"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जुन महिनामा ९१ हजार ३६३ पर्यटक आगमन

प्रकाशित मिति :  2 July, 2026 6:58 pm


काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जुनमा हवाईमार्गबाट आउने पर्यटक गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि देखिएको हो ।

गत वर्षको यसै महिनामा ७६ हजार ४२५ जनाले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी कोभिड–१९ महामारीअघि सर्वाधिक पर्यटन गतिविधि रहेको वर्ष सन् २०१९ को जुन महिनामा ७४ हजार ८८३ आगमन भएको थियो । त्यसको आधारमा पनि यस वर्षको जुन महिनामा २२.०१ प्रतिशतले पर्यटक संख्या वृद्धि भएको हो ।

जुन महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै दक्षिण एसियाली (सार्क) मुलुकबाट ४८ हजार २५४ जना आएका छन् । जुन कुल आगमनको ५२.८ प्रतिशत हिस्सा हो । मुख्य स्रोत बजारमध्ये भारतबाट मात्रै ४१ हजार ८०९ जना पर्यटक आएका छन् । अन्य एसियाली मुलुकबाट १६ हजार १५२ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १७.६८ प्रतिशत हो । जसमा चीनबाट ९ हजार ९९५ पर्यटक आगमन भएको छ भने जापानबाट ९२५, दक्षिण कोरियाबाट ९१४ तथा थाइल्यान्डबाट ५१४ पर्यटक नेपाल आएका छन् ।

युरोपबाट कुल ६ हजार ९५४ नेपाल भ्रमणमा आएका छन् । युरोपेली मुलुकमध्ये बेलायतबाट २ हजार ५ सय, जर्मनीबाट ५५७ र फ्रान्सबाट ५०२ पर्यटक आएका छन् । अमेरिकाबाट ११ हजार ८३६ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १२.९५ प्रतिशत हो । यस अवधिमा क्यानडाबाट १ हजार ११ र ब्राजिलबाट १०४ पर्यटक आएका छन् ।

त्यस्तै, ओसियानिया क्षेत्रबाट ३ हजार ९० जना पर्यटक नेपाल आएका छन् । यो संख्या गत वर्षको तुलनामा ५६.३५ प्रतिशत र सन् २०१९ को तुलनामा ५७.१७ प्रतिशतले बढी हो । यस क्षेत्रमा अष्ट्रेलियाबाट २ हजार ८९६ तथा न्यूजिल्यान्डबाट १९४ पर्यटक आएका छन् । अफ्रिकाबाट २९२ र मध्यपूर्वबाट ६७४ पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सन्तोष विक्रम थापाका अनुसार पछिल्ला महिनाहरूमा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार, पर्यटन प्रवद्र्धन अभियान, प्रमुख स्रोत बजारमा गरिएको प्रचारप्रसार तथा नेपालको सुरक्षित र आकर्षक गन्तव्यको छविका कारण पर्यटक आगमनमा निरन्तर सुधार देखिएको हो ।

बोर्डले आगामी पर्यटन सिजनलाई लक्षित गर्दै भारत, चीन, अमेरिका, युरोप तथा अन्य प्रमुख स्रोत बजारमा थप प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गरेका छन्। चीनको ग्वाङझाउ सहरमा शनिबारबाट सुरु भएको

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाएर अघि बढ्ने बताएका छन्। मंगलबार मन्त्रालयमा २०

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा