"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमाले महासचिव पोखरेलको ‘दुईदलीय राजनीतिक प्रणाली’ प्रस्ताव

प्रकाशित मिति :  26 February, 2022 9:25 pm


काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले अहिलेको लोकतान्त्रिक राजनीतिक प्रणालीलाई दुईदलीय प्रणालीमा लैजाने गरी बहस अगाडि बढाउनुपर्ने नयाँ प्रस्ताव अगाडि सारेका छन् । नेपालसँग धेरै अस्थिरता र राजनीतिक दलबीचको झै–झगडा खेप्ने सामर्थ्र्य नरहेको दलिल पेस गर्दै पोखरेलले अबको चुनावी तयारीमा देशलाई दुईदलीय प्रणालीमा लैजाने बहसलाई जागरणका रूपमा चलाउन कार्यकर्ताहरूलाई निर्देशनसमेत दिएका छन् ।

‘यो मुलुकमा एउटा बलियो शक्तिको खाँचो छ । बाह्य हस्तक्षेप होस् या जनताको विकास र समृद्धिको आकांक्षा । जेसुकै काम गर्न पनि बलियो राजनीतिक शक्तिको आवश्यकता पर्छ । जति धेरै पार्टी त्यति धेरै अस्थिरता, जति धेरै पार्टी त्यति धेरै झै–झगडा यो कुरालाई रोक्न अब नेपाली राजनीतिलाई, लोकतान्त्रिक प्रणालीलाई टू पार्टी सिस्टमतर्फ लैजान जरुरी छ,’ एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको एघारौँ सम्मेलन उद्घाटन गर्दै पोखरेलले भने, ‘वामपन्थी आन्दोलनको शक्तिका रूपमा एमाले र दक्षिणपन्थी बुर्जुवा पार्टीका रूपमा कांग्रेस रहेको छ । अरू पार्टीहरू तिनीहरूका सहयोगी हुन् ।’

देशलाई अस्थिरता र गरिबीबाट मुक्ति दिन पनि एमाले र कांग्रेसमा मुलुकलाई ध्रुवीकृत गरेर चुनावी अभियान चलाउन कार्यकर्ताहरूलाई निर्देशन दिँदै पोखरेलले थपे, ‘अब अरू पार्टीहरूलाई स्वतन्त्र रूपमा रहने अवस्था दिनुहुन्न । त्यस अर्थमा नेपालको राजनीतिलाई दुई ध्रुवमा बाँड्ने कुरा र त्यसमध्ये पनि बलियो ध्रुवका रूपमा एमालेको निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ ।’

उनले अबको चुनावबाट एमालेलाई मियो पार्टीका रूपमा स्थापित गर्न पनि कार्यकर्ताहरूलाई निर्देशन दिए । ‘अहिले सौर्यमण्डलको कुरा गर्दा पृथ्वी सबैभन्दा ठूलो छ भन्छौँ । एमालेको चुनावचिह्न पनि सूर्य छ, राजनीतिको सौर्यमण्डल पनि एमालेलाई बनाउनुपर्छ, हाम्रो पार्टीको वरिपरि अरू पार्टीलाई घुम्ने बनाउनुपर्छ । एमालेको वरिपरि घुमाउने सामर्थ्य चुनावी अभियानबाट पैदा गर्नुपर्छ ।’ पोखरेलले भने ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको