"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समयमा निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की

प्रकाशित मिति :  31 October, 2025 9:49 pm


काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आगामी २०८२ फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार सम्झौताहीन तरिकाले अघि बढिरहेको बताउनुभएको छ।

प्रधानमन्त्री कार्कीले शुक्रबार बालुवाटारमा वरिष्ठ पत्रकार तथा सम्पादकहरूसँग भएको भेट तथा अन्तर्क्रियामा तोकिएकै समयमा निर्वाचन गराउने सरकारको दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

प्रधानमन्त्रीले जेनजी आन्दोलनका क्रममा क्षति भएका सुरक्षा निकायका संरचनाहरू जनताको सक्रिय सहभागितामा पुनर्निर्माण हुँदै गएको जानकारी दिनुभयो। उहाँका अनुसार हालसम्म करिब ९० प्रतिशत संरचना तयार भइसकेका छन् र सुरक्षाकर्मीहरूले सेवा दिन थालेका छन्। जनताले लत्ता–कपडादेखि अन्य सहयोगमार्फत सुरक्षाकर्मीहरूको मनोबल उच्च राख्ने कार्य भइरहेको पनि प्रधानमन्त्रीले बताउनुभयो।

प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको वातावरण बनाउन राजनीतिक दल र जेनजी समूहसँग अलग–अलग र एकीकृत रूपमा छलफल गरिरहेको जानकारी दिनुभयो। उहाँले दलहरू पनि निर्वाचनका लागि तयार हुँदै गएकाले अब निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्नुभयो।

नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख र दातृ निकायका प्रतिनिधिसँग पनि निरन्तर संवाद भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले सरकार दृढतापूर्वक निर्वाचनको वातावरण सिर्जनामा लागेको बताउनुभयो। उहाँले वरिष्ठ पत्रकारहरूलाई पनि यस दिशामा सकारात्मक सहयोग गर्न आग्रह गर्नुभयो।

भेटमा सहभागी पत्रकारहरूले चुनाव सफल बनाउन सबै क्षेत्रको सहकार्य आवश्यक रहेको, सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकारले कठोरता अपनाउनुपर्ने सुझाव दिएका थिए। उनीहरूले चुनावमा जानुको विकल्प नभएको र चुनाव नभए देश थप अस्थिर हुन सक्ने भन्दै सबै पक्षको विश्वास जित्दै अघि बढ्न सुझाव दिएका थिए।

भेटपछि प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मार्फत लेख्नुभएको छ,“वरिष्ठ पत्रकार तथा सम्पादकहरूसँगको भेटले सरकारलाई सुशासन र निर्वाचनका दिशामा अघि बढ्न थप ऊर्जा र उत्साह दिएको छ। छोटो समयको सूचनामा उपस्थित भई महत्त्वपूर्ण सुझाव–सल्लाह दिनुभएकोमा सबैमा आभार।”

बालुवाटारमा भएको  भेट तथा अन्तर्क्रिया कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल,अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल पनि उपस्थित हुनुहुन्थ्यो।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार वरिष्ठ पत्रकारहरूसँगको भेट तथा अन्तर्क्रिया कार्यक्रम अर्को चरणमा अर्को समूहसँग पनि गरिनेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद