"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन अगाडि नै महाधिवेशन गर्ने कार्यतालिका ल्याउने कांग्रेसमा सहमति

प्रकाशित मिति :  30 November, 2025 8:03 pm


काठमाडौँ — अन्तत: कांग्रेस सभापति शेरबहादुर देउवा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि नै महाधिवेशन गर्न सहमत भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बस्ने बैठकमा निर्वाचन अगाडि नै महाधिवेशन गर्ने कार्यतालिका ल्याउने नेताहरूबीच सहमति बनेको हो । 

निर्वाचनअगाडि महाधिवेशन गर्ने कि पछाडि भन्ने विवादले डेढ महिनासम्म कांग्रेस आन्तरिक विवादमा फसेको थियो । सहमतिका लागि सभापति शेरबहादुर देउवाले हस्ताक्षेप गरेपछि १५औं महाधिवेशनको कार्यतालिकामा सहमति जुटेको हो ।

कांग्रेसका एक पदाधिकारीका अनुसार पुस २७-३० सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका ल्याउने गृहकार्य भइरहेको छ । त्यसमा संस्थापन पक्षमा पूर्वपदाधिकारी कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिसहितको एउटा समूह सहमत भइसकेको छैन । तर, देउवाले विशेष नगरी नियमित त्यसमा पनि निर्वाचनअगाडि नै गर्न निर्देशन दिएपछि कार्यवाहक सभापति खड्काले सोमबारको बैठकमा प्रस्ताव लैजाने तयारी भएको अर्का एक नेताले बताए ।

संस्थापनपक्षीय सदस्य रमेश लेखकले डेढ महिनादेखि महाधिवेशनको मुद्दामा चलेको विवाद मिल्ने बाटोमा गएको बताए । उनले सोमबारकै बैठकमा सबैलाई स्पेस हुनेगरी महाधिवेशनको कार्यतालिका आउने बताए । ‘निर्वाचन अगाडि कि पछाडि महाधिवेशन भन्ने विवाद अब सहमतिउन्मुख बनेको छ ।

सोमबारकै बैठकमा सबैलाई स्पेस हुनेगरी कार्यतालिका आउन सक्छ,’ लेखकले भने,‘अब नियमित महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुने अवस्था रहन्छ, त्यसबारेमा थप कुनै छलफल भएको छैन ।’

निर्वाचन अगाडि महाधिवेशनको पक्षमा नभएका संस्थापनपक्षकै पूर्व पदाधिकारीहरुले भने सोमबार प्रस्ताव हुने कार्यतालिकामा अझै सहमति जनाइसकेका छैनन् । उनीहरूको असहमतिका बीचमा पनि कार्यतालिका ल्याउन सभापतिको निर्देशन भएपछि सिटौला र निधिको नेतृत्व गरेको संस्थापनपक्षको आइतबार छुट्टै बैठक बसेको थियो । त्यस बैठकले कुनै निष्कर्ष निकालेको छैन ।

‘हामी निर्वाचन अगाडि हुने महाधिवेशनको प्रस्ताव मान्दैनौँ भनेर सभापतिलाई शनिबार नै भनेका हौं, अहिले सम्मको स्थिति हाम्रो त्यही हो’ निधिले भने,‘हाम्रो असहमतिका बीचमा प्रस्ताव आयो भने कसरी जाने भन्नेबारेमा हामी छलफलमै छौं ।’

यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तावित कार्यतालिका नियमित महाविधेशन नहुने अवस्थामा आएमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताउँदै आएका छन् । थापाले आफूहरू कार्यतालिकाको माग नगरेर महाधिवेशनको सुनिश्चिता खोजिरहेको बताए ।

‘प्रस्तावित मितिमा १५ औं महाधिवेशन भएन भने पुस २८ भित्र विशेष महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्छ । यो हामी कसैले चाहेर वा नचाहेर होइन, विधानको बाध्यात्मक व्यवस्था हो,’ उनले भने,‘नियमित महाधिवेशन भयो भने स्वतः यसको औचित्व समाप्त हुन्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको