"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पुस मसान्तभित्र विशेष महाधिवेशनका लागि एकताबद्ध हुन कांग्रेस महामन्त्री थापाको आह्वान

प्रकाशित मिति :  31 December, 2025 2:36 pm


काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाधिवेशन पुस मसान्तभित्र आह्वान गर्ने प्रक्रियामा अघि बढेको बताएका छन्। राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा आज सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले पार्टीभित्रको एकता, आत्मविश्वास र लोकतान्त्रिक अभ्यासका लागि विशेष महाधिवेशन अनिवार्य बनेको उल्लेख गरेका हुन्।

महामन्त्री थापाले राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्षम कांग्रेस निर्माण गर्नु प्रत्येक कार्यकर्ताको युगीन जिम्मेवारी भएको उल्लेख गर्दै त्यसैका लागि विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा पार्टी अघि बढेको बताएका छन्।‍ ‘अतः हामी यही जिम्मेवारी निर्वाह गर्न पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढ्यौँ। सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गर्दछु,’ उनले लेखेका छन्।

थापाले कांग्रेसभित्र फरक विचारलाई लोकतान्त्रिक रूपमा व्यक्त गर्ने साझा मञ्च भनेकै विशेष महाधिवेशन भएको बताएका छन्। ‘आजको समयमा कांग्रेसको विशेष अधिवेशन नै त्यो साझा मञ्च हो। पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारी मात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासका लागि अनिवार्य बनेको छ’, थापाले भनेका छन्।

त्यस्तै, आजभन्दा ४९ वर्षअघि विषम परिस्थितिमा राष्ट्रिय एकता र मेलमिलापको आह्वान गर्दै बीपी कोइराला, गणेशमान सिंहलगायत नेताहरू स्वदेश फर्किएको स्मरण गर्दै थापाले सो ऐतिहासिक दिनको महत्त्व उल्लेख गरेका छन्।

‘राष्ट्रिय एकता र मेलमिलाप दिवसको ऐतिहासिक अवसरमा आम जनताको परिवर्तनको आकांक्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस्। एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधका साथ अगाडि बढ्ने प्रेरणा हामी सबैलाई मिलोस्’, उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

थापाले नेपाली कांग्रेसले यही उत्तरदायित्व बोधका साथ राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको आधार खोजिरहेको र त्यो आत्मविश्वास पार्टी एकताबाट मात्र सम्भव हुने बताएका छन्। ‘यो आत्मविश्वास हाम्रो एकताबाट नै आउँछ। अनि एकता निषेधबाट होइन, फरक विचारलाई बेवास्ता गरेर होइन, भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र सम्भव हुन्छ,’ उनको भनाइ छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने