"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अर्थशास्त्री डा. विश्व पौडेल गभर्नरमा नियुक्त

प्रकाशित मिति :  20 May, 2025 9:00 pm


काठमाडौँ –  नेपाल राष्ट्र बैंकले ४५ दिनपछि नयाँ गभर्नर पाएको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले अर्थशास्त्री डा. विश्व पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनले सिफारिस समितिले सिफारिस गरेका तीनजनामध्येबाट पौडेललाई गभर्नर नियुक्त गरिएको जानकारी दिए।

गभर्नर सिफारिस समितिले पहिलो नम्बरमा विश्व पौडेल, दोस्रो नम्बरमा कामु गभर्नर नीलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो। सरकारको यो निर्णयले लामो समयदेखि जारी सत्ता गठबन्धनभित्रको रस्साकस्सी पनि केही हदसम्म मत्थर भएको छ।

तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएपछि राष्ट्र बैंक नेतृत्वविहीन थियो। सत्तारूढ नेपाली कांग्रेस र एमालेबीच सहमति नजुट्दा गभर्नर नियुक्ति लम्बिएको हो। कांग्रेसले कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई अघि सारे पनि भट्टको नाम निष्क्रिय बनेपछि गभर्नरको दौडमा डा. विश्व पौडेल अघि बढेका थिए।

कांग्रेसले राष्ट्र बैंकमा कार्यकारी निर्देशक डा. भट्टलाई गभर्नर नियुक्तिका लागि प्रयास गरेको थियो। सोही कारण भट्टले पदबाट राजीनामा दिएका थिए। कायममुकायम गभर्नर तोकिएकी नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि राष्ट्र बैंकको गभर्नर बन्ने भट्टको ढाका बन्द भएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले ढुंगानालाई गभर्नर बनाउन चाहेकाले अरूले मौका नपाएको कतिपयको बुझाइ छ। कांग्रेसले गभर्नर प्रस्ताव गरेपछि डा. पौडेलले गभर्नर सिफारिस समितिको सदस्यबाट राजीनामा दिएका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पटकपटक छलफल भए पनि सहमति जुट्न नसक्दा गभर्नर नियुक्ति प्रक्रियामै अवरोध आएको थियो। अन्ततः मंगलबारको छलफलले सहमति बनाएपछि गभर्नर सिफारिस समिति सक्रिय भयो।

अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनेको सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री पोषराज पाण्डे सदस्य थिए। समितिले पहिलो नम्बरमा सिफारिस गरेका डा. पौडेललाई मन्त्रिपरिषद्ले  गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।

सिफारिस समिति आफैँ पनि विवादरहित रहन सकेन। यसअघि समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि महाप्रसाद अधिकारी र पोषराज पाण्डेको सहभागिताले मात्र समितिले पूर्णता पाएको थियो।

पौडेलले कृषि तथा स्रोत अर्थशास्त्रमा युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट विद्यावारिधि उपाधि गरेका हुन्। यसैगरी उनले चीनको सांघाईबााट कृषि र स्रोत व्यवस्थापनमा आधारित अर्थशास्त्रमा इन्जिनियरिङ डिग्री गरेका छन्। उनी प्रारम्भिक पढाइ इन्जिनियरिङमा गरेपछि अर्थशास्त्रतर्फ उन्मुख भएका थिए।

राष्ट्रिय योजना आयोगका पूर्वअध्यक्ष डा. पौडेल राष्ट्रिय नीति निर्माणमा नेतृत्वदायी भूमिकामा रहँदै आएका छन्। यसैगरी उनी काठमाडौँ विश्वविद्यालयमा अर्थशास्त्र र नीति अध्ययन विषयमा शिक्षण तथा अनुसन्धान गर्छन्। अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार भइसकेका पौडेल सानिमा बैंक तथा सानिमा मिडल तामोर जलविद्युत कम्पनीको बोर्डमा पनि आबद्ध थिए। इसिमोड, कोलम्बो प्लानजस्ता संस्थाको मुख्य जिम्मेवारीमा रहेर काम गरेका पौडेलका विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा अनुसन्धानमूलक सामग्री प्रकाशित छन्।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसबाट चितवन-१ मा उम्मेदवार बनेका पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका थिए। कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुँदा उनी २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका थिए।

पौडेलका अर्थशास्त्र तथा इतिहाससम्बन्धी अनुसन्धानमूलक लेख विभिन्न पत्रपत्रिकामा प्रकाशित छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको