका पनि महत्त्वपूर्ण रहन्छ । प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावलीहरूमा संघीय संसद्का सचिवहरू पनि संसदीय समितिमा समेत जान सक्ने व्यवस्था छ । तर पहिलो प्रतिनिधिसभाकालमा समितिमा सचिवहरू गएका घटना औंलामा गन्न सकिन्छन् । बरु संसदीय समितिका सभापतिहरूले कनिष्ठ उपसचिवलाई समेत समिति सचिव बनाउन लगाएका थिए । कतिसम्म भने, समिति सभापतिले समितिको जिम्मवारीमा कहिल्यै नरहेका प्राविधिकबाट बढुवा हुँदै उपसचिव भएका कर्मचारीलाई पनि समिति सचिवको जिम्मेवारी दिएका थिए । यस्ता निर्णयलाई संसद्का महासचिवले फटाफट सदर गर्ने गरेका थिए । अबको संसद्को सुरुमै प्रशासनिक नेतृत्वले नियमावलीको व्यवस्था अनुसार सचिव र सहसचिवहरूलाई समितिको सचिवको जिम्मेवारी दिनुपर्छ ।

संघीय संसद्ले संघीयता कार्यान्वयन गर्ने कानुन निर्माण गर्न सकेको छैन । संविधानले प्रदेश र स्थानीय तहहरूलाई कानुन बनाएर अधिकार प्रत्याभूत गर्नुपर्ने भनेको छ, तर पाँच वर्षको अवधिमा पनि व्यवस्थापिकाले कानुन बनाएको छैन । कार्यपालिकालाई पनि प्रदेश र स्थानीय तहहरूको हारगुहारले प्रभावित गरेको देखिएन । अबको संसद्ले संघीयता कार्यान्वयनमा देखिएको यस खाले रिक्तता सुरुमै हल गर्नुपर्ने हुन्छ । सांसदहरूले जनजीविका, मुलुकको आर्थिक अवस्था, बढ्दो महँगी, बेरोजगारी समस्या, सुशासन आदिमा सरकारलाई निरन्तर जवाफदेह बनाउनुपर्छ । सांसदहरूले हाजिरी गरेर संसद् बैठक छाड्ने प्रवृत्ति अब देखिनु हुन्न । यसका लागि राष्ट्रिय सभाले सुरु गरेको ‘इ–हाजिरी’ को प्रचलन प्रतिनिधिसभामा पनि अपनाउन सकिन्छ ।

संसद् सचिवालयले जनताको करबाट भत्ता लिन मात्रै संसद्मा उपस्थित हुने तर कानुन निर्माण गर्ने बेला कुर्सी खाली राख्ने सांसदहरूको हाजिरी सार्वजनिक गर्नुपर्छ । संसद्लाई पारदर्शी बनाउन सकियो भने सांसदहरू पनि जवाफदेह बन्न बाध्य हुनेछन् । अघिल्लो संसद्ले ठूलो उतारचढाव भोग्दै बल्लतल्ल पूर्णकाल पार गर्न सकेको थियो । अब त्यस्तो प्रतिकूलताको पुनरावृत्ति हुनु हुन्न । विगतका त्रुटि–कमजोरीबाट पाठ सिक्दै संसद्लाई प्रभावकारी बनाउन सत्तापक्ष र प्रतिपक्ष दुवैले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका निर्वाह गर्नुपर्छ ।

  • पत्रपत्रिकाहरुको सहयोगमा



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय

काठमाडौँ– प्रतिनिधिसभाको बैठकले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।सभामुख डोलप्रसाद अर्यालले

काठमाडौँ- सरकारले पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङसम्बन्धी अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन ग्रहण गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं – प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध कायमै राखेका छन् । केहीबेर अघि सुरु भएको बैठकमा विपक्षी दलका सबै सांसदहरू