"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अप्ठेरो परिस्थितिमा राष्ट्रिय एकता कायम राख्नु पर्छ : प्रथम राष्ट्रपति यादव

प्रकाशित मिति :  20 September, 2025 10:11 pm


आज नेपालको संविधान २०७२ जारी भएको १० वर्ष पुगेको छ । यसबिचमा धेरै उतारचढाव आए । सङ्घीयता पूर्ण रूपमा कार्यान्वयन नहुँदै खारेज हुनुपर्ने विषय उठे । पछिल्लो पटक सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्‍यो । युवापुस्ता ‘जेनजी’ ले सामाजिक सञ्जाल सञ्चालन हुनुपर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनुपर्ने मागसहित गरेको आन्दोलनले देशभरि कम्पन ल्यायो । हालसम्म ७४ जनाको मृत्युको पुष्टि भएको छ । अर्बौंको भौतिक सम्पत्ति क्षति भयो । सिंहदरबारलगायत देशका मुख्य धरोहर जलेर नष्ट भए । संविधान कार्यान्वयनको १० वर्षको समीक्षासहित युवापुस्ताले गरेको आन्दोलन र अबको मार्गचित्रबारे संविधान जारी गर्नुभएका सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवसँग गोरखापत्रमा प्रकाशित अन्तर्वार्ताको सम्पादित अंश :

  • विसं २०७२ असोज ३ गते संविधान जारी गर्दा तपाईंले तीन पटक ढोग्नुभएको थियो । यसको भावनात्मक र राजनीतिक अर्थ के थियो ?

भावनाले ओतप्रेत भएर स्वस्फूर्त रूपमा भएको हो । मैले संविधानमा सही गरेर जनसमक्ष अर्पण गरेँ । जनप्रतिनिधिले आफैँ संविधान बनाउने २०१७ सालदेखिको सपना ‘झलझली’ याद आयो । लोकतन्त्र पुनर्बहाली र गणतन्त्र स्थापना गर्नेबारे जनताको लडाइँ सफल भएको अनुभूति भयो । लोकतन्त्रको मन्दिरमा जनताको नासो, सार्वभौमसत्ता, राजकीय सत्ता र शासकीय सत्ता जनताकै प्रतिनिधिद्वारा लिखित संविधानका रूपमा जनताको ठुलो लडाइँबाट प्राप्त भएको उपलब्धि थियो । जनता मालिक रहने गरी लिखित संविधान लोकतन्त्रको मन्दिरबाट मैले जनसमक्ष प्रस्तुत गर्ने अवसर पाएकोमा म भावनाले ओतप्रोत थिएँ । त्यो स्वस्फूर्त भावना थियो । 

  •  संविधान निर्माणको यात्रा धेरै उतारचढावपूर्ण रह्यो । तपाईंलाई सबैभन्दा कठिन र चुनौतीपूर्ण क्षण कुन लाग्छ ?

संविधान निर्माणका क्रममा बुद्धिजीवी, संविधानविद्, नागरिक समाज, सञ्चारकर्मीसँग मैले थुप्रै अन्तरसंवाद गरेँ । जुनसुकै र जतिसुकै अप्ठेरोमा पनि ससाना समूहसँग पनि अन्तरसंवाद गर्थें । अन्तरिम संविधान जारी गरेका बेला जस्तो संविधान सभामा धेरै दबाब थिएन । संविधान नबन्दै संविधान सभा भङ्ग हुँदा ठुलो दबाब आयो । जनताले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी र मधेशकेन्द्रित गरी चार वटा शक्तिलाई संविधान निर्माण गर्ने ‘म्यान्डेट’ दिएर सभामा पठाएको थियो । संविधान नै नदिई सभा भङ्ग भएपछि राजनीतिक शक्तिमध्ये कसैले संसद्को चुनाव होस् भन्ने चाहन्थे भने अधिकांश संविधान सभाकै चुनावका पक्षमा थिए । 

मेरो संयोजनकारी भूमिका थियो । निर्वाचन गराउन पनि प्रधानमन्त्री चाहिएको थियो । राजनीतिक दलहरूले सहमतिमा प्रधानमन्त्री दिन सकेनन् । न्यायाधीशलाई प्रधानमन्त्री बनाउने विषय प्रवेश गर्दा अवकाश प्राप्त न्यायाधीश वा नागरिक समाजबाट प्रधानमन्त्री बनोस् मेरो चाहना थियो तर त्यो भएन । सुरुमा माओवादी र त्यसपछि एमालेले बहालवाला न्यायाधीशलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याए । बहालवाला न्यायाधीश नियुक्त गरे शक्ति पृथकीकरणको हिसाबले मिल्दैन भनेर मेरो चित्त बुझेको थिएन । संविधान सभाबाट संविधान जारी गराउने व्यावहारिक कठिनाइ थियो भन्ने पदमा रहेका न्यायाधीशलाई कार्यकारी जिम्मेवारी दिनु नैतिक अप्ठ्यारो थियो । 

कटवाल प्रकरणमा पनि समस्या भएको हो । त्यस प्रकरणमा हाम्रो ठुलो गृहकार्य भएको थियो । बाहिरको कुनै प्रभाव थिएन । विभिन्न कोणबाट के गर्दा के होला भन्ने सम्बन्धमा लामो गृहकार्य चल्यो । सङ्कटकाल लगाएर कटवाललाई पुनस्र्थापित गर्ने वा के गर्ने सम्बन्धमा अन्योल थियो । कटवाललाई पुनस्र्थापित गराएर सङ्कटकाल लगाउने विकल्पलाई किनारा लगाएँ । 

राष्ट्रिय पार्टीको महामन्त्री भएर म देशको राष्ट्रपति भएको थिएँ । मधेश आन्दोलनको बेलासमेत म पहाड र मधेश जोड्दै जानु पर्छ भन्ने अभिव्यक्ति दिइरहन्थेँ । समुदायमा ‘डिभिजन’ भए देशको एकता खलबलिन्छ भन्ने मेरो स्पष्ट सोच थियो । राष्ट्रिय एकताका लागि वकालत गरिरहेँ । सम्भवतः त्यसै कारणले पनि मेरो स्वीकार्यता बढेको थियो । 

मधेशमा गणतन्त्र स्थापनापछि अधिकारका लागि आन्दोलन भएको हो । थिचिएका र दबाइएका समाजले आफ्नो अधिकारप्रति जागरुक भएर आन्दोलन गरेका थिए । जलेश्वर, जनकपुर, सप्तरी, वीरगन्जमा गोली चल्दै थियो । म चाहन्थेँ, यो मधेशको नभई देशको समस्या हो भनेर सबैले बुझून् । सबैसँगै लडाइँ गरेर यहाँसम्म आएका हौँ । १५ दिन वा महिना दिन पर्खेरै भए पनि यसलाई निकास दिएर सबै समुदायले अपनत्व लिने गरी संविधान जारी गरौँ भन्ने अडानमा थिएँ । 

मधेशको समस्या समाधान गरेर गए राष्ट्रिय एकता मजबुत हुने मेरो बुझाइ थियो । संविधान घोषणा गरेको दिन देशभरि उज्यालो होस् भन्ने चाहन्थेँ । त्यसप्रति ममा द्विविधा थियो । मैले मिलाउन सकिनँ । पछि सबै दलले चुनावमा भाग लिएपछि सबै ट्र्याकमा आए भनेर खुसी भएँ । 

  •  संविधान जारी भएको एक दशक भयो । तपाईंको दृष्टिमा यस अवधिका उपलब्धि र कमजोरी के के रहे ?

विद्यमान अवस्थाले कमजोरी देखाएको छ । उपलब्धि त न भुतो न भविष्यति । त्यत्रो आन्दोलनलाई हेरेर संसारले हामीलाई प्रशंसा ग¥यो । अमेरिका जस्तो २५० वर्षको लोकतान्त्रिक अभ्यास बोकेको राष्ट्रले ५० लाख नेपाली काठमाडौँमा उत्रिएपछि परिवर्तन भयो भन्यो । त्यसपछि हामीले दुई वटा संविधान सभा गठन गरेर संविधान बनायौँ । 

सबै समुदायको प्रतिनिधित्व हुने गरी ६०१ जनाको सभा बनायौँ । देशभरिको सबै जातजाति, वर्ग, धर्मका व्यक्तिको प्रतिनिधित्व गरेर लामो समय खर्चेर संविधान बन्यो । लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान बनायौँ । लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशी, धर्म निरपेक्षता र समानुपातिक प्रतिनिधित्वसहित प्रेस र अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार, आवधिक निर्वाचन तथा लोकतन्त्रमा हुनुपर्ने आधारभूत विषय र मौलिक हक संविधानमा छन् । 

सर्वोत्कृष्ट त भन्दिनँ तर यो संविधान उम्दा संविधान हो । २००७, २०४६, २०६१/६२ साललगायतका लोकतान्त्रिक आन्दोलनको उपलब्धिसहितको संयोजन हो । संविधानले संसारका लोकतान्त्रिक देशले अपनाएको बहुदलीय लोकतन्त्र अँगालेको छ । 

समानुपातिक प्रतिनिधित्वका विषयमा कमजोरी देखिए । व्यवहारमा कार्यान्वयन गर्दा समस्या देखिए । समावेशी समूह भनौँ वा ‘क्लस्टर’ भनौँ, यसै गरी राख्ने तर यसलाई व्यवस्थित गर्नु पर्छ । प्रत्यक्ष निर्वाचन प्रणालीलाई व्यवस्थित गरे स्थिर सरकार आउँछ । क्लस्टर सुन्दर पक्ष हो । यसलाई नछोडेर माथिल्लो र तल्लो सदनमा कसरी प्रतिनिधित्व मिलाएर जाँदा स्थिर सरकार आउँछ त्यसतर्फ सोच्नु पर्छ । 

चुनाव खर्चिलो बढी । चाहे राजनीतिक दलको होस् वा आवधिक निर्वाचन, भ्रष्ट भएको देखिन्छ । नैतिक आचरण राम्रो भएका मानिस चुनाव लड्नबाट डराउँछन् । कहाँबाट त्यति पैसा ल्याउने ? स्थानीय, प्रदेश र सङ्घीय चुनाव खर्चिलो भयो भनेर गुनासो आइरहेका छन् । जुन छरपस्ट छ, यसलाई सुधार गरेर जानु पर्छ । 

राजनीतिक दलमा लोकतान्त्रिक प्रणाली अवलम्बन भएन । सबै दल ‘निरङ्कुश प्रवृत्ति’ मा गए । सबैभन्दा ठुलो इतिहास बोकेको र लोकतान्त्रिक दल कांग्रेसमा पनि कमी देखिएको छ । दलभित्रको आन्तरिक लोकतन्त्र कमजोर भएको छ । यसलाई सुधार्नै पर्छ ।  

बिपी, सुवर्णशमशेर, गणेशमान, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसादसहित अन्य पार्टीका मनमोहन अधिकारी, पुष्पलालजीपछिको पुस्ता हाम्रो पुस्ता हो । म, रामचन्द्रजी, शेरबहादुर, महन्थजी अर्को पुस्ताका हौँ । दुवै पुस्ताले ठुलो लडाइँ गरेर यहाँसम्मको अवस्थामा आइपुगेको हो । अहिलेको पुस्ता भनौँ वा युवापुस्ता निरङ्कुश प्रवृत्ति रुचाउँदैन् । युवापुस्ताले अहिलेको शीर्ष नेता र तिनको व्यवहार रुचाउँदैनन् । यी नेताहरूले देश र अहिलेको पुस्ताको सोचलाई आकलन गर्नै सकेन । पत्रपत्रिका, नागरिक समाज, राजनीतिशास्त्रका विद्वान्ले निरन्तर लेखिरहे । कांग्रेसभित्र युवापुस्ताका केहीले आन्तरिक छलफलमा यी विषय उठाइरहे । यिनीहरू भने तानाशाही प्रवृत्तिमै छु भनेर गइरहे । यत्रो लडाइँ लडेर हामीले लोकतन्त्र ल्याएको फुइँ लगाइरहे । अहिलेको पुस्ताले यस्तो प्रवृत्ति रुचाएनन् । यसलाई नेताले बुझ्नुपर्ने हो । यो संविधानको नभई दलका नेताको कमजोरी हो । 

  • नवयुवा पुस्ताको समूहले भदौ २३ र २४ गते हजारौँको सङ्ख्यामा सडकमा आएर कम्पन हुने गरी आन्दोलन गरे । यसले धेरै ठुलो क्षति पनि भयो । के कारणले यस्तो अवस्था आयो ?

म १९९९ सालमा जन्मेको व्यक्ति २०५६ मा मन्त्री भएका बेला पहिलो पटक मोबाइल प्रयोग गरेको हुँ । २६ वर्ष भयो । त्यसपछि जन्मेको व्यक्ति मोबाइल प्रयोग गरेरै हुर्कियो । त्यो स्वतन्त्रता प्राप्त भयो । उनीहरूले लेख्ने, पढ्ने, ज्ञान र सूचना प्राप्त गर्ने माध्यम नै सामाजिक सञ्जाल र मोबाइल बन्यो । सरकारले सामाजिक सञ्जाल बन्द ग¥यो । कोभिडका बेला अनलाइनबाट पठनपाठन हुने अभ्यासले व्यापकता पायो । अहिले अनलाइनबाटै आफूले रुचाएको शिक्षकबाट पढ्न पाउने सुविधा छ । मैले अन्तर्वार्ता हेर्दै थिएँ, कसैले भन्दै थिए– मेरो रोजगारको माध्यम नै सामाजिक सञ्जाल थियो, सबै खत्तम भयो । 

सामाजिक सञ्जाल बन्द भएपछि युवा स्वस्फूर्त सडकमा आए । उनीहरू सडकको एउटा फूल, एउटा पात पनि नटिप्ने भन्दै थिए । यसरी हेर्दा शालीन र शान्तिपूर्ण थियो उनीहरूको आन्दोलन । भ्रष्टाचार नियन्त्रण, सुशासन कायम होस् र सञ्चार माध्यम स्वतन्त्र होस् भन्ने उनीहरूको माग थियो । सुन्दर र शान्त भएर बस्न पाऊँ । यही देशमा काम गर्न पाऊँ भन्ने चाहना थियो । युवाको चाहना र माग एकदमै जायज थियो । हामी ८०/८३ वर्षका वृद्धले पनि त्यसलाई समर्थन गर्छौं । 

यसमा पूर्ण असफलता सरकारको हो । शीर्ष नेतालाई देशमा के पाकिरहेको छ भन्ने सम्बन्धमा कुनै भेउ नै छैन । विद्वान्हरूले भ्रष्टाचारलगायतका विषय उठाइरहेका थिए । दुई/तीन वर्षदेखिको असन्तुष्टि वयस्क हुँदै थियो । यसलाई कसैले पनि गम्भीरतापूर्वक लिएन । विद्यार्थी, युवाको आन्दोलन कसरी हिंसात्मक बनाइयो भन्ने विषय गृह प्रशासनको नेतृत्व, प्रधानमन्त्री वा राजनीतिक दलका नेता कसैलाई पनि थाहा भएन । यसमा अरूको भन्दा गृह प्रशासन, गृहमन्त्री र प्रधानमन्त्रीले राम्ररी गृहकार्य गर्नु पथ्र्यो, त्यो हुनै सकेन ।  

२०६२/६३ सालको आन्दोलनमा हजारौँ सहभागीलाई लट्ठी, अश्रुग्यास र पानीको फोहोराले छिन्नभिन्न बनाइएको हो । काठमाडौँसहित देशका अन्य स्थानमा हामीले आन्दोलन ग¥यौँ । गृह प्रशासनले यिनै विधि अपनाएर मत्थर पार्थे । अस्तिको आन्दोलनमा गृह प्रशासनको कमजोरी देखियो । यो घटना निन्दनीय छ, नृशंस छ । जति निन्दा गरे पनि कम हुन्छ । युवा र बच्चामाथि गोली चलेको देखेर सम्पूर्ण देशवासी आक्रोशित छन् । सरकार गठन भएको छ । आवरणमा जे जस्तो देखिए पनि यस विषयमा गम्भीर चासो दिनु पर्छ । 

सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवन, मन्त्रालयलगायत धेरै ठाउँमा आक्रमण भएको छ । यो लोकतन्त्रमाथिको आक्रमण हो । सुनियोजित रूपमै यसमा घुसपैठ भएको छ । कसले र किन गरायो, लोकतन्त्र मास्नलाई गराएको पनि हुन सक्छ । संविधान नै फाल्ने गरी भएको छ । 

प्रदेश सभा सचिवालय, मन्त्रालय, स्थानीय तहका नगरपालिका र वडासहित पार्टी कार्यालय, नेता र व्यवसायीको घर, व्यापारिक प्रतिष्ठान, होटेल र रेस्टुराँ कसैलाई छोडेको छैन । यो युवाको काम होइन । यो लोकतन्त्र मास्न र आर्थिक क्षेत्रलाई तहसनहस गरेर देशको मेरुदण्ड नै तोड्ने गरी सुनियोजित रूपमा गरिएको घटना हो । यसप्रकारको आतङ्क हामीले कुनै पनि आन्दोलनमा देखेका थिएनौँ । सबैभन्दा गम्भीर विषय यति ठुलो सङ्ख्यामा युवा तथा बच्चाको संहार गरिएको छ । सही र गम्भीर जाँच गरेर सजाय हुनै पर्छ । 

२०४६ र २०६२/६३ मा पनि आयोग बनेको छ । म लोकतन्त्रमा कुण्ठा र बदलाको भावना लिएर अगाडि बढनुपर्नेमा विश्वास नराख्ने पुस्ताको हो । लोकतन्त्र सहनशील हुन्छ । खास गरी २०६२/६३ पछि जुन विकृति आयो, सहने खालको देखिन्न । 

म २०५१ र २०५६ मा चुनाव लड्दा एक पैसा थिएन । जनताको चन्दा र आर्थिक सहयोगबाट चुनाव लडेँ । अहिले व्यक्ति एक करोड रुपियाँ नभई संसदीय चुनाव लड्न चाहँदैन । वडा र पालिकाको चुनावमा लाखौँ खर्च भइरहेको छ । मैले पनि महामन्त्री भएर टिकट बाँडेको थिएँ । अहिले त टिकट बिक्री हुन थालेका छन् । विकृतिले पराकाष्ठा नाघेको छ । त्यसले गर्दा विद्यार्थी, युवाको आन्दोलन जायज हो । राष्ट्रिय एकता मजबुत बनाउने अभ्यासका क्रममा देखिएका संविधानका कमजोरी सुधार गर्दै लोकतन्त्र अझै बलियो बनाउनु पर्छ ।   

  • राजनीतिक निकासका लागि राष्ट्रपति रामचन्द्र पौडेलले ठुलो प्रयास गर्नुभयो । नयाँ सरकार आएको छ । यस्तो अवस्थामा चुनाव घोषणा भएको छ । दलहरूको भूमिका कस्तो हुनु पर्ला ? 

राष्ट्रपतिज्यूले निकास दिनुभयो । दुई दिनसम्म संशयको अवस्था थियो । राजनीतिक दलबाट पनि समर्थन भएन । फोनमा कुराकानी भएको होला । दलहरूले जनतालाई जोड्ने काम गर्छन्, त्यो भएन । सुरक्षा निकायकै मनोबल गिरेको छ । गृहमन्त्री र प्रधानमन्त्रीले राजीनामा दिएका छन् । नागरिक समाजको दृष्टिकोण फरक फरक छ । संविधानको क्षति पनि भएको छ । यसबारेमा अझ बढी छलफल नगरौँ । छ महिनाभित्र चुनाव गर्ने लक्ष्य छ । स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुनु पर्छ । त्यसका लागि सुरक्षा व्यवस्था अहिलेदेखि नै दुरुस्त हुनु पर्छ । चुनाव भएपछि फेरि देश आफ्नो लयमा आउने छ । 

अहिलेको प्रधानमन्त्रीको पृष्ठभूमि न्यायाधीशको हो । उहाँले राम्रो र सही समूह बनाएर काम गर्नु पर्छ । राजनीतिक दल, सुरक्षालगायतका निकायसँग समन्वय गर्नु पर्छ । स्रोतसाधन जुटाएर सबैको सद्भाव लिएर जाँदा उपयुक्त हुन्छ । चुनावको वातावरण बनाउने राजनीतिक दलले हो । न्यायमूर्तिको नेतृत्वमा सरकार छ । नागरिकले स्वच्छ छवि भएर उहाँलाई जिम्मेवारी दिएको हो । यो सरकारले भ्रष्टाचार नियन्त्रण गरेर सुशासनको बाटोमा हिँड्ने मार्गचित्र कोर्ने विश्वास हो । आयोग बनाएर छानबिन गर्ने हो । जनतासँग जोडिएको राजनीतिक दल हो । चुनाव नहुन्जेलसम्म सरकारलाई सहयोग गरेर राजनीतिक वातावरण बनाउनु राजनीतिक दलको राष्ट्रिय धर्म हो । 

  •  नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवधारणामा छ । प्रदेश संरचनामाथि प्रश्न उठेको छ । मूल्याङ्कन गर्ने बेला भइसकेको छ वा राखेरै जानु पर्छ ? 

संविधानमा पनि प्रत्येक १० वर्षमा पुनरवलोकन गर्ने व्यवस्था छ । संविधानविद्हरूले कार्यान्वयनका क्रममा आएका समस्याबारे अध्ययन गर्नुहोला । राजनीतिक दलले पनि देखिएका कठिनाइ सम्बन्धमा अध्ययन गरेर समयसापेक्ष सुधार गर्दै जानु पर्छ ।  जहाँसम्म सङ्घीयताको विषय हो, हामी सबै हिमाल, पहाड र तराई मधेशको प्रतिनिधित्व गर्छौं । नेपाली समाज विविधतापूर्ण भएकाले सङ्घीयता रहनु पर्छ । खर्चिलो भयो भन्ने विषयमा अध्ययन गरेर खर्च कसरी घटाउन सकिन्छ त्यतातिर सोच्नुस् । खर्चिलो भयो भन्दैमा सङ्घीयता नराख्ने भन्ने हुन्न । हाम्रो सामाजिक विविधता झल्काउन पनि सङ्घीयता आवश्यक छ । 

  •  अन्त्यमा, राष्ट्रिय एकता जोगाउनु चुनौतीपूर्ण भए जस्तो लाग्दैन ? 

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न युवाले गरेको आन्दोलनपछि अहिले संयमित हुने समय हो । सद्भाव कायम राख्ने बेला हो । किन यस्तो भएको हो, मूल्याङ्कन गर्नु पर्छ । हाम्रा सञ्चार माध्यम जीवन्त छन् । सञ्चार माध्यममा लेख्ने, बोल्ने गर्नु पर्छ । राजनीतिक दलको सम्पर्क र सम्बन्ध सिधा जनतासँग हुन्छ । दलले पनि सुझबुझपूर्ण तरिकाले अगाडि बढ्नु पर्छ । सङ्कटपूर्ण घडीमा सबै नेपालीको एकता कायम गराएर जानु पर्छ । 

जनप्रतिनिधिबाट निर्मित संविधान बनाउन करिब एक सय वर्षको लगानी छ । २००७ सालमा संविधान सभा विषय सतहमा आएको हो । त्यसभन्दा करिब १०/१५ वर्षअघिदेखि अधिकारको लडाइँ सुरु भएको हो । सम्पूर्ण जातजातिले मिलेर अगाडि बढ्नु पर्छ । खास गरेर ३० वर्षमुनिका युवापुस्तालाई भन्न चाहन्छौँ, तपाईंहरू झन् बढी संयमित हुुनु पर्छ । पाकाको अनुभव लिनु पर्छ । हामी कहाँबाट कहाँ आइपुगेका हौैँ । हाम्रो देशको राजनीतिक इतिहास हेरेर संयमित भई राष्ट्रिय एकता बलियो बनाउन लाग्नु पर्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएका समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गरेकी

सत्तारूढ नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्मा पार्टीभित्र महामन्त्री छन्। कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)बाट राजनीति सुरू गरेका उनी

सङ्घीय संसद्को अधिवेशन शुक्रबार सुरु हुँदै छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिने गरेकाले कानुन निर्माण कार्य तीव्र गतिमा

काठमाडौँ । माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष हुनुहुन्छ । विगतमा प्रधानमन्त्री