"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालमा भ्रष्टाचार गरेर विदेशमा सम्पत्ति जम्मा गर्ने प्रवृत्ति वढ्यो : अख्तियार प्रमुख

प्रकाशित मिति :  7 May, 2025 10:23 pm


काठमाडौँ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नेपालमा भ्रष्टाचार गरेर विदेशमा सम्पत्ति जम्मा गर्ने प्रवृत्ति अत्यधिक बढेको बताएका छन्।

राष्ट्रियसभाअन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बुधबारको बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८१/८२ माथिको छलफलका क्रममा प्रमुख आयुक्त राईले भ्रष्टाचारजन्य गैरकानुनी क्रियाकलापबाट पुँजी पलायन बढेको बताएका हुन्।

‘भ्रष्टाचारको अन्तरराष्ट्रियकरण हुन थालेको छ। यसको जरो विदेशसम्म पुगेको छ। यहाँ भ्रष्टाचार गरेर आफ्ना छोराछोरी आफन्तलाई विदेशमा पैसा पठाएर त्यहाँबाट रेमिट्यान्सका रूपमा त्यो रकम नेपाल आइरहेको हुनसक्छ,’ उनले भने।

नेपालमा भ्रष्टाचार गरेको रकम विदेशमा पठाएको थाहा पाएर अख्तियारले संयुक्त अरब इमिरेटस्, सिंगापुरलगायतका देशमा गएको पैसा फिर्ता ल्याउन प्रयास गरे पनि द्विपक्षीय सम्झौता नभएका कारण त्यो सम्भव नरहेको पनि उनले उल्लेख गरे।

‘द्विपक्षीय सम्झौता हुन नसक्दा भ्रष्टाचारको पैसा विदेशबाट फर्काउन सकिएको छैन। सिंगापुरले त्यस्तो पैसा फर्काउने प्रतिबद्धतासमेत जनाएको छ। तर हामीले त्यस्तो खालको सम्झौता उसँग गरेका रहेनछौँ,’ प्रमुख आयुक्त राईले भने, ‘सुनकाण्डबारे बुझ्न एउटा टोली हङकङ गएको थियो। त्यहाँ पनि दुईपक्षीय सम्झौता नभएकै कारण उक्त टोली घुमघाममात्रै गरेर फर्कियो।’

त्यस्तै, नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा अनुसन्धानका लागि अमेरिकाले सहयोग नगरेको खुसाला पनि उनले गरे। त्यस्तै, समितिको बैठकमा सांसदहरूले अख्तियारले ठूला भष्ट्राचारीलाई उन्मुक्ति दिने गरेको, राजनीतिक रूपमा पक्षपाती भएर निर्णय लिने गरेको, शक्तिशालीहरूको प्रभाव त्यहाँ रहेकालगायत विषय उठाएका थिए।

जवाफमा प्रमुख आयुक्त राईले अख्तियार कसैको दबाब र प्रभावमा नपरेको दाबी गरे। ‘विगतमा के हुने गरेको थियो मलाई थाहा छैन। तर मेरो कार्यकालमा कसैले पनि माथिबाट दबाब दिएको छैन,’ उनले भने। त्यस्तै, भ्रष्टाचारका प्रकरणमा राजनीतिज्ञ उम्कने तर कर्मचारी मात्रै पर्ने गरेको सांसदहरूको भनाइमा पनि प्रमुख आयुक्त राईले विमती जनाए।

‘अख्तियारमा ठूला माछा परेनन्, साना माछामात्रै परे भन्ने सुनिन्छ। निर्णय गर्नका लागि दबाब दिने राजनीतिक नेतृत्व उम्कने तर कर्मचारीलाई बलिको बोको बनाउने गरेको आम बुझाइ छ,’ प्रमुख आयुक्त राईले भने, ‘तर कर्मचारीले कसको निर्देशनमा गैरकानुनी काम गरेको भनेर नाम लिँदैनन्। बरू आफैँ स्वीकार्छन् र राजनीतिक नेतृत्वको नाम नलिँदा प्रमाण पुग्दैन।’

यसवर्ष २९ हजारभन्दा बढीको संख्यामा उजुरी आइसकेको पनि राईको भनाइ छ। त्यस्तै, अख्तियारले बेनामे उजुरी लिन छाड्ने हो भने उजुरीको संख्या निकै कम हुने उनको तर्क छ। त्यस्तै, अख्तियारमा प्रशासनका कर्मचारी र प्रहरीहरू आउन रूचाउने गरेको तर प्राविधिक कर्मचारीलाई टिकाउनै गाह्रो रहेको पनि उनको भनाइ छ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने