"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गृह मन्त्रालयका सहसचिव भट्टराई अख्तियारको अनुसन्धानमा

प्रकाशित मिति :  22 May, 2025 12:59 pm


काठमाडौँ – मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोपमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा तानिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतबाट मंगलबार साँझ मात्रै गृह मन्त्रालय तानिएका सहसचिव भट्टराईलाई आयोगले बुधबार सोधपुछका लागि नियन्त्रणमा लिएर बिहीबार उपस्थित हुने सर्तमा साँझ रिहा गरेको छ ।

भट्टराईलाई अख्तियारको टंगालस्थित कार्यालयको हिरासतमा राखेर सोधपुछ गरिएकामा बिहीबार उपस्थित हुने सर्तमा छाडिएको अख्तियारका एक अधिकारीले बताए । ‘प्रतिव्यक्ति २० हजार देखि ४० हजार रुपैयाँसम्म असुलेर गिरोहको सेटिङमा दुबईलगायत मुलुकमा भिजिट भिसामा मानिस पठाउने गरेको उजुरी परेको थियो, यसमा प्रारम्भिक छानबिनका क्रममा नै कैफियत देखिए पनि अघि बढेको अनुसन्धानका क्रममा भट्टराईलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो,’ अख्तियारका एक अधिकारीले भने, ‘बिहीबार उपस्थित हुनेगरी हाजिरी जमानीमा छाडिएको छ ।’

त्रिभुवन विमानस्थलबाट गैरकानुनी रूपमा भिजिट भिसामा दुबईलगायत मुलुक पठाउन मानव तस्करसँग सेटिङ गरेको, त्यसबापत् प्रतिव्यक्ति २० हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म असुल्ने गरेको लगायत आरोपमा उजुरी परेपछि अख्तियारले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

अनुसन्धानका क्रममा सहसचिव भट्टराईसहित विमानस्थलका अरू कर्मचारीसमेतका व्यक्ति अनुसन्धान दायरामा तानिएका थिए । अनुसन्धानका क्रममा भिजिट भिसामा कर्मचारीसमेतको मिलेमतो सेटिङ हुने गरेको तथ्यहरू भेटिएपछि अख्तियारले उनलाई नियन्त्रणमा लिएको थियो ।

अख्तियारले बुधबार नै विमानस्थल अध्यागमनमा छापा मारेर विद्युतीय उपकरण (डिभाइस) र अन्य कागजातहरू पनि नियन्त्रणमा लिएको छ । त्यस क्रममा अख्तियारले काठमाडौंबाट एउटा ट्राभल एजेन्सी र भक्तपुरमा अरू दुई जना व्यक्तिका घरबाट पनि डिभाइस र अरू कागजातहरू नियन्त्रणमा लिएको छ । भक्तपुरका खगेन्द्र सुवेदी, सीआईटी कलेजमा कार्यरत कविता पौडेल र हात्तीसारमा रहेको ट्राभल एजेन्सी ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्काको मोबाइल फोन, ल्यापटप लगायतका उपकरण पनि अख्तियारले नियन्त्रणमा लिएको हो ।

गृह मन्त्रालयले मंगलबार राति नै प्रमुख अध्यागमन अधिकृत भट्टराईलाई तानेर उनका ठाउँमा पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालाई सरुवा गरेको थियो । त्यसको भोलिपल्टै बुधबार दिउँसो भट्टराईलाई अख्तियारले नियन्त्रणमा लिएको हो ।

स्रोतका अनुसार प्रारम्भिक सोधपुछका क्रममा भट्टराईले यसमा आफ्नो संलग्नता नरहेको उल्लेख गरेका छन् । भट्टराई २०७२ को विनाशकारी भूकम्पका बेला काठमाडौंको स्थानीय विकास अधिकारी (एलडीओ) हुँदा त्रिपाल खरिद प्रकरणमा पनि मुछिएका थिए । उक्त प्रकरणमा निलम्बनमा परेका उनी विशेष अदालतको फैसलाले २०७४ चैत ४ मा सफाइ पाएपछि पुनः सरकारी सेवामै फर्किएका थिए । यो पटक भने मानव तस्करसँग मिलेर भिजिट भिसामा सेटिङ गरेको आरोप लागेर अनुसन्धानमा तानिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री बालेन शाहले कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन नदिने बताएका छन्। सुकुम्बासी बस्ती हटाइएको सन्दर्भमा

काठमाडौँ – नेपालले लिपुलेक क्षेत्र नेपाली भूभाग रहेको पुनः दोहोर्‍याएको छ। लिपुलेक मार्गहुँदै भारत र चीनबीच सञ्चालन हुन लागेको कैलाश मानसरोवर

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले क्रान्तिको सपना अझै पूरा नभएको बताएका छन्। रुकुम

काठमाडौँ- सरकारका प्रवक्ता सस्मित पोखरेलले बागमती र त्यसका सहायक नदी किनारमा बसोबास गर्दै आएका नागरिकहरू सुरक्षित र व्यवस्थित जीवनतर्फ अघि बढ्न