"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस बैठकमा गगन-विश्वप्रकाशको आलोचना

प्रकाशित मिति :  ३० असार २०७९, बिहीबार १३:४६


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना भएको छ।

गत मंसिरमा भएको १४ औं महाधिवेशनमा गगन-विश्वप्रकाश महामन्त्री जितेका थिए। उनीहरूले सभापति शेरबहादुर देउवाइतर समूहबाट महामन्त्री जितेका थिए।

देउवा समूहबाट प्रकाशरण महत र प्रदीप पौडेल महामन्त्री उम्मेदवार थिए, पराजित भए।

महाधिवेशनपछि पटकपटक केन्द्रीय समिति बैठक बसेको थियो तर यसअघि महामन्त्रीद्वय गगन र विश्वप्रकाशको आलोचना भएको थिएन।

सभापति देउवा समूहका केन्द्रीय सदस्यले यसपालिको केन्द्रीय समिति बैठकमा भने महामन्त्रीद्वय गगन र विश्वप्रकाशको आलोचना गरेका छन्।

कांग्रेस केन्द्रीय समितिमा दुई धार प्रष्ट देखा परेको छ। गत सोमबार नेता शेखर कोइरालाले १२ बुँदेमा आफ्ना कुरा राख्दै सभापति र प्रधानमन्त्री दुवैमा देउवा ‘असफल’ भएको बताएका थिए।

त्यसपछि बोलेका केन्द्रीय सदस्यहरू कोइरालाको बचाऊ र विरोधमै समय खर्चिरहेका छन्।

बुधबारको केन्द्रीय समितिमा भने शेरबहादुर र शेखरलाई छाडेर केन्द्रीय सदस्यहरूले गगन र विश्वप्रकाशको आलोचना गरे।

महामन्त्रीद्वय गगन र विश्वप्रकाश संस्थागत निर्णयबाट भन्दा पनि एकलौटी ढंगबाट चल्ने गरेको आरोप लागेको छ।

नेविसंघका पूर्वअध्यक्ष राजिव ढुंगानाले महामन्त्रीद्वय गगन र विश्वप्रकाश निर्वाचन आयोग गएको विषय उठाएका थिए।

‘विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि भन्दै महामन्त्रीहरू निर्वाचन आयोग जानुभएको थियो। तर त्यससम्बन्धी प्रस्ताव यहाँ आएन। पार्टीमा छलफलविनै किन यसरी अघि बढिन्छ?,’ ढुंगानाको प्रश्न थियो।

महामन्त्रीद्वयले गत असार ७ मा निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग प्रवासी नेपालीको मताधिकारको कानूनी व्यवस्थाबारे छलफल गरेका थिए। यो विषयमा पार्टीमा छलफल र निर्णयविनै महामन्त्रीद्वय आयोगमा पुगेको भन्दै ढुंगानाले आलोचना गरेका थिए।

‘महामन्त्रीहरू एउटा विषय लिएर निर्वाचन आयोग जाने, अरू पदाधिकारी अर्को विषय लिएर अन्यत्र जाने, यसरी हुँदैन। पार्टीमा छलफल भएर संस्थागत निर्णयअनुसार जानुपर्दछ,’ ढुंगानाले भने।

तर एक पदाधिकारीका अनुसार सर्वोच्चले प्रवासी नेपालीका लागि कानून बनाएर मताधिकारको व्यवस्था गर्न सरकारलाई भनेलगत्तै बसेको कांग्रेस केन्द्रीय समिति बैठकले यसबारे पहल गर्ने निर्णय गरेको थियो।

‘विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्थाका लागि पहल गर्ने कांग्रेसले पहिल्यै निर्णय गरिसकेको विषय हो, यसबारे प्रत्येक केन्द्रीय समिति बैठकमा निर्णय गरिराख्न पर्दैन,’ ती पदाधिकारीले ढुंगानाका प्रश्नमाथि जवाफ दिए।

अर्का केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले महामन्त्री गुट बैठकमा रमाएकोमा आलोचना गरेका थिए। महामन्त्री गगन नेता शेखर पक्षको गुट भेलामा सहभागी हुने गर्छन्। गगनले शेखर पक्षबाटै महामन्त्री जितेका थिए।

‘महामन्त्रीहरूको भूमिका चित्तबुझ्दै हुँदै भएन। कुनै महामन्त्री गुट भेलामा जानुहुन्छ कुनै के गर्नुहुन्छ,’ उनले भने, ‘यस्तै हो भने हामी दुवै महामन्त्रीलाई बहिष्कार गर्छौं।’ उनले होटलहरूमा हुने गुट भेलामा नजान महामन्त्रीहरूलाई आग्रह गरेका थिए।

महामन्त्रीहरू तथा नेताहरू गुट बैठकमा लाग्दा तलका कार्यकर्ता पनि भिन्नभिन्न समूहमा लाग्ने र एकढिक्का भएर चुनाव लगायतमा होमिन गाह्रो भइरहेको बुढाथोकीको भनाइ थियो।

‘पार्टीलाई एकढिक्का बनाएर लैजाने काममा महामन्त्रीहरूले साथ दिनुपर्दछ। भूमिका खेल्नुपर्दछ। पहल गर्नुपर्दछ,’ उनले भने।

उनले महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय चुनावमा झापामा टिकट खोसिदिएको गुनासो पनि गरेका थिए। ‘उहाँ हाम्रो हिरो हो तर चुनावमा टिकट खोसिदिनुभयो,’ उनले भने, ‘झापा कांग्रेस मिलाउनुपर्दछ, त्यहाँ पार्टीमा द्वन्द्व छ।’

प्रदेश नम्बर १ ले झापाको मेचीनगरको मेयरका लागि केशवराज पाण्डेलाई टिकट दिएको थियो। यो महामन्त्री विश्वप्रकाशको गृह नगर हो। पाण्डेले पाएको टिकट केन्द्रीय संसदीय बोर्डले खोसेर शर्मानिकट इन्द्रबहादुर बुढाथोकीलाई दिएको थियो। यहाँ मेयर भने नेकपा एमालेका गोपालचन्द्र बुढाथोकीले जितेका थिए।

बुढाथोकी कांग्रेसको मेयरका लागि आधिकारिक उम्मेदवार भएको पत्र सभापति शेरबहादुर देउवाले नै पठाएका थिए। शर्माको दबाबका कारण सभापतिले पत्र पठाएको भन्दै आलोचना भएको हो।

यस्तै महामन्त्रीद्वय पार्टीका समस्या समाधानतर्फ भूमिका खेल्नभन्दा पनि ‘सस्तो लोकप्रियताका लागि फेसबुक, ट्वीटरमा लेखेर रमाएको’ भन्दै आलोचना पनि भएको छ।

केन्द्रीय सदस्य रमेश रिजालले महामन्त्रीद्वय फेसबुक, ट्वीटर र सञ्चार माध्यमहरूमा रमाएको आरोप लगाएका थिए।

‘उहाँहरू संगठनका काममा व्यस्त हुनुपर्‍यो,’ उनले भने, ‘सस्तो लोकप्रियताका लागि फेसबुक, ट्वीटर र मिडियामा रमाउन भएन।’ महामन्त्रीहरू आत्मकेन्द्रित प्रचारमा लागेको उनले बताएका थिए।

सभापति देउवानिकट केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय गगन र विश्वप्रकाशको आलोचना गरेका हुन्। १४ औं महाधिवेशनपछि प्राय: महामन्त्रीद्वय गगन र विश्वप्रकाश समसामयिक तथा पार्टीका मुद्दाहरूमा ‘एकै स्वर’ दिएर हिँडिरहेका छन्।

उनीहरूले सभापति देउवालाई हालै बालुवाटारमा भेटेर पार्टी विधानअनुसार छ महिनाभित्र गर्नुपर्ने कामहरू गर्न र नीति महाधिवेशन गर्न ध्यानाकर्षण गराएका थिए।

कांग्रेस केन्द्रीय समितिमा बोलेका सभापति देउवानिकट नेताहरूले विधान कार्यान्वयन नभएको, विभाग तथा समिति गठन नभएको लगायतमा खासै बोलेका छैनन्, उनीहरू शेखर, गगन र विश्वप्रकाशको आलोचनामा केन्द्रित रहेको केही केन्द्रीय सदस्य दाबी गर्छन्। उनीहरूले महामन्त्रीद्वय ‘सेलिब्रेटी’ बन्न खोजेकोसमेत आरोप लगाएका छन्।

यस्तै केन्द्रीय सदस्यहरूले शेखर पक्षले होटलमा गुट भेला गर्ने गरेको र त्यसले सन्देश राम्रो नगएको प्रति ध्यानाकर्षण गराएका थिए। गुट भेला गर्न परे पार्टी कार्यालयमै गर्न उनीहरूको सुझाव थियो।

‘शेखर पक्षले अनावश्यक रूपमा गुट भेला गर्दै आएका छन्। होटल र पार्टी प्यालेसमा भेला गरेर कांग्रेस बलियो हुने भए केन्द्रीय समिति बैठक पनि होटलमै गरौं न,’ एक केन्द्रीय सदस्यले व्यंग गर्दै पत्रकारहरूसँग भने।

  • सेतोपाटीबाट प्रशन्न पोखरेलको रिपोर्ट



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ राजदूतको नाम अनुमोदन अनुमोदन गरेको छ। आज बिहीबार बसेको समितिको बैठकले केहीको नाम

काठमाडौँ – सत्ता गठबन्धनले उत्पादन, उपभोग, व्यापार र लगानीका क्षेत्रमा देखा परेको शिथिलता अन्त्य गर्न आवश्यक नीतिगत सुधार गर्ने उल्लेख

काठमाडौँ – नेकपा (एमाले) ले दसौं महाधिवेशनसम्म १० लाख संगठित सदस्य पुर्‍याउने लक्ष्यका साथ वार्षिक कार्ययोजना तय गरेको छ। गत

काठमाडौँ – निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपचुनावको तालिका स्वीकृत गरेको छ। कार्यतालिका स्वीकृत भएको जानकारी बुधबार