"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राज्यका सबै संरचनामा अपांगता भएका व्यक्तिको समान सहभागिता हुनुपर्छ : राष्ट्रपति

प्रकाशित मिति :  3 December, 2025 3:06 pm


काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।  

अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उनले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसरबाट वञ्चित अपांगता भएका व्यक्तिहरूको पहिचान गरी राज्यबाट प्रदान गरिने सबै सुविधा र अवसरमा समान पहुँच स्थापति गर्न जरुरी भएको बताएका हुन्।

‘नेपालको संविधानले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ, संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समान, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने अपेक्षा गरेको छ, अपाङ्गताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उहाँहरूलाई समान तथा अर्थपूर्ण रूपमा मानवीय सहभागिता गराउने मनशाय संविधानले लिएको छ,’ उनले भने।  

अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालय, विद्यालय, सार्वजनिक सवारी, सडक, पार्क, मठमन्दिर, सरकारी र सार्वजनिक एवं निजी संरचना आदिमा उहाँहरूको आवश्यकताअनुसारको मैत्रीपूर्ण भौतिक संरचना तथा अन्य आवश्यक वातावरण तयार गरी आवश्यक सुविधा उपलब्ध गराउनु आजको आवश्यकता रहेको राष्ट्रपति पौडेलको भनाइ छ।

‘अपाङ्गता भएका व्यक्तिहरूप्रति समाजमा रहेका नकारात्मक भावनामा परिवर्तन ल्याइ समावेशिता, समानता, मानवअधिकार पहुँचयोग्य वातावरण एवं भेदभावविहीन समाजको निर्माण गर्दै अपाङ्गता भएका व्यक्तिहरूको न्यायपूर्ण सहभागिता सुनिश्चित गर्न सरकार, परिवार, समाज तथा सङ्घ संस्थाहरूको एकल र सामूहिक भूमिका अभिवृद्धिमा यस दिवसले थप बल पु¥याउने मैले विश्वास लिएको छु,’ राष्ट्रपति पौडेलले भनेका छन्।

अपाङ्गता भएका नागरकिहरूको हकअधिकार प्रवर्द्धनका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विश्वभर अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवस मनाउन थालिएको हो।

यसवर्ष ‘अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने राष्ट्रिय नाराका साथ नेपालमा विभन्नि कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइँदैछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि १२० दलले दिए निवेदन दिएका छन् । १२० दलभित्र संयुक्त चुनाव चिह्नमा चुनाव लड्ने

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्तिसुरक्षा बहाल गराई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन गर्ने काममा नेपाली