रास्वपाको प्रथम महाधिवेशन चितवनमा उद्घाटन
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन सुरु भएको छ। भरतपुरको ‘गेष्टहाउस’ चौरमा पार्टी सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरे।
यस अवसरमा उनीहरुसँग मञ्चमा रहेका नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतका अतिथिहरुले पनि एकै साथ घन्टी बजाएका थिए।
यसैगरी उद्घाटन कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई पनि सहभागी भएका छन्। मंगलबारसम्म चल्ने महाधिवेशनले रास्वपाको नयाँ नेतृत्व चयन गर्नेछ।













