"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओली-लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय

प्रकाशित मिति :  9 April, 2026 11:38 am


काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई हाजिर जमानीमा छाड्ने निर्णय भएको छ। सर्वोच्च अदालतको आदेश अनुसार दुवैलाई छाड्ने निर्णय भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनीहरूलाई आज बिहीबार नै छाडिनेछ।

यसका लागि सरकारी वकिल कार्यालय काठमाडौंको सहमति समेत प्राप्त भएको एसपी भट्टराईले बताए। ‘हामी अब उहाँहरूको सबभन्दा नजिकको मानिसको जिम्मामा छाड्छौं,’ उनले भने। प्रहरीले दुवै जनामाथि भदौ २३ को घटनासँग सम्बन्धित ज्यानसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको थियो।

उनीहरूलाई पछिल्लो पटक ५ दिनको म्याद थप गरिएको थियो। उक्त म्याद गएराति सकिएसँगै आज उनीहरूलाई छाड्ने निर्णय भएको हो। चैत २३ गते सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले उनीहरूमाथि फेरि म्याद नथप्न परमादेश जारी गरेको थियो।

ओली र लेखकले सर्वोच्च अदालतमा आफूहरूलाई गैरकानुनी थुनामा राखेको भन्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। उक्त रिट सर्वोच्चले खारेज गरेको थियो। तर परमादेश जारी गर्दै तेस्रो पटक थपिएको हिरासतमा राखेर अनुसन्धान गर्न लिएको म्याद अब फेरि नथप्न भनेको हो।

‘उनीहरूको हकमा चैत २१ देखि लागू हुने गरी तेस्रो पटक ५ दिनको म्याद थप अनुमति गर्ने गरी काठमाडौं जिल्ला अदालतबाट भएको आदेश अनुसारको समय अवधिमा अनुसन्धान कार्य सम्पन्न भई मुद्दा चल्ने वा नचल्ने निर्णय भएमा सोही अनुसार र सो हुन नसकेमा तत्पश्चात अर्थात, तेस्रो पटक थपिएको म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा ओली र रमेश लेखकलाई … प्रक्रिया पूरा गरी हिरासत मुक्त गरी थप अनुसन्धान तहकिकातको कार्य सम्पन्न गरी जे जो गर्नुपर्ने हो गर्नु गराउनु भनी परमादेश जारी गरिएको छ,’ आदेशमा भनिएको थियो।

उक्त आदेश अनुसार अनुसन्धान सकिएको भए सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न समेत भनिएको थियो। तर अनुसन्धान नसकिएकाले अहिलेलाई उनीहरूलाई हाजिर जमानीमा राखिएको हो। प्रहरीले चैत १४ गते बिहान भक्तपुरबाट ओली र लेखकलाई पक्राउ गरेको थियो। उनीहरूविरूद्ध भदौ २३ गते भएको घटनासँग सम्बन्धित छानबिन गर्न भनेको जाँचबुझ आयोगले अनुसन्धान गर्न सिफारिस गरेको थियो।

चैत १३ गतेको प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै दुवै जनालाई हिरासतमा राखेर ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको थियो। अनुसन्धान क्रममा सुरूमा प्रहरीले चैत १५ गते पाँच दिनका लागि म्याद थपेको थियो। चैत १९ गते जिल्ला अदालतबाटै थप दुई दिनको म्याद थपेको थियो।

चैत २२ गते फेरि उनीहरूलाई अदालतमा म्याद थपका लागि प्रस्तुत गरिएको थियो। त्यस बेला अनुसन्धानका लागि थप पाँच दिनको म्याद दिएको हो। यो म्याद चैत २१ देखि लागू हुनेछ। उक्त म्याद चैत २५ गते सकिएको हो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने