"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय निर्वाचनको तयारीमा जुट्यो सरकार

प्रकाशित मिति :  3 February, 2022 12:51 pm


काठमाडौं । सरकारले आसन्न स्थानीय चुनावका लागि सुरक्षा तथा बन्दोबस्तीको तयारी थालेको छ । चुनावको मिति घोषणा भइनसके पनि निर्वाचन आयोगले प्रस्ताव गरेको मिति आगामी जेठ ४ लाई केन्द्रमा राखेर चुनावी तयारीमा सरकार जुटेको हो । 

केन्द्रीय सुरक्षा समितिको बैठकले एकै चरणमा स्थानीय चुनाव गर्ने लक्ष्यसहित बुधबार सुरक्षा र बन्दोबस्तीसम्बन्धी विस्तृत कार्ययोजना पेस गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको छ । त्यसका लागि समन्वय गर्न गृह मन्त्रालयका सुरक्षा र समन्वय महाशाखा प्रमुख मुकुन्द निरौलाको संयोजकत्वमा समिति बनाइएको छ । समितिमा गृह मन्त्रालयका उपसचिव तथा चार सुरक्षा निकायका प्रतिनिधि छन् । सुरक्षा बैठकमा बन्दोबस्ती र सुरक्षा व्यवस्थापनसम्बन्धी विस्तृत छलफल र समीक्षा भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए ।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव टेकनारायण पाण्डे, नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललगायत उच्च अधिकारी सहभागी थिए । बैठकमा सुरक्षा अधिकारीहरूले सुरक्षा अवस्था, चुनौती र त्यसलाई सामना गर्न चाहिने रणनीति र योजना एवं बन्दोबस्तीबारे ‘ब्रिफिङ’ गरेका थिए ।

सुरक्षा समितिको आगामी बैठकमा सुरक्षा र बन्दोबस्तीसम्बन्धी विस्तृत कार्ययोजना पेस भएपछि बजेट आकलन गरिने प्रवक्ता पोखरेलले बताए । कार्ययोजनालाई निर्वाचन आयोगसँग परामर्श गरेर अन्तिम रूप दिने गृह मन्त्रालयको तयारी छ । खासगरी सवारीसाधन, सञ्चार उपकरण, अन्य सुरक्षा सामग्री खरिद, म्यादी प्रहरी भर्ना, निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी, मतपेटिका, मतपत्रलगायतमा बढी खर्च हुन्छ । भौगोलिक अवस्था र त्यस क्षेत्रमा हुने शान्तिसुरक्षा स्थितिलाई हेरेर खर्च फरक–फरक हुने गर्छ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच २०७८ जेठ ४ मा चुनाव गर्ने अनौपचारिक सहमति जुटेको बताइएको छ । आयोगले चुनावमा करिब १२ अर्ब रुपैयाँ खर्च लाग्न सक्ने जानकारी सरकारलाई गराएको छ ।

म्यादीमा पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता

सरकारले आगामी स्थानीय चुनावका लागि म्यादी प्रहरी भर्नामा पूर्वसुरक्षाकर्मीलाई प्राथमिकता दिने भएको छ । सुरक्षा तैनाथीबारेको अनुभव र भरपर्दो जनशक्ति भएका कारण पूर्वसुरक्षाकर्मीलाई म्यादीमा प्राथमिकता दिँदा निर्वाचनको निष्पक्षतामा टेवा पुग्ने सुरक्षा अधिकारीहरूको निष्कर्ष छ । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलले भने सुरक्षा निकायबाट बन्दोबस्ती र सुरक्षा तैनाथीको खाका पेस भएपछि मात्रै यस विषयमा जानकारी दिन मिल्ने बताए ।

सुरक्षा व्यवस्थापनमा खटिने म्यादी प्रहरीमा दलीय आस्था भएका व्यक्ति हाबी हुन सक्ने भन्दै यसअघिको निर्वाचित ताका पनि सम्भव भएसम्म सुरक्षा निकायबाटै जनशक्ति व्यवस्थापन गर्नुपर्ने सुझाव आएको थियो । बहालवाला सुरक्षाकर्मीको संख्या अपुग हुने भन्दै हरेकजसो निर्वाचनमा म्यादी भर्ना गरिँदै आएको छ । सेनामा करिब ९६ हजार र प्रहरीमा करिब ८० हजार जनशक्तिको दरबन्दी छ । प्रहरीमा करिब ७० हजार मात्रै कार्यरत छन् । बजेट र तालिम एकै पटक गर्न कठिन भएको कारण देखाउँदै सरकारले पदपूर्ति गर्न सकेको छैन । त्यस्तै सशस्त्र प्रहरी बलमा करिब ३७ हजार जना छन् । तीनवटै सुरक्षा निकायबाट ७० देखि ८० प्रतिशत जनशक्ति तैनाथ गराउँदा पनि अपुग हुने गृह मन्त्रालयले जनाएको छ ।

२०७४ को स्थानीय चुनावमा म्यादीसहित २ लाख २६ हजार सुरक्षाकर्मी खटिएका थिए जसमा म्यादी ७५ हजार थिए । मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सरकारले ९८ हजार २ सय ६८ म्यादी प्रहरी भर्ना गरेको थियो । १८ वर्ष देखि ५४ वर्ष उमेर समूहका उनीहरूलाई ५५ दिन कार्यरत रहने गरी भर्ना गरिएको थियो । उनीहरूका लागि मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब तथा त्यस अवधिको रासनभत्ता र पोसाक खर्च दिइएको थियो । प्रहरी प्रधान कार्यालयको व्यवस्थापनमा म्यादीका लागि डेढ साताको निर्वाचन सुरक्षा तालिम पनि प्रहरीबाट प्रदान गरिएको थियो । त्यसबेला पनि अवकाशप्राप्त पूर्वसुरक्षाकर्मीलाई प्राथमिकतामा राखेर भर्ना गरिएको थियो ।

२०७० मंसिरमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा ४५ हजार म्यादी प्रहरी भर्ना लिइएको थियो । उनीहरूका लागि पनि प्रहरी जवान सरहको सेवासुविधा दिइएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीमा सेवा गरी अवकाश पाएका पूर्वसुरक्षाकर्मी, विभिन्न निजी सुरक्षा कम्पनीअन्तर्गतका गार्ड, विदेशी सुरक्षा निकायबाट अवकाश पाएका नेपाली नागरिक, पूर्वसशस्त्र वन रक्षक, पूर्वम्यादी प्रहरीलाई अघिल्ला निर्वाचनका प्राथमिकता दिइएको थियो । यस पटक पहिलेकै मापदण्ड र कार्यविधिलाई नै अद्यावधिक गरी खाका बनाउने तयारी गृह मन्त्रालयको छ ।

  • कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन् । बुधबार आयोजित सुशासन र

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे शुक्रबार जानकारी गराइएको छ। निर्वाचन