प्रतिनिधिसभाको कार्यकालको आधार पहिलो बैठक नै हुने
काठमाडौं । सरकारले निर्वाचनपछिको पहिलो बैठकलाई आधार मानेर प्रतिनिधिसभाको कार्यकाल तोक्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले निर्वाचनपछिको पहिलो बैठकको अघिल्लो दिनसम्म प्रतिनिधिसभाको कार्यकाल मान्ने गरी कानुन संशोधन गर्ने निर्णय भएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द शर्मा बन्दीले बताए ।
मन्त्रिपरिषद्को निर्णयपछि शुक्रबारै कानुन मन्त्रालयले संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गराएको छ । ‘प्रतिनिधिसभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनबाट गणना गर्ने र नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बसेको दिनबाट अघिल्लो प्रतिनिधिसभाको कार्यकाल स्वतः समाप्त हुने व्यवस्था गरिएको छ,’ मन्त्री बन्दीले भने ।
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकअन्तर्गत प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ संशोधन गरेर कार्यकाल उल्लेख गर्न लागिएको हो । ०७२ मा संविधान निर्माणपछि १० र २१ मंसिर ०७४ मा दुई चरणमा प्रतिनिधिसभा निर्वाचन भएको थियो । २१ फागुनमा पहिलो बैठक बसेको थियो ।
यसपालि ४ मंसिरमै निर्वाचन हुँदा प्रस्तावित कानुनअनुसार मंसिर मसान्तसम्म निर्वाचित भएर पहिलो बैठक बसेमा त्यसअगाडिसम्म कार्यकाल कायम हुनेछ । त्यस्तै, सरकारले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ पनि संशोधन गरेर पहिलो बैठकलाई नै कार्यकालको आधार तय गर्न लागेको छ ।













