"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन आयोगले सोध्यो बालेनलाई दोस्रोपटक स्पष्टीकरण

प्रकाशित मिति :  2 February, 2026 4:39 pm


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापा-५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) लाई निर्वाचन आयोगले दोस्रोपटक स्पष्टीकरण सोधेको छ ।

सादा पोसाकका प्रहरीले बालेनलाई भोट माग्दै भन्ने बेहोराको श्रव्यदृश्य सामग्री प्राप्त भएकाले दोस्रोपटक स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । शाहको निर्वाचन प्रचारप्रसारका क्रममा निजकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको सम्बन्धमा के कसो भएको हो ? भनी आयोगले स्पष्टीकरण सोधेको हो । शाहलाई तीन दिनभित्र जवाफ माग गर्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप ९ जनालाई स्पष्टीकरण सोधेको हो । शनिबारसम्म आयोगले २१ स्पष्टीकरण माग गरेकामा आइतबार र सोमबार गरी थप नौ स्पष्टीकरण माग गरेको हो ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाजुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हेमराज थापाले पीएस बानियाँ जेभीले ठेक्का लिएको मार्तडी–कोल्टी सडक निर्माण परियोजनाको विषयलाई जोडी बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई लक्षित गरी मुख्यमन्त्री कार्यालयमा आएर अपमानजनक र धम्कीपूर्ण भाषा प्रयोग गर्नाका साथै सामाजिक सञ्जालमा पोष्टसमेत गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको छ ।

तपाईंले बाग्मती प्रदेशका मुख्यमन्त्री बानियाँका सम्बन्धमा अपमानजनक, धम्कीपूर्ण र अपशब्दयुक्त अभिव्यक्ति दिनुभएको हो वा होइन ? उजुरीमा उल्लेख भए जस्तो आर्थिक स्रोत सङ्कलन गर्दा निर्वाचन आचारसंहिता, २०८२ बमोजिमको व्यवस्थाको पालना गर्नु भएको छ वा छैन ? भनी उम्मेदवार थापालाई स्पष्टीकरण सोधिएको उनले बताए ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा २१ को खण्ड (च), दफा २५ को उपदफा (१) को खण्ड (च) र (ज) बमोजिम बाजुराका उम्मेदवार थापालाई तीन दिनभित्र जवाफ माग गरिएको प्रवक्ता जिसीले बताए । निर्वाचन उम्मेदवार लक्षित भ्रामक अमर्यादित सन्देश प्रकाशन तथा प्रसारण गर्ने विभिन्न व्यक्ति तथा सञ्चारमाध्यमका बारेमा आयोगले प्रेस काउन्सिल नेपाललाई कारबाहीका लागि लेखी पठाएको छ ।

नेपाली कम्युनिस्ट पार्टीले निर्वाचन आचारसंहिताको प्रतिकूल हुनेगरी प्रतिनिधिसभा सदस्य सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं १ को निर्वाचन कार्यालय बाहिर आफ्नो दलको निर्वाचन चिह्न पेन्ट गरेर राखेको भनी स्पष्टीकरण सोधेको छ ।

उजुरीमा उल्लेख भएको बेहोरामा के कसो भएको हो ? यदि आचारसंहिताको उल्लिखित व्यवस्थाको प्रतिकूल हुनेगरी दलको निर्वाचन चिह्न प्रदर्शन गरेको प्रमाणित भएमा त्यस दलको जिल्ला कार्य समितिलाई प्रचलित निर्वाचन कानुनबमोजिम किन कारबाही गर्नु नपर्ने हो ? यही विषयलाई लिएर आयोगले सोही क्षेत्रका उम्मेदवार माधव सापकोटलाई पनि स्पष्टीरण सोधेको छ ।

यसैगरी आयोगले रुद्र गिरी, मङ्गल प्रजा र अशोक टमानीलाई पनि स्पष्टीकरण सोधेको छ । आयोगले अहिलेसम्म सोधेका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भएको प्रवक्ता जिसीले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- निर्वाचन आयोगले समानुपातिकतर्फ ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ

काठमाडौँ — निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधेको छ । आयोगले आइतबार आयोजना गरेको

काठमाडौँ — नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उदयपुर सिमेन्ट कम्पनीको महाप्रबन्धक हुँदा भ्रष्टाचार

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकलाई अहिले सम्हाल्ने शक्ति चाहिएको र त्यो काम कांग्रेसले नै गर्ने बताएका छन्।