"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देशका मुद्दा छाडेर घरझगडामा अल्झिन मिल्दैन : कांग्रेस सभापति थापा

प्रकाशित मिति :  17 May, 2026 10:28 pm


काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको विवादभन्दा अहिले देशका मुद्दा महत्वपूर्ण रहेको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले देशका मुद्दा छाडेर घरझगडामा अल्झिन नमिल्ने बताएका हुन्।

‘मैले आज बीपी कोइरालाले लगाउनुभएको जुत्तामा खुट्टा हालेको छु। यो जुत्ता सबैभन्दा महँगो, बलियो, भरपर्दो हो,’ सभापति थापाले भने,‘यो जुत्तामा खुट्टा हालेको कांग्रेसको सभापतिले देशको समस्याको चिन्तन गर्ने कि घर झगडाको?’

उनले कांग्रेसभित्र लामो संघर्षबाट आएका नेताहरूको योगदान लोकतन्त्र र नागरिक अधिकारका लागि भएको बताए। लोकतन्त्रमार्फत नागरिकको स्वतन्त्रता, आत्मसम्मान र सहभागिताको सुनिश्चितता गर्दै जनजीवनमा परिवर्तन ल्याउने उद्देश्यले संघर्ष गरिएको उनको भनाइ थियो।

थापाले पार्टीलाई मुल राजनीतिक मुद्दामा स्पष्ट र बलियो बनाउन आन्तरिक छलफल आवश्यक रहेको बताए। विशेष महाधिवेशनको प्रसंग उठाउँदै उनले कांग्रेस केवल संगठनभित्र सीमित नभई लाखौं समर्थक र शुभेच्छुकको भावना बोकेको दल भएको टिप्पणी गरे।

‘मैले विशेष महाधिवेशन गर्नुपर्छ भन्दैगर्दा मेरो तर्क त्यही थियो, को हो नेपाली कांग्रेस? कांग्रेस भनेर हामी संगठनको संरचनाभित्र बसेको मान्छे मात्रै हौं भन्न पाउँछौँ ?,’ उनले प्रश्न गरे।

उनले यसपटक कांग्रेसले करिब १० लाख शुभेच्छुक तथा समर्थकको मत गुमाएको दाबी गर्दै उनीहरूको विश्वास पुनः जित्न आफू लागिरहेको बताए। ‘त्यो १० लाख शुभेच्छुक/समर्थकको बीचमा म पुग्न चाहन्छु। म उनलाई भरोसा दिलाउन चाहन्छु पार्टी सभापतिका रूपमा। जे कारणले कांग्रेस हुनुभएको हो म त्यही फिर्ता गर्न चाहन्छु।’

सभापति थापाले पार्टीलाई एकताबद्ध बनाउन आफूले निरन्तर पहल गरिरहेको पनि बताए। सार्वजनिक मञ्चदेखि नेताहरूको घरसम्म पुगेर संवाद गरिरहेको बताउँदै उनले आफूले सबै पक्षलाई सँगै लिएर जान चाहेको बताए।

‘पार्टीलाई मिलाउने मिलाउने मिलाउने भन्दैगर्दा मैले खुला मञ्चबाट सबैलाई सँगसँगै लिएर जाने भनेर भनिरहेको छु भने बन्द कोठामा पनि यही कुरा भनेँ होला, अझ योभन्दा बढी निहुरिएर भने होला,’ उनले भने,‘हातै जोडेर भनेँ, मेरा अग्रज नेताहरूलाई। अघि यहाँ कुरा भयो अरे, मिलाउन प्रयास नै भएन। मलाई भनिदिनुस्- के गर्‍यो भने प्रयास हुने हो, अहिले के गर्नुपर्ने हो? दुइटा पार्टी त छैन!’

उनले विशेष महाधिवेशनमा सहभागी भए वा नभएको आधारमा कसैलाई अवसरबाट वञ्चित नगरिने पनि बताए। प्रदेश सरकार, संसदीय दल, स्थानीय तह वा भ्रातृ संस्थासम्बन्धी निर्णयमा यस्तो आधार नबनाइने उनको भनाइ थियो।

‘विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा प्रादेशिक सरकार, संसदीय दल, स्थानीय सरकार वा भ्रातृ संस्थाका बारेमा एउटा पनि निर्णय हुँदैन,’ उनले भने।

क्रियाशील सदस्यता अद्यावधिक अभियानबारे बोल्दै थापाले कांग्रेस सदस्यलाई निरन्तरता दिन आह्वान गर्नु कुनै विवादको विषय नभएको बताए। युवालाई पार्टीमा आकर्षित गर्नुपर्नेमा जोड दिँदै उनले नयाँ विधानअनुसार ३० वर्षमुनिका प्रतिनिधित्वलाई प्राथमिकता दिइएको जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ। प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले बिहीबार शिष्टाचार भेट गरेका छन्। दुवै जनाबीच सिंहदरबारस्थित परराष्ट्रमन्त्रीको