समृद्ध ओखलढुंगाको सम्भावना र चुनौती
ओखलढुंगा भूगोलको हिसाबले एक पहाडी जिल्ला हो । पूर्वमा खोटाङ, पश्चिममा रामेछाप, उत्तरमा सोलुखुम्बु र दक्षिणमा सिन्धुली र उदयपुर जिल्लाले घेरिएको छ । ओखलढुंगालाई विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथाको आधारशिविर पुग्ने प्रवेशद्वारको रूपमा पनि चिन्न सकिन्छ । यो समुन्द्री सतहदेखि करिब ३ सय ९० मि. उचाइमा अवस्थित छ । यसको कुल क्षेत्रफल १०७४ वर्ग किलोमिटर रहेकोे छ । जुन भूमिमा प्राचीन कालमा आभिरवंशी, गोपालवंशी तथा किरातवंशीले शासन गरेका थिए । यस्तै युगककवि सिद्धिचरण श्रेष्ठ, राष्ट्रिय गानका रचयिता प्रदिप कुमारी राई (ब्याकुल माइल), कप्तान यज्ञबहादुर थापा, रुक्मांगद कटुवाल, अनुराधा कोइराला, बुद्धि नारायण श्रेष्ठ जस्ता प्रसिद्ध व्यक्तिहरुको जन्मभूमिको रूपमा पनि परिचित रहेको छ । पछिल्लो समय मुलुक संघीयतामा गएपछि प्रत्यक्ष तर्फ प्रतिनिधि सभामा एक र प्रदेश सभा तर्फ “क” र “ख” क्षेत्र गरी दुई जना जनप्रतिनिधि निर्वाचन हुन पाउने व्यवस्था छ । यस्तै स्थानीय तह तर्फ एउटा सिद्धिचरण नगरपालिका र गाउँपालिकाहरु: खिजीदेम्वा, चम्पादेवी, चिशंखुगढी , मानेभञ्ज्याङ, मोलुङ, लिखु र सुनकोशी गरी जम्मा ८ वटा स्थानीय तहको संरचनामा निर्माण भएको छ । यो जिल्ला भौगोलिक, सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिक, प्रशासनिक र साहित्यिक रूपमा पनि विविधतायुक्त रहेको छ ।
ओखलढुंगा सुन्दरता र सौन्दर्यताको खानी हो । यस ठाँउलाई प्रकृतिले रङ्गीबिरङ्गी फूलबुट्टाले सिँगारिएको छ । जोकोहीलाई पनि कलकल बग्ने खोला र छङछङ गर्ने झरनाको आवाजमा चराचुरुङ्गीको चिर्बिर स्वरको मिश्रणले आनन्दमय बनाउँछ । यहाँको खोला खोल्सीले कविता सिकाउँछ भने झरनाले सुमधुर गीत सिकाउँछ । त्यस्तै धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्वका दृश्यले पनि धनी छ । बहुजाति, बहुभाषा, धर्म, संस्कृति एवं मिश्रित समाजको बिशेषता बोकेको ओखलढुंगा सामाजिक र साँस्कृतिक रुपमा पनि सम्पन्न छ । यहाँको समाज “अनेकतामा एकता” को प्रतिकको रूपमा मिलेर बसेको छ । ओखलढुंगा जिल्लाले सामाजिक, आर्थिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले उत्तर र दक्षिण व्यापार, सांस्कृतिक, ऐतिहासिक तथा धार्मिक पर्यटकीय मार्गका रुपमा मानसरोवरको प्रतिनिधित्व गर्दछ । डाडापाँखा, भिरपाखा, खोल्साखोल्सी, वनजङ्गल, टार, बेसी आदि विविधतायुक्त धरातलीय स्वरूपमा पनि धनी रहेकोे छ । जस्तैः बेसी वा नदिखोलाका किनारमा रहेका मानिसहरुको मुख्य पेशा कृषि भएता पनि फलफूल खेती, तरकारी खेती, पशुपालन माछा मार्ने रहेको छ । मध्य पहाडी क्षेत्रका मानिसहरुको मुख्य पेशामा धान, मकै, गहुँ, कोदो, फापर, तोरी, तरकारी, फलफूल खेती, पशुपालन गर्छन् । अलि लेकाली क्षेत्रका मानिसहरुको मकै, आलु, जौ, गहुँ, उवा, स्याउ आदिको खेती गरिनुका साथै भेडा र चौंरी पालनको कार्य रहेको छ । र, यी उत्पादित वस्तुलाई बिक्रीवितरण गर्ने मुख्य बजारहरु ओखलढुंगा, रामपुर, रुम्जाटार, मानेभन्ज्याङ, खिजीफलाटे, खानीभन्ज्याङ, कोशहाट, घोराखोरी आदि ठाँउ रहेका छन् ।
ओखलढुंगा जल सम्पदामा पनि धनी छ । यहाँका नदीनाला, खोलाखोल्सी र झरनाहरु सिंचाईका लागि मात्र नभई पर्यटकीय हिसाबले पनि उत्तिकै महत्वपुर्ण रहेको छ । त्यस्तै जलविद्युत भण्डारको रुपमा पनि धनी छ । जस्तै: प्रमुख नदीहरु दूधकोशी, सुनकोशी र लिखु हुन् भने खोलानालाहरु मोलुङ्गखोला, ठोटनेखोला, सिस्नेखोला, सेर्नाखोला, बाङ्गेखोला, खानीखोला, ढाँडखोला, पङ्खुखोला, लिपेखोला, साल्पूखोला, डुँडेखोला, जुंगेखोला, चोक्टीमङ्गलाखोला, अँधेरीखोला, पातालेखोला, सेप्लीखोला, खार्तेखोला हुन् । यहाँका प्रमुख झरनाहरुको रूपमा पोकली झरना (१३१ मिटर), रातमाटे झरना (१११मिटर) रहेका छन् । पूर्वको पशुपतिनाथ भनेर चिनिने प्रसिद्ध खोटाङको हलेशी महादेव दर्शन गर्न आउने आन्तरिक तथा वाह्यय पर्यटकहरुका लागि पनि ओखलढुंगा उत्कृष्ट विश्रामस्थल रहेकोे छ । त्यस्तै विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविर जाने पर्यटनहरुलाई यहाँका धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृश्यअवलोकन गराउन सक्ने प्रशस्त सम्भावनाहरु छन् । देश तथा विदेशबाट आउने हजारौँ-हजार पर्यटकलाई ओखलढुंगामा सुविधा सप्पन्न होटेल, पार्क, मनोरञ्जन स्थल लगायतको राम्रो व्यवस्थापन स्थानीय तहले गर्न सक्नुपर्छ । जसका माध्यम बाट ओखलढुंगा जिल्लालाई नेपालको एक महत्त्वपूर्ण पर्यटकीय स्थल वा व्यवसायीक क्षेत्रको रूपमा चिनाउन सकिन्छ ।
समृद्धि के हो ?
विकासको सबैभन्दा उन्नत र विकसित रूप नै समृद्ध हो । अथवा राम्रो गर्दै जाने क्रमको लामो प्रक्रिया पछि प्राप्त हुने चरम सुख, शान्ति, वैभव र एकरूपता नै समृद्धि हो । वास्तवमा पहाडमा जन्मेर त्यहीँ बसी जीवनका तमाम सुख-दुखका उकालीओरालीसँग जुधेर त्यहीँका भन्ज्याङ्ग चौतारीहरूमा विश्राम निलिई बाँच्नु नै यथार्थ स्वाभिमान सहितको समृद्ध जीवन हो । समृद्धिको महत्त्वपूर्ण पक्ष भनेको सापेक्ष परिवर्तन हो । समृद्ध ओखलढुंगाका लागि नागरिकको शिक्षा र स्वास्थ्यमा प्रभावकारी रूपमा लगानी गर्नु नै हो । जुन माध्यमबाट ओखलढुंगाका लागि आवश्यक पर्ने दक्ष जनशक्ति र स्रोतको परिचालन गर्न सजिलो हुन्छ । मुलतः ओखलढुंगाको विकास र समृद्धि राजनीतिको जगमा नै उभिएको हुन्छ भन्ने बुझ्नु जरुरी छ । त्यस्तै अर्थनीति निर्धारण अर्थराजनीतिकको स्थान भन्दा माथि हुने गर्दछ । त्यसकारण राजनीतिक इच्छाशक्तिविना ओखलढुंगाको समृद्धिको प्रयास तथा सुधारले सफलता पाउन गाह्रो हुन्छ । ओखलढुंगाको समृद्धिको लागि स्वतन्त्रता, शान्ति, स्थायित्व र जवाफदेहीता, पारदर्शिता अपरिहार्य हुँदाहुँदै पनि प्रजातान्त्र प्राप्तिपछि स्थिरता, सुशासन, नैतिकता, इमानदारीता र सदाचारीताका विषयमा हामी सधैं कमजोर भयौं । हामीले विकासका धेरै पाटा/पक्षहरू पूरा नगरी समृद्धि हासिल गर्नै सक्दैनौं ।
गाउँगाउँमा बाटो, बिजुली, पानी, शिक्षा, स्वास्थ्य र सञ्चार पुगेका छन् । तर, अहिले गाउँ रित्तिने र सहरहरूमा जनसंख्याको चाप बढ्ने क्रम गतिमा छ । किनभने गाउँमा उत्पादित वस्तुको बजारीकरण, रोजगारी र आम्दानीको राम्रो प्रबन्ध हुन नसक्नु नै हो । समान गरिबी वितरण गर्ने व्यवस्था होइन, समान अवसर र उन्नति दिने व्यवस्था चाहिएको हो । कृषकलाई आधुनिक प्रविधिको प्रयोगद्वारा कम से कम खान पुग्ने खाद्यान्न, फलफूल, तरकारी, माछामासु उत्पादन गरी कृषकको जीवनमा सुविधा र सहजता ल्याउने वातावरण निर्माण गर्नु जरुरी छ । प्राकृतिक स्रोत र साधनलाई मानिसको जनजीवनसँग प्रत्यक्ष जोड्न आवश्यक विकासका पूर्वाधार निर्माण गर्नुपर्छ । फेरि विकासको अर्थ कति किलोमिटर सडक, स्कुल–कलेज भवनहरूको निर्माण भन्ने हैन, साँचो विकासले जनतालाई सुखी र सुरक्षित पार्न सक्नुपर्छ । यसका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाका साथै जनताका लागि स्वच्छ, स्वस्थ र सुरक्षित बस्ती विकासका कामलाई अगाडि बढाउनु हो ।
जनप्रतिनिधिहरुले विकासलाई भौतिक संरचना निर्माणसँग मात्र दाँज्ने गरे, जुन असाध्यै गलत छ । सबै क्षेत्रको समानुपातिक विकास प्रक्रियाविना उचित सामाजिक उत्पादन सम्बन्धको विकास गर्नुपर्छ भन्ने नै बुझेनौ । त्यसकारण भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकास र समृद्धि ओखलढुंगाका विविध पक्षहरू बीच अन्तरनिहित हुनु जरुरी छ । तसर्थ, समृद्ध ओखलढुंगा कसरी निर्माण गर्ने र त्यसका चुनौतीहरु के-के हुन सक्छन् भन्ने कुरामा व्यापक रूपमा स्थानीय जनताहरु सँग बहस गर्न जरुरी छ । तर, अहिलेसम्म त्यस्तो बहस तथा छलफल गरेको देखिदैन ।
समृद्ध ओखलढुंगाका आधार :
ओखलढुंगाको विकासमा नव-आयाम थपी राष्ट्रियताको सुदृढीकरण गर्नु सक्नुपर्छ । त्यसका लागि झरना, हरियो वन, अनुपममूर्ति तथा वास्तुकला, प्रशिद्ध धार्मिक स्थल, नदिनाला, प्राकृतिक सुन्दरता, पर्यटन, जलविद्युत, स्थानीय स्तरका उत्पादित वस्तुहरु आदि समृद्ध ओखलढुंगाका आधारहरु हुन् । तर हाम्रा जनप्रतिनिधिहरुले एकलकाँटे विकासको अवधारणा मार्फत ओखलढुंगेली जनतालाई अल्मलमा परेको पाइन्छ । जसले विकास र समृद्धतर्फ दिशानिर्देश गर्दैन । डाेजरे विकास बनाउनु मात्र विकास हो भन्ने मानसिकता जनप्रतिनिधिहरुको बुझाइमा छ, जुन असाध्यै गलत भास्य हो । समृद्ध मापनगर्ने अर्थतन्त्रका र भौतिक विकासका धेरै सूचाङ्कहरु हुन्छन् । यी सूचाङ्कहरुलाई भेटिसकेपछि मात्रै विकास र समृद्धिको दर्जामा राख्न सकिन्छ । जस्तै: ओखलढुंगाको जीडीपी (कुल ग्राहस्थ उत्पादन), शैक्षिक गुणस्तर, स्वास्थ्य, सुविधाको स्तर, सञ्चार सुविधा, स्वच्छ खानेपानी, यातायात (हवाई, सडक सञ्जाल), नविनतम प्रविधिको उपयोगको उचतमविन्दु समृद्धिका मापदण्डहरु हुन् । तसर्थ यी मापदण्डहरु पुरा गरेपछि मात्र ओखलढुंगा विकास र समृद्धिको दाजोमा पुग्न सक्छ । अनि मात्र आर्थिक र भौतिक रुपले सम्पन्न समाजलाई समृद्ध ओखलढुंगा भन्न सकिन्छ ।
विकास र समृद्धि हासिल गर्नका लागि ओखलढुंगाका जनप्रतिनिधिहरुले आफ्नो भौगालिक बनावट, भू-राजनीतिक स्थिति र आफ्नो सामर्थ्य र आवश्यकताका आधारमा समृद्धिको खाकाकोर्न सक्नुपर्छ । यस्तो खाकाकोर्न दुरदर्शी, रणनीतिक, टिकाउ, भरपर्दो र वातावरणमैत्री बुझ्न सक्ने नेतृत्वको आवश्यकता पर्छ, अनिमात्र समृद्ध आउँछ । त्यस्तै सुदृढ र भरपर्दो यातायात सञ्चालन, जलविद्युतको विकास, दिगो र भरपर्दो पर्यटनको विकास, कृषिको आधुनिकीकरण, जडिबुटी उत्पादन र प्रशोधन, धार्मिक पर्यटनको प्रचार-प्रसार र पुर्वाधार निर्माण आदिले मात्र समृद्धि दिन सक्छ । समृद्ध एउटा गतिशील तथा निरन्तर रूपमा आर्थिक, सामाजिक, सास्कृतिक, प्रशासनिक र वातावरणीय क्षेत्रमा भएको सकारात्मक परिवर्तन हो । जबसम्म पछाडिपारिएका ओखलढुंगाका जनतामा अनुभुति हुनेगरी उनीहरूको जीवनमा कुनै परिवर्तन आउदैन् त्यो विकास र समृद्धि होइन् । अब ओखलढुंगाका जनताले हामी विकासको कुन चरणमा छौं ? ओखलढुंगामा समृद्धिका प्रमुख अवरोधहरु के-के छन् ? के गर्यो भने समृद्ध हुन्छ ? समतामूलक समाज कसरी कायम गर्ने ? वस्तुगत र यथार्थपरक कसरी बन्ने ? यी र यस्ता यावत विषयमा गम्भीरतापूर्वक बहस र छलफल गर्न आवश्यक देखिन्छ ।
विकास र समृद्धिको बाधक :
ओखलढुंगा जिल्ला विकासको दृष्टिले पछाडी छ । दुर्गम पहाडी जिल्लाको रुपमा चिनिने यस जिल्ला प्राकृतिक श्रोत र साधनले सम्पन्न हुँदाहुँदै पनि यसको समुचित प्रयोगमा चुकेको देखिन्छ । ओखलढुंगाका जनताको आर्थिक अवस्था सु्ध्रिन सकेको छैन । विकासका आधारभुत कुराहरू जस्तैः यातायात, विधुत, संचार, सिंचाई, शिक्षा, स्वास्थ्य, खानेपानी आदि कुराहरूमा राम्रो विकास नभएकोले जनताले विकासको अनुभव गर्न सकेका छैनन् । हवाइ सेवाको लागि रूम्जाटार विमानस्थल नियमित रूपमा संचालन हुन सकेको छैन । लामो समयको प्रतिक्षापछि सुनकोशी पुलको निर्माण सम्पन्न भएपश्चात यस जिल्लाको राजधानीसंग सडक यातायातको सिधा पहुँच हुँदा जनतालाई केही राहत त भएको छ। तर दैनिक उपभोग्य वस्तुहरू महंगो हुनुका साथै यस क्षेत्रको कृषि तथा अन्य उत्पादित वस्तु व्यवसायिक हुन नसक्दा जनताको आर्थिक अवस्था परम्परागत शैलीबाट माथि उठ्न सकेको छैन ।
समृद्ध ओखलढुंगाको बाधकको रूपमा गुणस्तरहीन पुर्वाधार, जनप्रतिनिधिहरुको राजनीतिक दाउपेच, नीति कार्यान्वयनमा अनिश्चितता, आसेपासे अर्थतन्त्र, सुशासनमा कमी र व्याप्त भ्रष्टाचार जस्ता कार्य रहेको पाइन्छ । त्यस्तै उत्पादकत्वमा कमी, वातावरणमा अन्योल, पुँजीको प्रतिफलमा कमी जस्ता थप कारण पनि हुन् । जनप्रतिनिधिहरु चुनाव जित्न साथ म नै शासक हो भन्ने गलत खाल्को मानसिकता बोकेको देखिन्छ । उहाँहरुको मानसिकता वा शासन प्रणाली नै विकास र समृद्धिको मुख्य बाधक हो । जबसम्म विधिको शासन कायम हुदैन, तबसम्म विकास र समृद्धि नारामा मात्र सीमित हुन्छ । तसर्थ, उहाँले सुशासनको माध्यमबाट मात्र ओखलढुंगाको विकास र समृद्धि हासिल गर्न सकिन्छ भन्ने बुझ्नुपर्छ । तर, समृद्ध ओखलढुंगामा जानुभन्दा पहिले ओखलढुंगाले भोगेका आधारभूत समस्याहरुको पहिचान गर्नु जरुरी छ । श्रम सहभागीतामा वृद्धि, उत्पादकत्वमा वृद्धि, बजारीकरण, सेवा क्षेत्र, समावेशी र आर्थिक क्रियाकलापमा विस्तार जस्ता कुरा ओखलढुंगाको समृद्धिको लागि चाहिन्छ । यस्तै जनताको आम्दानी वृद्धि गर्नका लागि पुँजी, रोजगारी, प्रविधि, स्वास्थ्य र शिक्षाको स्तर, उधमशीलता र व्यापार तथा आर्थिक सुधारको स्थिरताले महत्त्वपूर्ण भुमिका खेल्न सक्छ । समृद्धिका लागि श्रम र पुँजीको महत्त्वलाई गहिरो अध्यन गरेर उद्योगको विकास, पुँजीको सुरक्षा, श्रम र कानुन जस्ता यावत विषयलाई विशेष ध्यान दिनुपर्छ । त्यस्तै राजनीतिक प्रतिस्पर्धा, सहभागीता र जवाफदेहीताको बलियो प्रणाली, संयन्त्र र संस्थागत संरचनालाई दिगो र स्वीकार्य बनाउनु जरुरी छ ।
अर्कोतिर गाउँबाटै कामको खोजीमा शहर पस्नेहरूले शहरको झिलिमिलिबाट लट्ठिई ‘साला पहाडमे क्या है’ भन्दै धन कमाउनासाथ गाउँप्रति मन मारेर शहरमा घर बनानु अथवा बसाई-सराइलाई जीवनको धोको कदापि बनाउनु हुदैन । सहरिया आँखाले हेर्दा ओखलढुंगा दुर्गम होला । तर, ओखलढुंगेली जनताको हृदयभित्र प्रज्वलित दिव्य ज्योतिकै कारण आज साँचो अर्थमा मानव भएर बाँचेका छन् र प्रकृतिका आँगनमा हाँसी-खुसी नाचेका छन् । गाउँका ती रमणीय दृश्य चिसो र मीठो पानी, नदीको कलकल र झरनाको छङछङ आवाजले लालायित बनाउँछ । त्यसकारण गाउँबाटै सातुसामल बोकेर सहर जानेहरूले सहरलाई नै आफ्नो आदर्श बनाउनु हुदैन भन्ने भास्य निर्माण गर्न सक्नुपर्छ । हामीले हाम्रा आउँदो पुस्तालाई गाउँप्रतिको विकासमा एकाग्रता हुन सिकाउनु पर्छ । ओखलढुंगाको गाउँ-गाउँ यात्रा गर्ने यात्रुले गोजीमा धन नभए पनि भोकै मर्नुपर्दैन । अतिथि देवो भव भन्ने गायत्री मन्त्र जप्ने ओखलढुंगेली मानिससँग सहयोगका हात बढाउँदा छाती खोलेर अघि सर्छन् र प्यास निभाउन पानी माग्दा उनीहरू दही र महीले स्वागत गर्छन् भन्ने भास्य आउदो पुस्तालाई सिकाउन सक्नुपर्छ । अर्थात् गाउँलाई चटक्क माया मारेर सहरमा बस्नुलाई नै आफ्नो जीवनको उपलब्धि बनाउनु हुदैन भन्नू नै हो । बरु गाउँको विकास निर्माणका लागि सबैले आ-आफ्नो ठाउँ बाटो सकेको सहयोग गर्नुपर्छ ।
चुनौती र सम्भावना :
घाँसे मैदान, वनजंगल, कृषि, भूमि, नदीनाला, झरना आदिले विशिष्ट पर्यटकीय क्षेत्र, उत्पादन तथा औषधिजन्य उत्पादनको सम्भावना ओखलढुंगाले बोकेको छ । प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावनाहरु रहेता पनि ती स्रोतहरुको प्रभावकारी उपयोग हुन नसक्दा यो क्षेत्रको विकासको स्थिति तुलनात्मक रूपमा न्यून हुन गएको छ । त्यसैले अर्थतन्त्रका विभिन्न क्षेत्रको तीब्र विकास हुन आवश्यक छ ।
ओखलढुंगा जिल्लामा नमस्ते, स्काई फोन, इमेल, ईन्टरनेट जस्ता संचार सेवाहरु सदरमुकाम क्षेत्रमा मात्र राम्रो सँग चलेता पनि सदरमुकाम भन्दा बाहिर अझै पनि राम्रो सग चलेको पाइदैन । सार्वजनिक शिक्षा र स्वास्थ्यमा लगानी अनुरुप सुधार हुन अझै सकेको छैन । सामुदायिक कलेज तथा अस्पताल गुणस्तरीय बनाउन कसैको पहल गरेको देखिदैन । सामुदायिक अस्पताल (मिसन) र रुम्जाटार अस्पतालसहित थुप्रै स्वास्थ्य चौकीहरुलाई सुधार गर्दै गुणस्तरीय बनाउनु आवश्यक छ । विद्यालय भर्नादरमा सुधार हुँदै गएतापनि बिचैमा पढाई छाड्ने प्रवृत्ति अझै उच्च नै रहेको छ । तसर्थ, गुणस्तरीय स्वास्थ्य र प्राविधिक शैक्षिक संरचनाहरु निर्माण गर्नु जरुरी छ । शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार ल्याउनका लागि स्थानीय जनप्रतिनिधि र जनसमुदायहरु बीचमा समन्वयकारी भुमिका हुनु पर्छ ।
तसर्थ, ओखलढुंगामा चुनौतिका साथसाथै, अथाह सम्भावनाहरु समेत रहेका छन् । जुन निम्न अनुसार उल्लेख गरेको छु :
सम्भावनाहरु:
– शिक्षा र स्वास्थ्य क्षेत्रलाई लगानीका माध्यमबाट गुणस्तरीय बनाउने ।
– दुधकोशी नदिबाट ६ सय ३५ मेगावाट जलविद्युत उत्पादन कार्यलाई अगाडि बढाउन संघीय सरकार सँग जनप्रतिनिधिहरुले पहल गर्ने ।
– साघुटार – ओखलढुंगा – कुइभिर (सिलौरी) सडक पालोपत्रे निर्माण गर्ने ।
– विकास तथा लगानीका लागि कृषि उद्योग खोल्ने ।
– आर्गनिक कृषि उत्पादन गर्ने ।
– युवाहरुको जनसांख्यिक लाभ लिने ।
– स-साना नदीनाला तथा खोलाहरु बाट जलविद्युत परियोजना अगाडि बढाउन पहल गर्ने ।
– जलस्रोतको समुचित उपयोग गर्ने ।
– आकर्षक पर्यटक स्थलहरु (झरना, मठ, मन्दिर, मनोरम दृश्य, नदी, पहाड ) मनोरम बनाउने ।
– संघीय संरचना अनुकूल पर्यटन क्षेत्रको पुनःसंरचना निर्माण गर्ने ।
– पर्यटन क्षेत्रमा निजी लगानीको वृद्धि गर्ने ।
– संघ, प्रदेश र स्थानीय तह अनुसारको प्रोफाइल तयार गर्ने ।
– सुरक्षित, भरपर्दो यातायात तथा हवाई सेवाको सुनिश्चितता गर्ने ।
– गन्तव्यहरुको पहिचान, प्रवद्र्धन तथा बजारिकरण गर्ने ।
– वातावरणीय दीगोपनामा जोड दिने ।
– परम्परागत मौलिक संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्ने ।
– व्यवसायिक, दक्ष जनशक्ति विकास गर्ने ।
-निजी शिक्षालय, औषधालय र पुस्तकालय खोल्ने ।
-गाउँभित्रै संस्थान अनि घरेलु उद्योगहरू खोल्ने ।उत्पादित बस्तुका लागि प्रशोधन उद्योग गाउँमै खोल्ने ।
– गाउँलाई रोजगारमुलक काममा व्यस्त राख्ने
-अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर विकास गर्ने ।
चुनौतीहरु:
– सुविधासम्पन्न हस्पिटल नहुनु ।
– विकास सम्बन्धी नीतिको अभाव रहनु तथा विद्यमान ऐन/नीतिमा समयसापेक्ष सुधार नहुनु ।
– सेवा क्षेत्र सबै नौलो हुनु ।
– पर्यटकीय सूचनाको अभाव र सहि व्यवस्थापन नहुनु ।
– भौतिक योजना र लगानी कार्यक्रमबीच तालमेल नहुनु ।
– नियमित, सुरक्षित र भरपर्दो यातायात (हवाई, स्थलमार्ग) सेवा प्रभावकारी नहुनु ।
– शिक्षा र स्वास्थ्यमा गुणस्तरीय तथा गुणात्मक बृद्धि गर्न नसक्नु ।
– स्थानीय तहहरू आधारभूत सुविधा निर्माणमा भन्दा आय आर्जन हुने आयोजनामा आकृष्ट हुनु ।
– प्रतिष्पर्धात्मक क्षमता अभिबृद्धि नगर्नु ।
– विकासलाई व्यवस्थित र समन्वय गर्न अधिकार सम्पन्न उच्च स्तरको निकायको अभाव हुनु ।
– पूर्वाधार विकासमा लगानी बृद्धि नहुनु ।
– सम्भावना र अवसरलाई आय आर्जनमा रुपान्तरण नगर्नु ।
– जिल्लाका सबै क्षेत्रमा खानेपानी तथा सरसफाइको दिगो उपलब्धता नहुनु ।
– लैगिक समानता र महिला सशक्तीकरण नहुनु ।
– समावेशी र दिगो आर्थिक बृद्धि एवं रोजगारी दिन नसक्नु ।
– निजी क्षेत्रलाई जग्गा विकास तथा आवास निर्माणमा आकृष्ट गर्न ऐनको अभाव रहनु ।
-संघ, प्रदेश र स्थानीय तहहरुका जनप्रतिनिधिहरुको समन्वय नहुनु आदि ।
अत: दीर्घकालीन विकासको दृष्टिकोणबाट सरकारले तय गरेको लक्ष्य तथा उदेश्यहरु र वर्तमान आर्थिक मार्गचित्रको वास्तविक जानकारी विना कुनै पनि भावी कार्यक्रमहरु तय गर्न नसकिने हुँदा उपरोक्त आर्थिक धरातलीय अधारमा आगामी विकासको मोडल ओखलढुंगाले तय गर्नु आवश्यक देखिन्छ । केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारले संभावना र अवसरहरुलाई प्राथमिकतामा राख्न जनप्रतिनिधिहरुले पहल गर्नुपर्छ । ताकि नीति, योजना र कार्यक्रम तय गरी सोही अनुसार कार्यान्वयन गरेमा ओखलढुंगाको द्रुत गतीमा आर्थिक विकास हुने देखिन्छ । ओखलढुंगामा पुर्वाधार निर्माण र घरेलु उद्योग स्थापना भएमा बेरोजगारीको समस्या अन्त्य हुन्छ । जसका कारण ओखलढुंगामा रहेका श्रमशक्तिहरु विदेश नगई स्थानीय स्तरमा नै काम गर्ने प्रवृत्ति उच्च रहेको देखिन्छ ।
समृद्धिका लागि उच्च आर्थिक वृद्धि अपरिहार्य हुने गर्दछ । आर्थिक वृद्धिले रोजगारी सिर्जना, आयवृद्धि र गरिबी घटाउँछ । ओखलढुंगाले पनि आर्थिक वृद्धिदर बढाएर र आय आसमानता घटाएर निम्न र मध्य वर्गको संख्या बढाउन सक्छ । हाम्रो जस्तो लोकतान्त्रिक मुलुकमा साक्षर जनसंख्याले संस्थाहरुको स्थापना तथा स्वतन्त्रता, आर्थिक वृद्धि तथा समृद्धसँग अनुकूल हुने किसिमका नीतिहरु अवलम्बनका लागि आधार तय गर्न सक्नुपर्छ । यसर्थ समृद्ध ओखलढुंगा निर्माणका लागि लगानी आकर्षित गर्ने, उत्पादन गर्ने, सफल व्यवसायिक अभ्यासहरु अनुकरण गर्ने, वस्तु तथा सेवाहरुको आपूर्ति गर्ने र उच्च आर्थिक वृद्धि हासिल गर्न ठूलो सहयोग पुग्छ । मुलतः समृद्धि धन वा अर्थतन्त्र जग सँग जोडिएको हुन्छ । तसर्थ, ओखलढुंगाको विकास र समृद्धि प्राप्त गर्न ठुलो संकल्प नै चाहिन्छ । यस्तो संकल्प पुरा गर्न सक्षम नेतृत्वको आवश्यकता पर्छ । नेतृत्व लोभ, अहम्, इष्र्या र पुर्वाग्रहबाट मुक्त र लक्षप्रति अठोट भएको हुनुपर्छ । अहिले ओखलढुंगेली जनता जुन खालखण्डमा गुज्रिएका छन्, अब विकास र समृद्धि विद्रोहको लहर ल्याउन आवश्यक छ । त्यसका लागि आगामी निर्वाचनमा ओखलढुंगेली जनताले मन र मत दुबै बदलेर योग्य र सक्षम व्यक्तिलाई अगाडि बढाउनु पर्छ । माछा देखे दुलोमा हात, सर्प देखे दुलो बहिर हात गर्ने मौका परस्त व्यक्तिलाई जनप्रतिनिधिको रूपमा जिताउनु हुदैन । अब ओखलढुंगेली जनताहरु आफ्नो गाउँको विकासका लागि सबै एकताबद्ध हुनु जरुरी छ । आफूलाई ताते गर्ने र तोते बोल्न सिकाउनै भूमिलाई हामीले बिर्सनु हुदैन । तसर्थ हामी सबैले आफू जन्मेको गाउँ, ठाउँ, माटो र पाखा पखेराप्रति अनन्य प्रेम पोखेर उजागर गर्न सके विकास र समृद्धि हासिल गर्न सक्छौं ।












