"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एकीकृत समाजवादी : मन्त्री हेरफेरमा किचलो र नैतिक संकट

प्रकाशित मिति :  १२ असार २०७९, आईतवार ११:२१


काठमाडौँ । मन्त्री हेरफेर गर्ने निर्णय पार्टीका केन्द्रीय तहका सबै कमिटीबाट अनुमोदन भएपछि एकीकृत समाजवादीका मन्त्रीमाथि दबाब बढेको छ । सचिवालयको निर्णय स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि पद छाड्न नमानेका मन्त्रीलाई नैतिक संकट परेको हो । 

केन्द्रीय कमिटी बैठकपछि शनिबार प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टीसँग बार्गेनिङ गर्ने छुट मन्त्रीहरूलाई नरहेको बताएका छन् । बैठकमा पनि निर्णय कार्यान्वयनमा आनाकानी गरेको भन्दै मन्त्रीहरूको आलोचना भएको थियो तर चारै जना मन्त्री केन्द्रीय कमिटी बैठकमा गएनन् ।

मन्त्रीहरूले सके आफ्नै निरन्तरता, नभए पनि पार्टीले सिफारिस गरेकालाई रोक्न उनीहरूले एकपछि अर्को सर्त तेर्स्याएका थिए । सोहीअनुसार शुक्रबार बिहान चार मन्त्रीसहित १० सांसदले पार्टीमा आठबुँदे ध्यानाकर्षण पत्र दर्ता गराउँदै हेरफेरको निर्णय पुनर्विचार गर्नुपर्ने माग राखेका थिए । हस्ताक्षर गर्नेमा मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठसहित सांसद कृष्णलाल महर्जन, गोपालबहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र नीरादेवी जैरु थिए ।

तर, पार्टी कमिटीमा छलफल हुनुपूर्व नै ध्यानाकर्षण पत्र मिडियामा सार्वजनिक भएको भन्दै मन्त्री आलेसहित सांसदहरू महर्जन, बम, बुढाथोकी, कायस्थ र बुढाले शनिबार हस्ताक्षर फिर्ता लिएका छन् । ‘आठबुँदे पत्र अध्यक्षको हातमा बुझाउने कुरा भएको थियो, उहाँ (अध्यक्ष) लाई बुझाउनुअघि नै साथीहरूले मिडियामा दिएछन्, मैले पत्र बनाउने बेला नै भनेको थिएँ, पार्टी कमिटीमा छलफल हुनुअघि मिडियामा सार्वजनिक गर्ने भए सहमत छैन है भनेर,’ हस्ताक्षर फिर्ता लिने सांसद महर्जनले कान्तिपुरसँग भने, ‘पार्टी प्रक्रियाअनुसार अघि बढेको भए कमिटीमा छलफल हुन्थ्यो । आवश्यकताअनुसार नाममा पुनर्विचार पनि हुन्थ्यो होला तर मिडियाबाट छताछुल्ल भएपछि त्यसको अर्थ भएन । त्यसकारण हामी ६ जनाले हस्ताक्षर फिर्ता लियौं ।’

पर्यटनमन्त्री आलेले शुक्रबारको पोलिटब्युरो बैठकमै ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका थिए । हस्ताक्षर गर्ने मन्त्रीहरू खतिवडा, झाँक्री, श्रेष्ठ र जैरुले भने हस्ताक्षर फिर्ता लिएका छैनन् तर पार्टी नेतृत्व कठोर बन्दै गएपछि उनीहरूले पनि छिट्टै राजीनामा दिने आश्वासन दिएका छन् । सांसद महर्जनका अनुसार अब सचिवालयले प्रस्ताव गरेको नामअनुसार नै मन्त्रीहरूको शपथ हुनेछ ।

हस्ताक्षर फिर्ता नलिएका मन्त्रीले अध्यक्ष नेपाललाई फोन गरेर आफूहरू राजीनामा दिन तयार भएको जानकारी दिएका छन् । ‘शनिबारको केन्द्रीय कमिटी बैठकको समापन गर्ने बेला अध्यक्ष कमरेडले ६ जनाले हस्ताक्षर फिर्ता लिनुभयो, उहाँहरूलाई धन्यवाद । बाँकीले पनि राजीनामा दिन्छौं भनेर केही बेरअघि मलाई खबर गर्नुभएको छ, आशा गरौं उहाँहरूको चाँडै राजीनामा आउँछ भनेर उहाँले (अध्यक्ष) भन्नुभएको छ,’ महर्जनले भने ।

मन्त्री झाँक्रीले भने राष्ट्रिय सभाबाट बजेट पारित भएपछि फिर्ता हुने दाबी गरिन् । ‘हामीले पार्टी निर्णय नमान्ने कुरा हुँदैन तर जुन तरिकाले निर्णय भयो, त्यो गलत भयो, हाम्रो जानकारीबिनै निर्णय सार्वजनिक भएपछि जेठ २२ मा अध्यक्षलाई भेटेर बजेट पारित भएपछि फिर्ता हुन्छौं भनेका थियौं,’ सहरी विकासमन्त्री झाँक्रीले कान्तिपुरसँग भनिन्, ‘अहिले प्रतिनिधिसभाबाट बजेट पास भए पनि राष्ट्रिय सभामा छलफलकै क्रममा छ । त्यसमा उठेका प्रश्नको जवाफ दिएर फिर्ता हुन्छौं ।’

अर्कोतर्फ पटक–पटक ताकेता गर्दा पनि पार्टीले सिफारिस गरेका मन्त्रीहरूलाई नियुक्त गर्न र शपथका लागि प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले भूमिका नखेलेकामा एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ । केन्द्रीय कमिटी बैठकले पार्टीले सिफारिस गरेकाहरूलाई तत्काल शपथग्रहण गराउन प्रधानमन्त्री देउवालाई आग्रह गरेको छ । निर्णय कार्यान्वयनमा भएको ढिलाइलाई आफूहरूले अपमानका रूपमा बुझ्ने र अब प्रधानमन्त्री देउवा तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पर्खिन नसकिने एकीकृत समाजवादीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । सो प्रतिवेदन प्रतिनिधि सभाले आफ्नो

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत