इम्बोस्ड नम्बर राख्नुपर्ने सरकारको निर्णय जबर्जस्ती नगर्न गगनको आग्रह
कांग्रेस सांसद गगन थापाले अनिवार्य इम्बोस्ड नम्बर राख्नुपर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुखसँग विशेष समय लिएर बोल्दै उनले इम्बोस्ड नम्बर प्लेट राख्ने सरकारको निर्णयप्रति असन्तुष्टि पोखे ।
थापाको भनाइ थियो, ‘यसको तत्काल पुनरावलोकन होस्, यसलाई सस्तो बनाइयोस् । सबैभन्दा ठूलो कुरा नागरिकलाई सास्ती दिने काम नगरियोस् । यसलाई सजिलो बनाइयोस् । पूर्वाधार तयार गरियोस्, जनशक्ति थपियोस् । नागरिक, जसले सरकारलाई मद्दत गनुपर्नेछ, उसलाई उल्टै डण्डा देखाएर ‘तिमीले एक महिनाभित्र गर’ भन्ने कुरा असम्भव छ । सरकारलाई अनुरोध छ– जबर्जस्तीलाई बन्द गरियोस् ।’
दण्ड–जरिवाना देखाएर नागरिकलाई सरकारले तर्साउने काम गरेको भन्दै थापाले आपत्ति जनाएका थिए । ‘बंगलादेश र अमेरिकाको ज्वाइन्ट भेन्चर कम्पनीले यो ठेक्का लियो ।
ठेक्कामा भनिएअनुसार अबको १६ महिनामा बाँकी रहेको सवारीसाधनमा प्लेट जडान गर्ने काम टुंग्याइनुपर्छ, नभए सरकारले आर्थिक दायित्व व्यहोर्नुपर्छ,’ बैठकमा थापाले भने, ‘सरकारले भनेको समयमा भनेको काम गर्न नसक्दा आर्थिक दायित्व व्यहोर्नुपर्छ भने कमीकमजोरी जसले गर्यो, त्यसले सजाय प्राप्त गर्ने हो कि यसको दुःख नागरिकले पाउने हो ? अबको १५ महिनामा २५ लाख सवारीसाधनमा जोड्ने भनिन्छ । दिनको पाँच हजार पाँच सयमा जोड्नुपर्छ । कसरी सम्भव छ ?’













