"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पाथीभरामा केबलकार निर्माण तत्काल रोक्न सांसदहरूको माग

प्रकाशित मिति :  23 February, 2025 3:10 pm


काठमाडौँ- सांसदहरूले पाथीभरामा केबलकार निर्माण तत्काल स्थगित गर्न माग गरेका छन्। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सम्बोधन गर्दै उनीहरूले जनता लडाएर विकास निर्माण नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

राप्रपाका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले जनताले केबलकार निर्माणका विषयमा प्रतिरोध गरिरहँदा पनि राज्य दमनमा उत्रिएको बताए। उनले भने, ‘पाथीभरा क्षेत्र अशान्त भइरहेको छ। एक प्रकारले रणमैदानमा परिणत भइरहेको छ। सारा राज्य शक्ति लगाएर दमन गरेर केबलकार निर्माण गर्ने कार्य भइरहेको छ। त्यो काम अविलम्ब रोकियोस्। त्यो कसैको हितमा छैन।’

उनले अशान्त वातावरण शान्त बनाउने एउटै उपाय केबलकार निर्माण रोक्नु रहेको बताए। ‘थप रक्तपात नबनाइयोस्। मानिसहरूको ज्यान जान सक्ने अवस्था छ। समाजलाई विभाजन गर्ने र भाइभाइलाई लडाउने काम रोकियोस्’, उनले भने।

लिङ्देनले पाथीभरा क्षेत्र रणमैदानका रूपमा परिणत हुँदा पनि प्रधानमन्त्री, गृहमन्त्री, राजनीतिक दलहरू, मानवअधिकारवादी र नागरिक समाज मौन रहेको आरोप लगाए। उनले प्रश्न गरे, ‘भाइभाइ लडाउने काम किन भइरहेको छ? एउटा व्यापारिक स्वार्थका लागि? किन मन्त्रीस्तरको वार्तासम्म गर्नका लागि सरकार तयार छैन? के त्यहाँ मान्छे मरेपछि मात्रै वार्ता गर्ने हो?’ राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले सरकारले जसले लामो समयदेखि योजनाबद्ध ढंगले त्यो पाथीभरा क्षेत्रलाई व्यापारीको हातमा दिनका लागि योजना ढंगले काम गरिरहेको बताए।

एमालेका सांसद योगेश भट्टराईले ताप्लेजुङमा केबलकार निर्माण प्रक्रिया निजी क्षेत्रले अधिकार पाएरै अगाडि बढाएको बताए। उनले भने, ‘विकासको विरोधी कोही पनि छैन, धर्म र संस्कृतिको विरोधी कोही छैन। धर्म र संस्कृतिमा राजनीतिमा घुसेपछि विवाद निम्त्याएको छ। हामी सबै मिलेर बसेको नेपालमा यस्तो अवस्था आउनु दुःखद हो।’

उनले केबलकार निर्माणका विषयमा विरोध गर्न पाइने भने केही समूह अराजक रूपमा प्रस्तुत भएर शनिबार फुङलिङ बजार अशान्त बनाइएको बताए। उनले भने, ‘ विरोध गर्न पाइन्छ। हिजो राति केबलकार विरोधी समूहबाट भएको मसाल जुलुसका कारण बजार अशान्त भयो। सर्वसाधारणका घरमा आगो लगाउने काम भयो।’

रास्वपाकी तोसिमा कार्कीले केबलकार निर्माण तत्काल स्थगित गरी स्थानीय बासिन्दा र सरोकारवालाहरूसँग छलफल गरी निकास निकाल्न आग्रह गरिन्। उनले पाथीभरामा देखिएको विवादले सरकारको अभिभावकत्व गुमेको बताइन्। ‘पाथीभरा केबलकार निर्माण विवाद हुँदै आएको छ। अहिले स्थिति अशान्त छन्। सरकारले उचित निकास दिन सकेको छ। सरकारले जनताले देखाएको अभिभावकत्व यही हो? सरकारप्रतिको विश्वास डगमगाएको छ।’ उनले नागरिकमाथि लाठी प्रहार गरेर, गोली चलाएर र मारेर गरिने विकासलाई विकास भन्न नसकिने बताइन्।

सांसद रामकुमार राईले पाथीभरा क्षेत्रमा देखिएको विवादको समाधान वार्ताका माध्यमबाट गर्न आग्रह गरे। उनले भने, ‘दमनबाट जनतालाई सरकारले कहिल्यै जित्न सक्दैन। पहिचानमाथि र कुनै जातीय समुदायमाथि राजनीति हुनु गलत हो।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका