"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कारागार सुधारमा विशेष ध्यान दिन सांसदहरूले गराए सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  14 August, 2025 8:48 pm


काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरूले कारागार संरचना सुधारदेखि कानुन निर्माण, अर्थतन्त्र, कृषि र हवाई सुरक्षा जस्ता विभिन्न विषयमा आफ्ना धारणा व्यक्त गरे।

नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउदले नेपालको कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी भएकाले भीडभाड, स्वास्थ्य जोखिम, हिंसात्मक घटना र मानव अधिकार उल्लंघनका समस्या बढेको बताए। उनले कारागार व्यवस्थापन कार्यविधि प्रभावकारी रूपमा कार्यान्वयन गरी कैदीलाई केवल सजाय नभई सुधारमार्फत समाजमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिए।

सांसद साउदले कारागारलाई सुधारगृहको रूपमा रुपान्तरण गर्दै बन्दीको सीप र क्षमतालाई मुलुकको उत्पादनसँग जोड्ने, खुला कारागार वा सामुदायिक सेवामा संलग्न हुने अवसर दिने तथा पुनःसामाजिकीकरणका लागि प्रभावकारी कार्यक्रम ल्याउन आवश्यक रहेको बताए। ‘क्षमताअनुसार संरचना निर्माण, स्वास्थ्य सेवा, स्वच्छता, पौष्टिक आहार र मानसिक स्वास्थ्य कार्यक्रमको सुनिश्चितता गर्नुपर्छ,’ उनले भने।

नेकपा एमालेकी सांसद सुनिता बरालले संविधान जारी भएको १० वर्ष बितिसक्दा पनि सम्बन्धित धेरै कानुन निर्माण हुन नसकेको बताइन्। उनले साझा विषयमा एकजुट भएर अघि बढ्नुपर्नेमा गालीगलौज र राजनीतिक टकरावमै सीमित रहँदा समृद्ध नेपालको सपना कठिन हुने टिप्पणी गरिन्।

नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारको बेथितिका कारण जनमानसमा निराशा फैलिएको आरोप लगाए। उनले अर्थतन्त्रमा आशाअनुरूप सुधार नआएको र मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकमध्ये ७४ प्रतिशत विदेश पलायन भएको सरकारी तथ्याङ्कलाई उदाहरणका रूपमा प्रस्तुत गरे। बैंकमा लगानीयोग्य ठूलो रकम थुप्रिए पनि उद्योगीव्यवसायी ऋण लिन इच्छुक नभएको, आयातित मल वितरण हुन नसकेको र किसानको पीडाप्रति सरकार मौन रहेको भन्दै प्रश्न गरे।

नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले नेपालमा हवाई यात्रा असुरक्षित भएको दाबी गर्दै पटकपटक हुने हवाई दुर्घटनामा गहिरो अनुसन्धानको आवश्यकता औँल्याए। उनले हवाई क्षेत्रमा देखिएको दण्डहीनताको अन्त्य, सौर्य एयरलाइन्स दुर्घटनाको कानुनअनुसार पुनःजाँच तथा न्यायिक जाँच आयोग गठन गरेर पुनःअनुसन्धान गर्न माग गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको