सर्वसम्मतिबाटै संसदीय दलको नेता चयन गर्ने कांग्रसको कसरत
काठमाडौं — कांग्रेसले सर्वसम्मतिबाटै संसदीय दलको नेता चयन गर्ने भएको छ । महामन्त्री प्रदीप पौडेलले सोमबार जसरी पनि दलको नेता चयन हुने बताए । त्यसका लागि बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ ।
सर्वसम्मति बनाउने कसरतमा पार्टीका उपसभापतिद्वय विश्वप्रकाश शर्मा, पुष्पा भुषाल, महामन्त्रीद्वय पौडेल र गुरुराज घिमिरे जुटेका छन् । उनीहरूले दिनभर सभापति गगन थापासहित अन्य शीर्ष नेता र आकांक्षीहरुसँग छलफल गरेका थिए ।
संसदीय दलका नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे र मोहन आचार्य मुख्य प्रतिस्पर्धीको चर्चामा थिए । केसी र आङदेम्बे दुवै समानुपातिबाट निर्वाचित सांसद हुन् भने आचार्य रसुवाबाट निर्वाचित सांसद हुन् ।
सभापति गगन थापाले नचाहेपछि केसी प्रतिस्पर्धाबाट पछि हटेका छन् । केसी थापाका ससुरा हुन् । केसीलाई दलको नेता बनाउँदा राजनीतिक रुपमा आफूमाथि प्रश्न उठ्ने भन्दै थापाले प्रत्यक्ष निर्वाचितलाई प्राथमकितामा राखेका छन् । उपसभापति शर्माले भने पार्टीभित्रको बृहत् एकतालाई समेत केन्द्रमा राखेर आङदेम्बेको नाम अघि सार्दै आएका छन् ।
केन्द्रीय कार्यसम्पादन समिति बैठक भोलि बस्ने भएको छ । भोलि बिहान ११ बजे बस्ने बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम रहेको सहमहामन्त्री एवं निर्वाचन समिति संयोजक प्रकाश रसाइली ‘स्नेही’ले जानकारी दिए ।













