राजावादीका गतिविधि र सरकार विरुद्ध प्रचण्डको चेतावनी

काठमाडौँ- नेकपा माओवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र व्यवस्थाविरोधीसँग एकसाथ जुध्नुपर्ने अवस्था आएको बताएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘सारा उपलब्धि उल्टाउने कोसिस हुँदैछ। अब हामीले एकातिर सरकारका गलत क्रियाकलापका विरुद्ध र अर्कातिर प्रतिगामी चलखेलविरुद्ध एकैसाथ जुध्नुपर्ने विशिष्ट अवस्था सिर्जना भएको छ।’
प्रचण्डले सरकारको अविवेक र खराब क्रियाकलापले व्यवस्थाप्रति मोहभंग भइरहेको आरोप लगाए। उनले भने, ‘आठ महिनाअघिसम्म यस्तो ठूलो असन्तोष थिएन। माइतीघर मण्डला पनि लगभग खाली हुँदै थियो। अहिले सबैतिर आन्दोलन छ।’
यसैगरी उनले नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको उदारता र मौलिकतालाई मजबुरी नठान्न पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुलाई चेतावनी दिए। प्रचण्डले संसारका विभिन्न देशहरुमा तानाशाही राजाहरुको अन्त्य कसरी भएको छ भन्ने बिर्सिएर नेपालको शान्ति प्रक्रिया र गणतन्त्रको मौलिकतालाई कम नआँक्न राजावादीलाई चेतावनी दिएका हुन्।
उनले भने, ‘नेपालको शान्ति प्रक्रिया मात्रै होईन, गणतन्त्रको इतिहास पनि निकै मौलिक र उदार छ। संसारभरीको गणतन्त्रको इतिहासमा राजतन्त्रको रगतले लेखिएको थुप्रै इतिहास भेटिन्छ। नेपाल त्यसको अपवाद बन्यो।’
पूर्व शाही परिवारमाथि हिंसाको कुरा त परको कुरा, निर्वासनसमेत नतोकी तत्कालका लागि बस्ने ठाउँ दिएर नेपालमा गणतन्त्रको इतिहास लेखिएको यथार्थ भुल्न नहुने उनको भनाइ छ।
राजावादीको चहलपहलको पछाडि देशभित्र र बाहिरका संगठित चलखेल देखिएको आरोप प्रचण्डको छ। अहिलेको सरकार बनेपछि जनतामा असन्तुष्टि र आक्रोश बढ्दै गएको उनले बताए। प्रचण्डले दुई तिहाइको घोडा सरकारका प्रधानमन्त्री र मन्त्रीले चलाएको आफूले नदेखेको भन्दै सरकारलाई बिचौलियाले चलाइरहेको आरोपसमेत लगाए।
प्रचण्डले सरकारले संसद् सञ्चालनमा प्रतिपक्षलाई कति स्पेस दिइएको छ भन्दै प्रश्न गर्नुभयो। प्रमुख प्रतिपक्षी दलको नेता रोस्टममा उभिँदा निरन्तर अनुपस्थित रहनु कुण्ठा हो कि घमण्ठ हो भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरे। प्रचण्डले प्रतिपक्षी दलका नेता रवि लामिछानेलाई अनुचित ढंगले निलम्बन गरिएको तर्क गरे।