"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन अगाडि नै महाधिवेशन गर्ने कार्यतालिका ल्याउने कांग्रेसमा सहमति

प्रकाशित मिति :  30 November, 2025 8:03 pm


काठमाडौँ — अन्तत: कांग्रेस सभापति शेरबहादुर देउवा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनअघि नै महाधिवेशन गर्न सहमत भएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबार बस्ने बैठकमा निर्वाचन अगाडि नै महाधिवेशन गर्ने कार्यतालिका ल्याउने नेताहरूबीच सहमति बनेको हो । 

निर्वाचनअगाडि महाधिवेशन गर्ने कि पछाडि भन्ने विवादले डेढ महिनासम्म कांग्रेस आन्तरिक विवादमा फसेको थियो । सहमतिका लागि सभापति शेरबहादुर देउवाले हस्ताक्षेप गरेपछि १५औं महाधिवेशनको कार्यतालिकामा सहमति जुटेको हो ।

कांग्रेसका एक पदाधिकारीका अनुसार पुस २७-३० सम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्नेगरी कार्यतालिका ल्याउने गृहकार्य भइरहेको छ । त्यसमा संस्थापन पक्षमा पूर्वपदाधिकारी कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिसहितको एउटा समूह सहमत भइसकेको छैन । तर, देउवाले विशेष नगरी नियमित त्यसमा पनि निर्वाचनअगाडि नै गर्न निर्देशन दिएपछि कार्यवाहक सभापति खड्काले सोमबारको बैठकमा प्रस्ताव लैजाने तयारी भएको अर्का एक नेताले बताए ।

संस्थापनपक्षीय सदस्य रमेश लेखकले डेढ महिनादेखि महाधिवेशनको मुद्दामा चलेको विवाद मिल्ने बाटोमा गएको बताए । उनले सोमबारकै बैठकमा सबैलाई स्पेस हुनेगरी महाधिवेशनको कार्यतालिका आउने बताए । ‘निर्वाचन अगाडि कि पछाडि महाधिवेशन भन्ने विवाद अब सहमतिउन्मुख बनेको छ ।

सोमबारकै बैठकमा सबैलाई स्पेस हुनेगरी कार्यतालिका आउन सक्छ,’ लेखकले भने,‘अब नियमित महाधिवेशन हुने भएपछि विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुने अवस्था रहन्छ, त्यसबारेमा थप कुनै छलफल भएको छैन ।’

निर्वाचन अगाडि महाधिवेशनको पक्षमा नभएका संस्थापनपक्षकै पूर्व पदाधिकारीहरुले भने सोमबार प्रस्ताव हुने कार्यतालिकामा अझै सहमति जनाइसकेका छैनन् । उनीहरूको असहमतिका बीचमा पनि कार्यतालिका ल्याउन सभापतिको निर्देशन भएपछि सिटौला र निधिको नेतृत्व गरेको संस्थापनपक्षको आइतबार छुट्टै बैठक बसेको थियो । त्यस बैठकले कुनै निष्कर्ष निकालेको छैन ।

‘हामी निर्वाचन अगाडि हुने महाधिवेशनको प्रस्ताव मान्दैनौँ भनेर सभापतिलाई शनिबार नै भनेका हौं, अहिले सम्मको स्थिति हाम्रो त्यही हो’ निधिले भने,‘हाम्रो असहमतिका बीचमा प्रस्ताव आयो भने कसरी जाने भन्नेबारेमा हामी छलफलमै छौं ।’

यता महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्तावित कार्यतालिका नियमित महाविधेशन नहुने अवस्थामा आएमा विशेष महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताउँदै आएका छन् । थापाले आफूहरू कार्यतालिकाको माग नगरेर महाधिवेशनको सुनिश्चिता खोजिरहेको बताए ।

‘प्रस्तावित मितिमा १५ औं महाधिवेशन भएन भने पुस २८ भित्र विशेष महाधिवेशनको प्रक्रिया सुरु गर्नुपर्छ । यो हामी कसैले चाहेर वा नचाहेर होइन, विधानको बाध्यात्मक व्यवस्था हो,’ उनले भने,‘नियमित महाधिवेशन भयो भने स्वतः यसको औचित्व समाप्त हुन्छ ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको