एमसीसीको पक्षमा भोट हाल्न माओवादी र एकीकृत समाजवादी तयार
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले प्रश्न उठेका विषयमा संसदबाट व्याख्यात्मक घोषणा गरेर अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मत दिने बताएका छन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरुले गरेको गृहकार्यमा शीर्ष नेतृत्व सहमत भए एमसीसी संसदबाट अनुमोदन हुनेछ भने पाँचदलीय गठबन्धन पनि जोगिने छ ।
तर माओवादी केन्द्र र एकीकृत समाजवादीले पार्टीबाट निर्णय गरेर नआए कुनै पनि बेला गठबन्धन टुट्ने र एमालेसँग सहकार्य हुनसक्ने कांग्रेस नेताहरु बताउँछन् ।
एमसीसी अनुमोदनको पक्षमा रहेको कांग्रेसले पछिल्लो समय प्रमुख विपक्षी दल एमालेसँग निरन्तर सम्वाद गरेको छ । शनिबार पनि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की एमाले नेताहरुसँग छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । एमाले नेताहरुसँग सकारात्मक छलफल भएपनि साँझ सत्तारुढ गठबन्धनको बैठक भएकाले कुनै सहमति नभएको एक नेताले बताए ।
एमसीसीकै कारण गठबन्धन टुट्ने र कांग्रेसले एमालेसँग सहमति गर्ने सम्भावना बढेपछि शुक्रबार विहानदेखि माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु गठबन्धन जोगाउने गरी सहमतिको विन्दु खोज्न सक्रिय भएका थिए । उनीहरुले एमसीसी अनुमोदनका लागि आवश्यक वातावरण बनाउन मद्दत गर्ने सन्देश प्रधानमन्त्री देउवालाई पठाएका छन् ।
शुक्रबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूहरुले विरोध गर्दै संसद बैठक बहिस्कार गर्ने र ध्वनि मतका आधारमा एमसीसी अनुमोदन गर्ने प्रस्ताव गरेका थिए । तर देउवा विश्वस्त हुन सकेनन् ।
विकल्पका रुपमा एमसीसीबारे प्रश्न उठेका विषयहरुमा व्याख्यात्मक घोषणा गर्ने र सत्तारुढ दलहरुले मतदान गर्ने प्रस्तावमा पनि छलफल भएको थियो । शनिबार पनि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका दोस्रो तहका नेताहरुले गृहकार्य गरे ।
अन्तर्राष्ट्रिय कानुनका जानकार अधिवक्ता गोविन्द बन्दीको सहयोगमा व्याख्यात्मक घोषणामा केके राख्ने भनेर तयार पारेका छन्, जसबारे शीर्ष नेताहरुलाई ब्रिफिङ भइसकेको छ ।
व्याख्यात्मक घोषणामा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सैन्य रणनीति होइन, नेपाल र अमेरिकाको कानुन बाझिएको अवस्थामा नेपालको कानुन लागू हुन्छ, लेखा परीक्षण नेपालको महालेखा परीक्षकको कार्यालयले गर्छ जस्ता विषय राख्ने छलफलमा सहभागी नेताहरुले बताएका छन् ।
शनिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतको उपस्थितिमा यसबारे छलफल हुनेछ ।
एकीकृत समाजवादीले आइतबार विहान ११ बजे स्थायी कमिटीको बैठक बोलाएको छ । माओवादीले बैठक बोलाउने तयारी गरेको छ । यदि शीर्ष तहमा सहमति जुट्यो र दलगत निर्णय भयो भने व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन हुन्छ र पाँचदलीय गठबन्धन पनि जोगिने नेताहरु बताउँछन् ।