"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सार्कलाई थप गतिशील र साझा समृद्धिका लागि नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की

प्रकाशित मिति :  9 December, 2025 12:21 pm


काठमाडौँ — परराष्ट्र मन्त्रालय समेतको जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवित गर्ने, गतिशील, समावेशी र कार्यमुखी बनाउने नयाँ संकल्प आवश्यक रहेकामा जोड दिएकी छन् ।

सार्कको ४१औँ चार्टर दिवसको अवसरमा सदस्य राष्ट्रका सरकार र जनतामा शुभकामना व्यक्त गर्दै उनले साझा उद्देश्यमा एकताबद्ध भएर यस क्षेत्रका चुनौतीहरूको सामना गर्न, आम हितको रक्षा गर्न र जनताका आकांक्षा पूर्ण गर्न सकिने उल्लेख गरिन् ।

‘झन्डै चार दशकअघि हाम्रा संस्थापक नेताहरूले शान्ति, स्थिरता र साझा समृद्धिले एकीकृत दक्षिण एसियाको कल्पना गर्नुभएको थियो । उहाँहरूको सामूहिक दूरदृष्टिले सार्कको जन्म दियो, एक यस्तो मञ्चको रूपमा, जसले क्षेत्रीय सहयोग प्रवर्द्धन गर्ने, मित्रताको सम्बन्ध सुदृढ गर्ने र हाम्रा जनताको कल्याण वृद्धि गर्ने उद्देश्य राख्दछ,’ सन्देशमा छ ।

प्रधानमन्त्री कार्कीले विगत वर्षहरूमा सार्कले आपसी समझदारी अभिवृद्धि गर्ने, पारस्परिक विश्वास मजबुत पार्ने र यस क्षेत्रभर जीवनस्तर सुधार गर्ने लक्ष्यसहितका पहलहरू अघि बढाउन महत्वपूर्ण मञ्चको रूप लिन सफल भएको बताएकी छन् । खाद्य तथा ऊर्जा सुरक्षा, जलवायु परिवर्तन, डिजिटल विभेद र गरिबी न्यूनीकरणजस्ता समयका जटिल चुनौतीहरूको सामना गर्न सामूहिक आत्मनिर्भरता गहिरो बनाउने, साझा क्षेत्रीय पहिचानलाई पोषित गर्ने कार्यमा सार्क चार्टर निरन्तर मार्गदर्शक बनेको उनले उल्लेख गरिन् ।

हालका अध्यक्षको रूपमा नेपालले सार्क चार्टरमा निहित सिद्धान्तअनुसार मित्रता, एकता तथा सहमतिको भावनाअनुसार सबै सदस्य राष्ट्रहरूसँग नजिकबाट सहकार्य गर्ने दृढ प्रतिबद्धता पुनः व्यक्त गरेको उनको भनाइ छ ।

सार्कको स्थापना ८ डिसेम्बर १९८५ मा बङ्गलादेशको ढाकामा सार्क चार्टरमा हस्ताक्षरसँगै भएको हो । सार्कमा अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्का गरी आठ सदस्य राष्ट्रहरू समावेश छन् । यस सङ्गठनको सचिवालय १७ जनवरी १९८७ मा काठमाडौँमा स्थापना गरिएको हो ।

सदस्य राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखको बैठक सार्कअन्तर्गतको सबैभन्दा उच्च निर्णय–निर्माण निकाय हो । शिखर बैठकहरू सामान्यतया दुई–दुई वर्षको अन्तरालमा आयोजित गरिन्छन् र वर्णानुक्रमअनुसार सदस्य राष्ट्रहरूले आयोजना गर्छन् । शिखर सम्मेलन आयोजना गर्ने सदस्य राष्ट्रले उक्त अवधिमा सङ्गठनको अध्यक्षता ग्रहण गर्छ । सार्कका हालसम्म १८ शिखर सम्मेलन भइसकेका छन् । सार्कको १८औँ शिखर सम्मेलन सन् २०१४ नोभेम्बर २६ र २७ मा काठमाडौँमा भएको थियो । त्यसयता र्साकको शिखर सम्मेलन हुन सकेको छैन ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – देश भरका ११५ क्षेत्रमा मतगणना चलिरहेको छ । बाकि क्षेत्रमा पनि सर्वदलिय बैठकहरु बस्ने तयारीमा छ । कतिपय

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार

काठमाडौँ – मध्यपूर्वी क्षेत्रमा उत्पन्न तनावबारे मन्त्रिपरिषद बैठक बसेको छ। आइतबार साँझ परराष्ट्र मन्त्री बालानन्द शर्माले नेपाललाई परेको प्रभाव, त्यसबारे