"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको भन्दै भण्डाफोर गर्ने एमालेको निर्णय

प्रकाशित मिति :  ३१ जेष्ठ २०७९, मंगलवार १०:११


काठमाडौँ । प्रमुख विपक्षी दल एमालेले सरकारले सन्तुलित परराष्ट्रनीति खलबल्याएर देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्न खोजेको निष्कर्ष निकाल्दै सरकारको कामको भण्डाफोर गर्ने निर्णय गरेको छ । छिमेकी मुलुक भारत र चीनलाई चिढ्याउँदै नेपाललाई अमेरिकातिर ढल्काउन खोजेको दाबी गर्दै एमालेले सरकारको कदमको विरोध र आलोचना गर्ने निर्णय गरेको हो ।

वर्तमान सरकारले हाम्रा बाह्य सम्बन्धमा जुन ढंगको विचलन ल्याइरहेको छ, जसरी हाम्रो स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति खलबलिँदै छ, सरकारका कामबाट जसरी नेपाललाई नजानिँदो गरी भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम भइरहेको छ, त्यसप्रति बैठकले गहिरो चिन्ता व्यक्त गरेको छ

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले देशलाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने क्रियाकलापप्रति गहिरो चिन्ता व्यक्त गरेको छ ।

‘वर्तमान सरकारले हाम्रा बाह्य सम्बन्धमा जुन ढंगको विचलन ल्याइरहेको छ, जसरी हाम्रो स्वतन्त्र र सन्तुलित परराष्ट्रनीति खलबलिँदै छ, वर्तमान सरकारका कामबाट जसरी नेपाललाई नजानिँदो गरी भूराजनीतिक द्वन्द्वतिर धकेल्ने काम भइरहेको छ, त्यसप्रति बैठकले गहिरो चिन्ता व्यक्त गरेको छ,’ बैठकका निर्णयबारे उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘आवश्यकताअनुसार आलोचना, विरोध र भण्डाफोर गर्ने तथा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनतामाथि आँच आउने कुनै पनि गतिविधि हुन नदिनका निम्ति बलियो राष्ट्रिय पहरेदारका रूपमा पार्टीको भूमिकालाई अझ बढी प्रभावकारी बनाउने निष्कर्ष निकालेका छौँ ।’

यसअघि प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै पार्टीका तर्फबाट उपमहासचिव ज्ञवालीले भूराजनीतिक द्वन्द्वमा धकेल्न खोज्ने सरकारको काम र आसन्न अमेरिका भ्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका थिए ।

सोमबारको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पनि एमाले, एकीकृत समाजवादीका नेताहरूले प्रधानमन्त्रीले ती सबै विषय प्रस्ट्याउनुपर्ने माग राखेका थिए । ज्ञवालीले प्रतिनिधिसभा र सम्बन्धित समितिहरूमा भएको छलफलका विभिन्न आयाममा केन्द्रित रहेर बैठकमा छलफल भएको जानकारी पनि दिए ।

अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्रीलाई संसदीय समितिको बोलावट
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अमेरिका भ्रमणबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवालाई बोलाउने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री देउवालाई भ्रमणबारे जानकारी लिन ५ असारमा समितिमा बोलाउने निर्णय भएको समितिका सभापति पवित्रा निरौला खरेलले बताइन् ।

त्यस्तै, बैठकले नेपालको परराष्ट्र नीतिबारे छलफलका लागि ३ असारमा परराष्ट्रमन्त्री डा। नारायण खड्कालाई पनि बोलाउने निर्णय गरेको छ । समितिको सोमबारको बैठकमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, नेता भीम रावललगायतका सांसदले प्रधानमन्त्रीको आसन्न भ्रमणले नेपालको परराष्ट्र नीतिमाथि नै आशंका गर्नुपर्ने अवस्था उत्पन्न भएको भन्दै प्रधानमन्त्रीले उपस्थित भएर प्रस्ट्याउनुपर्ने माग गरेका थिए । आइतबार संसद्मा बोल्दै एमाले सांसदहरूले यसबारे सरकारको धारणा दिन प्रधानमन्त्रीसँग माग गरेका थिए ।

प्रधानमन्त्री देउवा असार अन्तिम साता अमेरिका भ्रमणमा जाँदै छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्न लागेको एक कार्यक्रममा निम्ता पाएका उनको भ्रमणलाई औपचारिकता दिन कूटनीतिक तवरमा प्रयास भइरहेको छ । प्रधानमन्त्री देउवाभन्दा अघि १३ असारमा प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका जाँदै छन् । उनले अमेरिकी रक्षा मन्त्रालयका अधिकारीहरूसँग पनि भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री देउवाको भ्रमण परराष्ट्र मन्त्रालयले अझै सार्वजनिक गरिसकेको छैन ।

  • नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत

काठमाडौँ – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ। कार्यतालिका स्वीकृत भएको जानकारी बुधबार

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आज साँझ सार्वजनिक गर्ने तयारी रहेको बताएका छन्। बुधबार काठमाडौंको मूलपानीमा