"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सम्पत्ति विवरण सार्वजनिकबारे राजनीतिक दल र आयोगको सुस्तता किन ?

प्रकाशित मिति :  22 June, 2022 1:41 pm


काठमाडौँ  । महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी र सदस्यले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने राजनीतिक दलसम्बन्धी ऐन कार्यान्वयनमा निर्वाचन आयोगले प्रभावकारी भूमिका निर्वाह गर्न सकेको छैन । 

दलको महाधिवेशन भएको दुई महिनाभित्र केन्द्रीय समितिका पदाधिकारी र सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था ऐनमा छ । साथै, उक्त विषय पालना नभए निर्वाचन आयोगले सजाय गर्नसक्ने ऐनले स्पष्ट उल्लेख गरेको छ तर नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी तथा अन्य केही साना दलले गत मङ्सिर र पुसमा महाधिवेशन गरेकोमा कुनैले पनि ऐनबमोजिम हालसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । 

जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाललगायतका केही दलले भने लामो समयसम्म महाधिवेशन नै गर्नसकेका छैनन् । ऐनको दफा ५३ (१) र (२) मा रहेको प्रावधान पालना नभएकोबारे गोरखापत्रले यसअघि जेठ २५ गते यससम्बन्धी समाचार प्रकाशन गरेको थियो ।

त्यसमा निर्वाचन आयोगको धारणा लिँदा उक्त कार्य आयोगको अधिकार क्षेत्रमा नै नपरेको आयोगका प्रवक्ता र उपन्यायाधिवक्ताले बताउनुभएको थियो । उक्त कार्य नगर्ने दलहरूलाई जरिवाना गराउने व्यवस्थाबारे आयोगले अनभिज्ञता प्रकट गरेको थियो । ऐनको दफा ५४ को ७ (ग) मा रहेको सजायसम्बन्धी व्यवस्थाबमोजिम सम्पत्ति विवरण पेस नगर्ने व्यक्तिलाई आयोगले १० हजार रुपियाँसम्म जरिवाना गराउन सक्नेछ ।

आयोग नै सक्रिय हुनुपर्छ

ऐनको त्यस्तो प्रावधान कार्यान्वयन गराउन आयोग नै सक्रिय हुनुपर्ने सुझाव पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती दिनुभयो । उहाँले भन्न्ुभयो, “आयोग आफैँले छिट्टै विवरण माग्नुपर्ने, नबुझाएकाको खण्डमा आवश्यक कारबाही के गर्ने सम्बन्धमा सक्रियतासाथ निर्णय गर्नुपर्ने हुन्छ ।” 

अहिले भने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ऐनको उक्त दफा पालना नगर्ने व्यक्तिलाई आयोगले सजाय गर्नसक्ने कानुनी व्यवस्था रहेको भन्दै कानुन कार्यान्वयनका लागि आयोग तत्पर रहेको र आगामी दिनमा उपयुक्त निर्णय गर्ने बताउनुभयो ।

आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले भने विगतमा सम्पत्ति विवरण पेस गर्न राजनीतिक दलहरूलाई ध्यानाकर्षण गराइएको बताउँदै आगामी दिनमा आयोगले ताकेता गर्नसक्ने जानकारी दिनुभयो तर पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेतीले विवरण सार्वजनिक गर्नुपर्ने विषयमा आयोग नै चनाखो हुनुपर्ने बताउनुभयो ।

राजनीतिक दल र केन्द्रीय समितिका सदस्य तथा पदाधिकारी स्वयं पनि संवेदनशील हुनुपर्ने जिकिर गर्दै उहाँले भन्नुभयो– “आयोगले कार्यान्वयनको पाटो हेरेर आवश्यक कारबाही गर्नुपर्यो तर दल र व्यक्तिसमेत जिम्मेवार हुनुप-यो ।”

  • गोरखापत्रबाट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने