"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अराजक आन्दोलन र आगजनीप्रति प्रमुख ७ दलको भर्त्सना

प्रकाशित मिति :  १५ चैत्र २०८१, शनिबार ०९:५४


काठमाडौँ – काठमाडौंको तीनकुने क्षेत्रमा शुक्रबार राजावादीले प्रदर्शन गर्ने क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनाप्रति राजनीतिक दलहरूले भर्त्सना गरेका छन् । कांग्रेस, एमाले, माओवादी र एकीकृत समाजवादीलगायत दलले विज्ञप्ति जारी गर्दै आपराधिक क्रियाकलापमा संलग्नलाई कारबाही गर्न सरकारसँग माग राखेका छन् । 

व्यक्तिको घर, मिडिया हाउस, पार्टी कार्यालय, सपिङ मल, सरकारी कार्यालय, सर्वसाधारणको सवारी साधनलगायतमा गरिएको तोडफोड र आगजनीलाई गम्भीरतापूर्वक लिएको कांग्रेसले जनाएको छ । हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा अविलम्ब ल्याउन कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत सरकारलाई आग्रह गरेका छन् ।

कांग्रेसले संविधानप्रदत्त विरोध र शान्तिपूर्ण प्रदर्शनको अधिकारलाई सदैव सम्मान गर्ने जनाएको छ । ‘तर आज राजधानीको तीनकुनेलगायत केही स्थानमा शान्तिपूर्ण प्रदर्शनका नाममा जेजस्तो हिंसात्मक घटना भएको छ, त्यो अत्यन्तै निन्दनीय छ,’ महामन्त्रीद्वयको विज्ञप्तिमा उल्लेख छ ।

नागरिकमा रहेका कैयौं असन्तुष्टिको हल वर्तमान संविधानभित्रैबाट सम्भव भएको उल्लेख गर्दै कांग्रेसले नागरिकको भावना दृष्टिगत गरेर निरन्तरतामा नवीनता दिन दृढ रहेको जनाएको छ । ‘लोकतन्त्रको विकल्प अझ समुन्नत लोकतन्त्र हो, कुनै पनि प्रकृतिको राजतन्त्र एक्काइसौं शताब्दीको सचेत नेपालीका लागि विकल्प किमार्थ हुन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ । हिंसात्मक प्रदर्शनका कारण जीवन गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कांग्रेसले घाइतेको उपचारमा गम्भीरतापूर्वक ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।

सरकारको नेतृत्व गरेको एमालेले हिंसात्मक घटनाको निन्दा गर्दै शान्ति सुरक्षाको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । ‘तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा देखाइएको उद्दण्डता, अराजकता र हिंसाको एमाले घोर भर्त्सना गर्छ,’ एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चारगृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी, लुटपाट गर्ने, जानी–जानी हिंसा र आतंकलाई दुरुत्साहन गर्ने यस्ता क्रियाकलाप निन्दनीय छन् ।’

एमालेले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ । उसले राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनको दुष्प्रयासविरुद्ध गोलबन्द हुन सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई आह्वान गरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दले पनि समाजवादी मोर्चाका तर्फबाट विज्ञप्ति निकाल्दै राजावादीको क्रियाकलापप्रति भर्त्सना गरेका छन् । ‘मोर्चाको विशाल जनसमर्थन र सहभागिताबाट अत्तालिएका पुनरुत्थानवादी र उच्छृंखल प्रतिगामी तत्त्वहरूले अराजकता सिर्जना गर्दै एकीकृत समाजवादीको केन्द्रीय, काठमाडौं जिल्ला कार्यालय, अध्यक्ष माधवकुमार नेपालका भाइ सरोज नेपालको निजी निवासलगायतमा तोडफोड र आगजनी गर्न पुगेका छन्,’ मोर्चाले विज्ञप्तिमा भनेको छ, ‘निजी, सार्वजनिक सम्पति र कान्तिपुर एवं अन्नपूर्ण पोस्टलगायतका सञ्चार गृहमा तोडफोड तथा आगजनी गरेका छन् । यस कार्यमा संलग्नलाई कडा कारबाही गर्न माग गर्छौं ।’ मोर्चाले राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा गर्न सरकारसँग माग गरेको छ ।

रास्वपाले पूर्वराजा पक्षधरबाट भएका निजी तथा सार्वजनिक सम्पत्तिमाथि लुटपाट र आगजनीजस्ता गतिविधिलाई अक्षम्य भन्दै भर्त्सना गरेको छ । आफ्ना प्रमुख सचेतक सन्तोष परियारले प्रयोग गरेको सरकारी गाडी बालकुमारीमा राजावादीको समूहले जलाइदिएको भन्दै रास्वपाले निन्दा गरेको छ । घटना भड्काउने र जनधनको क्षति गराउनेलाई हदैसम्म कारबाही गर्न रास्वपाको माग छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई आगामी दिनमा जिम्मेवार एवं शान्तिपूर्ण रूपमा प्रस्तुत हुन सचेत गराएका छन् । राजावादीको आन्दोलन अराजक हुन सक्ने पूर्वसूचनाका बावजुद सरकार र गृहप्रशासनले सुरक्षा बन्दोबस्त मिलाउन नसकेको रास्वपाको विश्लेषण छ । ‘आम जनताको सम्पत्तिको सुरक्षा गर्नु, संयमता अपनाई हिंसात्मक हुन सक्ने भीडलाई नियन्त्रण गर्नु सरकारको दायित्व हो । विषम परिस्थितिमा सरकारको असंवेदनशील अक्षमताको पूर्ण जिम्मेवारी गृहमन्त्रीले नै लिनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले पत्रकार सम्मेलन गरेर अपराधीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । ‘पार्टी कार्यालयवरिपरि हुन सक्ने घटनाबारे आज (शुक्रबार) बिहान ११ बजे नै प्रहरीलाई खबर गरिएको थियो । पार्टी कार्यालयमा आक्रमण हुन थालेपछि फेरि तुरुन्तै प्रहरीलाई खबर गर्दा पनि समयमै सुरक्षाको प्रबन्ध गरिएन । यो सुरक्षा–प्रशासनको लापरबाही हो,’ उनले भने, ‘तोडफोड तथा आगजनीमा संलग्न सबैलाई यथाशीघ्र कडा कारबाही गर्न जोडदार माग गर्छ ।’ राजावादीको समूहले केन्द्रीय कार्यालयका ढोका र झ्याल तोडफोड गरेको तथा कागजात र फर्निचर जलाएको एकीकृत समाजवादीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – माओवादी अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने बताएका छन् । हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा

काठमाडौँ – सरकार सञ्चालनका विषयमा पार्टीभित्र बढेको असन्तुष्टिले सत्ता गठबन्धन संयन्त्रको बैठक नै प्रभावित भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन्। बैठक आज साँझ ५ बजे बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको

काठमाडौँ – सरकारले संघीय संसद्को बजेट अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले