प्रतिनिधिसभा निर्वाचन : ३४०६ उम्मेदवार कायम, ७२ जनाले उम्मेदवारी फिर्ता
काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेकामध्ये ७२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । दाबी विरोध तथा निर्वाचन अधिकृत कार्यालयले छानबिन गर्दा कागजात नपुगेका ९ जनाको भने उम्मेदवारी रद्द गरिएको छ ।
निर्वाचन आयोगका अनुसार ३४ सय ८७ ले मनोनयन दर्ता गरेकामा उम्मेदवारी फिर्ता र रद्दपछि अन्तिम उम्मेदवारको संख्या ३४ सय ६ कायम भएको छ । त्यसमा ३ हजार १७ पुरुष, ३ सय ८८ महिला र अन्य समूहका १ जना छन् । उम्मेदवारहरूको कायम भएको अन्तिम संख्यामा २५–४० उमेर समूहका १ हजार ५६, ४१–६० उमेर समूहका १ हजार ९ सय २५ र ६१ वर्षभन्दा माथि उमेरका ४ सय २५ जना छन् ।
निर्वाचन कार्यक्रमअनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाबी विरोध तथा नाम फिर्ता लिने समय सकिएलगत्तै जाँचबुझपछि निर्वाचन अधिकृत कार्यालयहरूले शुक्रबार उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेका हुन् ।
फिर्ता लिनेमा धेरैजसो स्वतन्त्र उम्मेदवारहरू छन् । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनले प्रगितिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट गोरखा–२ मा उम्मेदवारी दिएका थिए । उक्त पार्टीबाटै अन्य उम्मेदवारहरूले पनि फिर्ता लिएको पाइएको छ । प्रलोपाले गोरखाका दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवारी फिर्ता लिएको छ । गोरखा–१ का प्रलोपाका गोपालबाबु श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
पर्साका दुई निर्वाचन क्षेत्रबाट दुई जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिएका राजेश्वर साह तेली र क्षेत्र नं ४ बाट पिपुल्स फोर्स पार्टीका फिरोज अन्सारीले उम्मेदवारी फिर्ता लिएको आयोगले जनाएको छ ।
तेली २०७४ को चुनावमा कांग्रेसबाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । योसँगै अब पर्साका चारवटै निर्वाचन क्षेत्रमा १ सय ७ जनाको उम्मेदवारी कायम भएको छ । तीमध्ये ६४ जना दलका र ४३ स्वतन्त्र उम्मेदवार छन् । क्षेत्र–१ मा ३० उम्मेदवारमध्ये १० जना स्वतन्त्र छन् । क्षेत्र–२ का ३० उम्मेदवारमध्ये १३ स्वतन्त्र छन् । क्षेत्र–३ मा २३ उम्मेदवार रहेकामा ९ जना स्वतन्त्र छन् । क्षेत्र–४ मा २३ उम्मेदवारमध्ये ११ जना स्वतन्त्र छन् ।
बर्दियाका दुईवटै क्षेत्रबाट तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् । क्षेत्र–१ मा एक जना र क्षेत्र–२ मा दुई जनाले फिर्ता लिएको निर्वाचन आयोगले जानकारी दिएको छ । उम्मेदवारी फिर्ता लिनेमा क्षेत्र–१ बाट प्रलोपाका राजु रानाभाट रहेको मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले बताए । यस क्षेत्रमा २१ जना उम्मेदवार चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् । त्यस्तै क्षेत्र–२ मा दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
प्रलोपाकै नेत्र आचार्य र स्वतन्त्र उम्मेदवार नुतुनकुमार चौधरीले उम्मेदवारी फिर्ता लिएको सहायक मतदान अधिकृत विष्णुचन्द्र नेपालीले बताए । आम जनता पार्टीका रामेश्वर चौधरीको कालोसूचीमा कर्जासम्बन्धी मुद्दा भएकाले उम्मेदवारी खारेज गरिएको उनले जानकारी दिए । अब क्षेत्र–१ मा २१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्नेछन् ।
तीमध्ये ३ स्वतन्त्र र ३ महिला छन् । क्षेत्र–२ मा १५ जनाको उम्मेदवारी कायम भएको छ । यस क्षेत्रमा दुई महिलासहित १५ जनाबीच चुनावी प्रतिस्पर्धा हुनेछ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ–३ बाट उम्मेदवारी दिएका दुई जनाले फिर्ता लिएका छन् ।
यहाँ पनि प्रलोपाकै घनश्याम डाँगी र स्वतन्त्र उम्मेदवार गोपाल वलीले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् । दाङ–३ बाट २५ जनाले मनोनयन दर्ता गराएकामा अब २३ उम्मेदवार कायम भएका छन् । यो सँगै दाङका तीन क्षेत्रमा ४३ राजनीतिक दल र १९ जना स्वतन्त्र गरी ६२ जनाको उम्मेदवारी कायम भएको प्रदेश निर्वाचन कार्यालय घोराहीका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।
सल्यानमा उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रलोपाबाट उम्मेदवार बनेका शारदा–३ निवासी सन्तोषकुमार राई र आम जनता पार्टीका मानसिंगे कामीले शुक्रबार मुख्य निर्वाचन कार्यालय गएर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । उम्मेदवारी फिर्ता लिएका प्रलोपाका राईले एमालेका उम्मेदवार गुलाबजंग शाहलाई सघाउने बताएका छन् । उनले विज्ञप्ति सार्वजनिक गर्दै पुरानै पार्टी एमालेमा फर्किएको समेत जानकारी गराएका छन् ।
- रासस













