"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटवार्ता

प्रकाशित मिति :  5 November, 2025 8:21 pm


काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा. रामवरण यादवबीच आज बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शिष्टाचार भेटवार्ता भएको छ। भेटमा आगामी निर्वाचनको तयारी तथा राजनीतिक वातावरणबारे विस्तृत छलफल भएको थियो। प्रधानमन्त्री कार्कीले आफू जेन–जी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताइन्।

त्यस क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानै पर्ने र कोही पनि त्यसबाट भाग्न नहुने धारणा राखे। उनले सरकारले चुनावका लागि गरिरहेको तयारी र विभिन्न पक्षसँग गरेको संवादको प्रशंसा गरे।

पूर्वराष्ट्रपति यादवले भने, ‘राजनीतिक दलहरू चुनावमा जानै पर्छ। मुलुकलाई लोकतान्त्रिक प्रक्रियामा अघि बढाउन चुनाव नै सर्वोत्तम बाटो हो। तपाईँहरूले निर्वाचनका लागि गरिरहनुभएको तयारी र सबै पक्षसँगको संवादले सकारात्मक वातावरण बनाएको छ। निर्वाचन आयोगलाई बजेट उपलब्ध गराइएको छ, बन्दोबस्ती सामग्रीको व्यवस्था भइरहेको छ, यो राम्रो कुरा हो। अब नागरिक समाजसँग पनि संवाद गर्नुहोस्। नागरिक समाजले पनि दलहरूलाई चुनावमा जान प्रेरित गर्नुपर्छ।’

उनले २०७० सालमा आफू राष्ट्रपति हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारका पालामा कसरी निर्वाचन सम्भव भएको थियो भन्ने अनुभव पनि सुनाए । त्यतिबेलाको सुरक्षा अवस्था र भूराजनीतिक परिवेशबारे पनि उनले चर्चा गरे।

पूर्वराष्ट्रपति यादवले सुरक्षा व्यवस्था सुदृढ बनाउन सबै सुरक्षा निकायबीचको समन्वयमा जोड दिए। उनले दलहरूले पनि चुनावको अपरिहार्यता बुझेका कारण आउँदो फागुन २१ गते हुने निर्वाचनमा सबैले भाग लिने विश्वास व्यक्त गरे।

‘दलहरूलाई म पनि भनिरहेको छु, चुनावको विकल्प छैन। चुनाव नगरी हुँदैन। अहिले यो प्रक्रियालाई कुनै पनि बहानामा अल्झाउनु हुँदैन,’ उनले भने।

भेटमा अर्थमन्त्री रामेश्वर खनाल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललगायतका अधिकारी उपस्थित थिए। हिजो मात्रै गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित पूर्वराष्ट्रपति यादवको निवासमै पुगेर भेटवार्ता गरेका थिए।

सरकारले आगामी फागुन २१ गतेको निर्वाचनको वातावरण बनाउन विभिन्न पक्षसँग संवाद तीव्र रूपमा अघि बढाएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक

काठमाडौँ-  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल-भारत सीमा विवाद एकतर्फी मात्र नभएको बताएका छन्।  उनले भारतले नेपालको भूमि अतिक्रमण गरेको