"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौंमा कांग्रेसलाई १० मध्ये ७ क्षेत्रमा टिकट सुनिश्चितता

प्रकाशित मिति :  27 September, 2022 1:04 pm


काठमाडौं ।  काठमाडौंका १० प्रतिनिधि सभा क्षेत्रमध्ये नेपाली कांग्रेसले सात वटा क्षेत्रमा उम्मेदवारी दिने लगभग टुंगो भएको छ।  सत्ता गठबन्धनका दलहरूबीच काठमाडौंका क्षेत्र नम्बर १, ३, ४, ५, ६, ९ र १० मा कांग्रेसले उम्मेदवारी दिने गरी सहमति भएको छ।  

२०७४ को चुनावमा कांग्रेसले काठमाडौंका क्षेत्र नम्बर १, ४, ६, १० क्षेत्र जितेको थियो। यी क्षेत्र यसपालि पनि कांग्रेस आफैंले राखेर सत्ता गठबन्धनसँग तालमेल गर्दै थप ३ क्षेत्रमा उम्मेदवारी दिने तयारी गरेको हो। कांग्रेसका एक नेताले आफूहरूले ८ वटा क्षेत्रमा दाबी गरेको भए पनि अहिलेसम्म ७ क्षेत्र कांग्रेसलाई दिन अरू दल तयार भएको र थप एक क्षेत्र लिन प्रयास गरिरहेको बताए। 

‘क्षेत्र नम्बर ७ मा पनि हामीले दाबी छाडेको छैनौं,’ उनले भने, ‘प्रदेशको सिट बाँडफाँटसँगै यो क्षेत्र पनि कांग्रेसलाई दिने गरी कुरा मिल्न सक्छ।’ काठमाडौं कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवालाई काठमाडौंमा अरू सत्तारूढ दलको मत कम भएकाले कम्तीमा ८ क्षेत्रमा कांग्रेसले उम्मेदवार बनाउनु पर्ने माग गरेका थिए।  

काठमाडौंका बाँकी ३ क्षेत्रमध्ये  क्षेत्र नम्बर २ नेकपा (माओवादी केन्द्र)ले दाबी गरेको छ। यहाँ पूर्वसभामुख ओनसरी घर्ती  उम्मेदवार हुने माओवादीभित्र चर्चा छ। यस्तै क्षेत्र नम्बर ७ मा कांग्रेस, जसपा र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले दाबी गरेका छन्। भट्टराई गठबन्धनका बैठकमा उपस्थित हुने गरेका छैनन्। भट्टराईको पार्टीले माओवादीकै चुनाव चिन्ह लिने सहमति छ।

काठमाडौं -७ मा भट्टराईकी छोरीसमेत रहेकी समाजवादीकी नेता मानुषी यमी भट्टराईले उम्मेदवारी दिने तयारी गरिरहेकी छन्।यो क्षेत्रमा कांग्रेस र जसपाले दाबी छाडेका छैनन्। जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका राजेन्द्र श्रेष्ठ काठमाडौं-७ मा उठ्ने तयारीमा छन्।

काठमाडौं क्षेत्र नम्बर ८ भने नेकपा (एकीकृत समाजवादी)ले लिने भएको छ। यो क्षेत्रबाट २०७४ मा जीवनराम श्रेष्ठ निर्वाचित भएका थिए। श्रेष्ठ त्यसबेला नेकपा (एमाले) बाट निर्वाचित भएका थिए। पर्यटन मन्त्रीसमेत रहेका उनी माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा छन्।

असोज २३ मा निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका बनाएको छ। सत्ता गठबन्धनले प्रतिनिधि सभाका १६५ र प्रदेश सभाका ३३० क्षेत्रमा पनि फूलपाती अघि नै सिट बाँडफाँट गरिसक्ने बताएका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – पछिल्लो मतगणनीको नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित पक्का गरेको छ । त्यस्तै नेपाली कांग्रेसले २

काठमाडौं – प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा  समानुपातिक तर्फको मतगणनामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले सुरुवाती अग्रता लिएको छ । हालसम्म १९

काठमाडौं – निर्वाचन आयोगले मौन अवधिको समयमा सबैले आचारसंहिता पालना गर्ने विश्वासमा रहेको बताएको छ । गलत कार्य भए आयोग कारबारी

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले यही फागुन २१ गते हुनगइरहेको निर्वाचनमा सक्रिय रूपमा सहभागी भई मतदान गर्न अपिल गरेकी छन्। सोमबार