"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्छ’

प्रकाशित मिति :  18 December, 2024 9:52 pm


काठमाडौँ – प्रतिनिधिसभाका सदस्यहरूले निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने गरी ऐन बनाउनुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा संशोधनकर्ताले कार्य सम्पादनका आधारमा कर्मचारीको पदोन्नति र सरूवा प्रणालीलाई व्यवस्थित गरिनुपर्ने सुझाव दिएका हुन्।

समितिले विधेयकलाई संघीय संसद्को आगामी अधिवेशनबाट पारित गर्ने अठोटकासाथ सशोधनकर्ता सदस्यसँग सुझाव लिइ दफावार छलफल अघि बढाएको छ। समितिको बुधबारको बैठकमा सांसदद्वय गंगा कार्की र अम्बरबहादुुर थापाले निजामती सेवाको निष्पक्षता, तटस्थता र गरिमाको ओज राख्न राजनीतिक हस्तक्षेप हुन नहुने र कार्यसम्पादनका आधारमा पुरस्कार, पदोन्नति र दण्डित गर्ने व्यवस्था ऐनमा समेटन आवश्यक रहेको बताए।

उनीहरूले निजामती सेवाको हालको अवस्थामा सुधार नभएमा भ्रष्टाचार अन्त्य र सुशासन कायम गर्न चूनौति हुने धारणा राखे। बैठकमा सांसद किरणकुमार साहले कार्य सम्पादनका आधारमा बढुवा र सरूवालाई अनुमान योग्य बनाइनुपर्ने बताए।

सांसद् कुसुमदेवी थापाले अध्ययनका हिसाबले तेजिला विद्यार्थी विदेश पलायन भएकाले निजामती सेवाको ओज कायम राख्न तथा अब्बल जनशक्ति भित्र्याउन माथिल्लो तहमा पनि केही प्रतिशत खुल्लाबाट प्रवेश गर्न सक्ने व्यवस्था गर्न सुझाव दिईन ।

हाल दफावार छलफलमा रहेको निजामती सम्बन्धी विधेयकमा एक सय २४ जना सांसदबाट एक हजार पाँच सय ८३ संशोधन परेको छ। उक्त विधेयकमाथि हालसम्म ४० भन्दा बढी सदस्यले संशोधन औचित्य पुष्टयाई गर्दै संशोधनको प्रतिरक्षा गरेका छन्।

सांसद विमला सुवेदीले प्रदेश र स्थानीय तहलाई कर्मचारी प्रशासनका क्षेत्रबाट सुदृढ तुल्याउन प्रदेशमा १२औँ तहसम्मका कर्मचारी खटाउन सुझाव दिए। उनले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने तथा बढुवाका लागि अंक प्राप्त गर्न मात्र दुर्गम जाने परिपाटी अन्त्य गरिनुपर्ने धारणा राखे।

सांसद जीवन परियारले विधेयकको प्रस्तावनामै समानुपातिक र समावेशीसम्बन्धी विषय किटान गरिनुपर्ने सुझाव दिए। संशोधनकर्ता सांसदले जनतालाई राज्यकातर्फबाट दिइने सेवाप्रवाहलाई सरल, सहज र सुलभ बनाउनुपर्ने आवश्यकतामा जोड दिँदै निजामती कर्मचारी व्यक्तिगत लाभ र आफ्नै सेवासुविधा प्राप्तिमै रूमल्लिरहेकाले हालको अवस्था अन्त्य हुनुपर्ने धारणा राखे।

सांसद अमनलाल मोदीले राजनीतिक तटस्थतासँगै समानुपातिक र समावेशीताको मर्म विधेयकमा समेटिनुपर्नेमा जोड दिए। उनले भने, ‘राज्यबाट नागरिकलाई प्रदान गरिने सेवा सुविधा प्राप्त गर्न झन्झटिलो प्रक्रियालाई अब छरितो र चुस्त बनाउनुपर्छ। मन्त्रालयका उच्चतहका कर्मचारीको मूल्यांकनमा मन्त्रालयको राजनीतिक नेतृत्वको पनि सहभागिता हुनुपर्छ।’

केही संशोधनकर्ताले राज्यबाट सेवा सुविधा लिएका राष्ट्रसेवक कर्मचारी नयाँ सरकार आउनासाथ सरूवा हुने प्रवृत्ति अन्त्य हुनुपर्ने विचार प्रकट गरे।विधेयकमा निजामती सेवामा महिलाको प्रवेश ३७ र पुरूषको ३२ तथा अवकाशको उमेर हद ६० वर्ष प्रस्ताव गरिएको छ। निजामतीभित्र ११ समूह, नौ वटा श्रेणी र १४ सम्म तह रहनेगरी विधेयकमा प्रस्ताव छ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्ने बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका