कांग्रेस केन्द्रीय समितिको बैठक मंगलवारसम्मका लागि स्थगित
काठमाडौँ — महाधिवेशनको कार्यतालिकाका विषयमा सहमति जुटाउन कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले धोबीघाटमा जारी छ । कार्यतालिकामा साझा धारणा बन्न नसकेपछि कार्यवाहक सभापति खडकाले केन्द्रीय कार्यसमितिका बैठक थप दुई दिन स्थगित गरेर कार्यसम्पादन समितिको बैठक राखेका हुन् ।
शीर्ष नेताहरू सहभागी रहेको कार्यसम्पादन समितिमा पनि पार्टीको १५औं महाधिवेशन निर्वाचन अगाडि गराउने कि पछाडि गर्ने भन्ने विषयमा मतान्तर कायमै छ ।
शनिबारको पदाधिकारी बैठकमा महामन्त्री गगन थापालाई कार्यतालिका प्रस्तुत गर्न दिने विषयमा सकारात्मक भएको थियो । थापाले पुस १६–१९ मा केन्द्रीय महाधिवेशन गर्नेगरी नै कार्यतालिका प्रस्तुत गर्ने तयारीमा थिए । तर, आइतबार बिहान संस्थापनपक्षका नेताहरू निर्वाचन अगाडिको महाधिवेशनमा जानै नसकिने अडान राखेका थिए ।
थापाले पुसमा १६–१९ को कार्यतालिका प्रस्तुत गरेमा संस्थापनपक्षबाट समेत सहमहामन्त्री महेन्द्र यादवले वैशाखमा केन्द्रीय महाधिवेशन गर्नेगरी काउन्टरमा अर्को कार्यतालिकाको तयारी गरेका थिए । संस्थापन पक्षमा रहेका सात पूर्व पदाधिकारीहरू नै निर्वाचन अगाडि कुनै पनि हालतमा महाधिवेशन गराउने पक्षमा देखिएका छैनन् । उनीहरूको जोडले अघिल्लो दिन बनिसकेको सहमति भत्किएको एक केन्द्रीय सदस्यले बताए ।
धोबीघाटमा बसीरहेको कार्यम्पादन समितिको बैठकमा संस्थापनपक्षले वैशाखमा केन्द्रीय महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने अडान राखिरहेको छ भने इतरपक्षले पुस १६–१९ को कार्यतालिको प्रस्ताव गरिरहेको छ । मध्यमार्गी धारमा रहेका नेता शेखर कोइरालाले पुस १६–१९ को कार्यतालिकामा सहमति गराउनका लागि विदेशमा रहेका पार्टीका सभापति शेरबहादुर देउवासँग टेलिफोन परामर्शसमेत गरेका थिए ।
शनिबार देउवासँग परामर्श गरेको उनको सचिवालयले जनाएको छ । ‘देउवासँग कुराकानी भएपछि केही सकारात्मक माहोल भएको थियो । आज पुस मध्यभित्र नै महाधिवेशन गराउने गरी कार्यतालिका प्रस्तुत हुने आशामा थियौं,’ इतरपक्षका एक नेताले भने,‘हिजो सकारात्मक देखिएका नेताहरूसमेत आज कडा रूपमा प्रस्तुत भएपछि स्थिति बिग्रेको हो ।’













