"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत : प्रधानमन्त्री

प्रकाशित मिति :  ५ कार्तिक २०८१, सोमबार १७:५६


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृतिभित्र राजनीतिको रोटी सेक्ने प्रवृत्ति गलत हुने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा सोमबार ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ले दिएको ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले नेपालको मौलिक संस्कृति र परम्पराभित्र राजनीति घुसाएर भाँडभैलो गर्ने तरिका उचित नहुने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘राजनीति र अर्थतन्त्र बिग्रिएमा केही वर्षमा माथि उठाउन सकिन्छ । तर संस्कृतिमा अधपतन भएमा यसलाई उठाउन वर्षौं लाग्न सक्छ । यसतर्फ हामी सचेत हुनुपर्छ ।’

इन्द्रजात्राजस्ता पर्वहरूमा भएका कतिपय भड्कावपूर्ण गतिविधिप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले उक्त अभिव्यक्ति दिएका हुन् । नेवारी संस्कृतिभित्र आदिवासी, शास्त्रीय र अत्याधुनिक वाद्यवादन तथा विशेष धूनहरू रहेको तथा यसको संरक्षणमा भइरहेका प्रयासको प्रधानमन्त्री ओलीले प्रसंसा गरेका थिए ।

अवसरमा समितिका अध्यक्ष एवं पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपाल संवतलाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउन २०८० कात्तिक २७ गतेको मन्त्रिपरिषद्बाट भएको निर्णयलाई सबै तह र निकायमा कार्यान्वयनका लागि निर्देशित गर्न माग गरेका थिए । उनले राष्ट्र बैंकबाट निष्कासन हुने नोटमा नेपाल संवत्को पनि प्रयोग गर्न र विदेशस्थित नेपाली नियोगहरूमा नेपाल संवतको नयाँ वर्षमा ‘नेपाल डे’ मनाउन आग्रह गरेका थिए ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले सरकारी निकायमा नेपाल संवत्को प्रयोगको अवस्थाबारे अनुगमनको व्यवस्था गर्न सुझाव दिएका थिए । सरकारले २०६५ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

यस वर्षको नेपाल संवत् ११४५ कछलाथ्व पारु यही कात्तिक १७ गते मनाइँदैछ । उक्त दिन बिहान भक्तपुरको मध्यपुर थिमीस्थित साख्वाको प्रतिमामा माल्यार्पण र काठमाडौंको वसन्तपुरमा विशेष कार्यक्रम हुनेछ । समारोह समिति र प्रतिष्ठानले ती कार्यक्रममा प्रधानमन्त्री ओलीलाई प्रमुख आतिथ्यताका लागि निमन्त्रणा दिएको छ । सो अवसरमा पूर्वमन्त्रीहरू कृष्णगोपाल श्रेष्ठ, दिलीप महर्जन, अगुवाहरू हीतकरवीर सिंह कंशाकार, मल्ल के सुन्दर, प्राध्यापक नरेशमान बज्राचार्यलगायतको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउने तयारी नभएको स्पष्टीकरण दिएका छन्। सरकारले

काठमाडौँ –  सरकारले एकसाथ ४० जना सहसचिवहरुको सरुवा र कामकाजमा खटाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग विभाग

काठमाडौँ – घरेलु मैदानमा नेपालले अमेरिकालाई ‘क्लीनस्वीप’ गरेको छ। ३ खेलको टी-२० आई क्रिकेट शृंखलामा नेपालले तीन खेलमै जित निकाल्दै ‘क्लीनस्वीप’

काठमाडौँ — प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री