स्मृतीमा : राजनीति-समाज बुझेका विचारक
महाप्रस्थानको स्मृति पुण्यतिथिमा आइपुग्दा राजनीतिक विचारक प्रदीप गिरीलाई फेरि सम्झिने मौका मिल्यो । उनी विचारका मार्फत समाजको भुइँतहमा रहेर आशा जगाउन, दियो बाल्न चाहन्थे । राजनीति र समाजका आयामलाई गहिरो अध्ययन गर्थे । समाजको परिवर्तनलाई आत्मसात् गर्न चाहन्थे । नयाँ पुस्तासँग धेरै सिक्न र सिकाउन चाहन्थे ।
राजनीतिक परिघटनाहरूले समाजमा पार्ने प्रभावका बारेमा चिन्तनशील हुन्थे । समाजलाई चिनेका र समाजले चिनेका व्यक्तिका रूपमा चिनिन्थे गिरी । समाजसँगको अन्तरसम्बन्धमा हुनसक्ने ज्यादै कममध्येका चिन्तनशील राजनीतिज्ञका रूपमा शालीन, सादगी र सरल पहिचानमा निर्विकल्प थिए उनी ।
राजनीतिक दलका मञ्च, सञ्चार क्षेत्रसँगका वैचारिक अन्तरसंवाद, संसदका छलफलहरूमा सधैं गम्भीर भएर प्रस्तुत हुने उनको व्यवहारका कारण पाठकलाई पनि एकाग्र भएर उनका कुरा सुन्ने बानी परेको थियो । पछिल्लो पटक संसदमा बोल्दै प्रदीप गिरीले विनियोजन बजेट अधिवेशनमा गाउँ–शहरको विकासका मोडेलका सन्दर्भमा अत्यन्तै मार्मिक विषयलाई उठान गरेका थिए । उनको विचार विकास मिश्रित मोडेलमा होइन कि मौलिकताको मोडेलमा गर्न अर्थमन्त्रीलाई सुझाएका थिए ।
गाउँलाई गाउँ जस्तै र शहरलाई शहर जस्तै बनाएर विकास गर्नुपर्नेमा अहिले जताततै गाउँ शहरको नीतिले गाउँ र शहरका आ–आफ्नै मौलिक पहिचान, सुविधा र अवसरहरूबाट हामी वञ्चित हुँदैछौं भन्ने गम्भीर विषयलाई उठान गरेका थिए ।
सरकार र राजनीतिक दललाई सधैं लोकतान्त्रिक मूल्यमान्यता, राजनीतिक संस्कार, विधिको शासन, समाजका माग र आवश्यकता साथै समयानुकूल हुन बारम्बार आग्रहपूर्ण खबरदारी गरिरहे । बदलिंदो विश्व व्यवस्था, राजनीतिक, सामाजिक, आर्थिक एवम् कूटनीतिक परिवर्तनका समयानुकूल धारणा राखिरहे ।
राजनीति र शासकीय व्यवस्थाका बारेमा जनतालाई केन्द्रमा राखेर समाजका हरेक व्यक्तिहरूको अधिकार सुनिश्चित हुनुपर्छ भन्ने धारणा उनको समाजप्रतिको गहिरो अध्ययनले सिर्जना गरेको हो । जुन कुरालाई अहिलेको समय र समाजले आत्मसात् गर्दैछ ।
गिरी भारतमा अध्ययनका क्रममा रहँदा भारतीय राजनीतिक परिवर्तन, सामाजिक संरचना, धार्मिक अतिवादी, आर्थिक र कूटनीतिक परिवर्तनलाई नियालेका पात्र हुन् । यी विषयवस्तुमा नेपालसँग तुलनात्मक अध्ययन, विश्लेषण र प्रयोगवादी सिद्धान्तलाई अंगीकार गर्न नेताहरूलाई उनले उत्प्रेरित गरिरहन्थे ।
भारतमा अध्ययन गर्ने बेलादेखि नै नेपालको लोकतान्त्रिक आन्दोलनका नेता तथा कांग्रेसका संस्थापक जननेता बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर, कृष्णप्रसाद भट्टराई लगायत नेताहरूसँगको सम्बन्ध र संगत, अध्ययनप्रतिको एकाग्रताले त्यो समयका धेरै विषयमा सिक्न, बुझ्न पाएका थिए ।
समाजवादको सन्दर्भमा बीपीसँग सवाल–जवाफ गर्न सक्ने मध्येका एक थिए । साँचो अर्थमा गिरी थोरै त्यस्ता पात्रहरूमध्ये एक प्रतिनिधि हुन् जसले बीपी कोइराला र अहिलेका युवा दुवैसँग राजनीतिक संवाद र छलफल गर्ने मौका पायो ।
समाजका आरोह–अवरोह प्रत्यक्ष रूपमा अनुभव गर्दै अध्ययनको फराकिलो दायराले सधैं समृद्ध समाजको परिकल्पना गरिरहे । समाजको रूपरेखाको रूपान्तरण गर्ने माध्यम नै राजनीति हो । र, राजनीतिक व्यवस्थालाई प्रभावकारी र रूपान्तरणकारी हुनुपर्दछ भनेर नै होला उनले सधैं पार्टी पंक्तिदेखि अन्य पार्टीका फोरमहरूमा पनि निर्धक्क सही र गलत प्रवृत्तिको प्रशंसा र विरोध गरेका प्रशस्त प्रसंग छन् ।
कहिले ग्रामीण अर्थतन्त्र त कहिले पर्यावरण, कहिले सीमान्तकृतका मुद्दा त कहिले लैङ्गिक विभेदमा परेकाहरूका मुद्दा, उनले लोकतन्त्र र उदार व्यवस्थाप्रतिको सामाजिक चेतना, जनताका बोली, सीमान्तकृतको पक्षमा राजनीतिक नेता र दललाई गम्भीर भएर सोच्न बाध्य पारे ।
गिरीले गान्धीवादी विचारक, समाजवादी चिन्तक र अध्ययनशील नेताको छवि बनाए । उनले पूर्वीय दर्शनदेखि पश्चिमा दर्शन भाषा, साहित्य र इतिहासको अध्ययन मार्फत आफ्नै समृद्ध सोच बनाए । माक्र्सदेखि लेनिन, हरारीदेखि नेल्सन मण्डेला, गान्धीदेखि बीपी र माओदेखि सी जिनपिङसम्मका राजनीतिक दर्शनका मार्फत पछिल्लो पुस्तालाई सधैं समयानुकूल हुन जोड दिइरहे । त्यसले उनको ज्ञानलाई पछिल्लो पुस्ताले अङ्गीकार गर्न सहज मान्दथ्यो ।
सादगी जीवनशैली, लोकतन्त्र र समाजवादप्रतिको अविरल निष्ठा, अध्ययनप्रतिको लगाव र युवा पुस्तालाई त्यो ज्ञान सञ्चार गर्न रुचाउने उनले सत्ताप्रतिको मोह त्यागेका कारण नै समाजमा झन् निष्ठावान ठहरिए ।
नेपाली कांग्रेस विभिन्न समयमा सत्ताको बागडोर सम्हाल्दै गर्दा उनी पार्टीको महत्वपूर्ण जिम्मेवारी र सरकारमा जान मिल्ने अनेक अवसर भन्दा पर बसे । राजनीतिक संघर्ष, त्यसको सिकाइ, भोगाइ र त्यसमा थप अध्ययन गरेर उनी ज्ञानवान बनेर बुझाइ निर्माण गर्दथे । उनी सादगी जीवन, राजनीतिक अध्ययन र त्यसबाट आफूलाई बोध भएको कुरा नयाँ पुस्तालाई संचार गर्ने कुरामा सदैव लागिरहे । सम्भवतः त्यही कारण उनले सबैले आदर गर्ने नेताको रूपमा आफ्नो जीवन बाँचे । नेपाली राजनीतिक र बौद्धिक जमातलाई एउटा अग्लो चिन्तकका रूपमा गिरीको सदैव अभाव खट्किने नै छ ।
२००४ सालमा जन्मेका गिरीले विभिन्न दशकका राजनीतिक परिवर्तन व्यहोरे । राजसंस्था, पञ्चायत, लोकतान्त्रिक आन्दोलन, बहुदलीय व्यवस्था, लोकतान्त्रिक गणतन्त्रहुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मका राजनीतिक परिघटना र सामाजिक रूपान्तरणका साक्षी बने ।
राजनीतिक र सामाजिक रूपान्तरणका उत्प्रेरक विचारहरू व्यक्त गरेकै कारण उनले चार वर्ष जेलनेल भोगे । उनको अध्ययनले जे देखाएको थियो त्यस्तै समुन्नत समाज प्रक्रिया निर्माण हुँदै गइरहेको थियो । उनको अध्ययनको दायरा र अनुभवसिद्ध विभिन्न चरणका सामाजिक संरचना र तिनले फेरेका काँचुलीका सन्दर्भमा उनी दंग हुन्थे ।
संविधान बहुमत र अल्पमतको दस्तावेज बन्नुहुँदैनथ्यो । सर्वमान्य रूपमा जारी गर्ने उपायहरूका बारेमा छलफल नै नगरी हतारिंदाको परिणाम सुखद भएन भन्ने भनाइमा जीवनको अन्त्यसम्म नै अडिग रहे गिरी । संविधान घोषणा हुँदा कतै उल्लासमय वातावरण त कतै निराशाजनक विरोधले संविधानलाई सर्वमान्य रूपमा आत्मसात् गर्न नसक्दा अहिले पनि त्यो समस्या उस्तै रहेको उनले बारम्बार भनिरहे ।
समाजले माग गरेको दस्तावेज नै संविधान हो भने समाजले अपनत्व गर्न सक्ने संविधानको अपरिहार्यता अन्तरसम्बन्धित हुन्छ । त्यसैले समाजका सबै वर्ग, समुदाय, लिङ्गले अपनत्व गर्न सक्ने संविधान र त्यसको प्रभावकारी कार्यान्वयनमा उनले सधैं जोड दिए ।
राजनीति र समाजलाई अन्योन्याश्रित गरेर व्याख्या गर्ने गिरी प्रायः भाषण, प्रवचन, लेखनमा समेत देश–विदेशका विभिन्न समाज, दर्शन, राजनीति र इतिहास लगायत विविध आयामका सन्दर्भलाई जोडेर व्याख्या गर्दै जाने हुनाले उनको ज्ञानको दायरा निकै रोचक र गम्भीर ढंगको देखिन्थ्यो । विभिन्न भाषा, इतिहासका बारेमा इच्छुक भएर सिक्ने र प्रयोग गर्ने बानी उनको देखिन्थ्यो । मर्यादा र नैतिकताको राजनीतिको वकालत गर्ने व्यक्ति गिरी साँच्चिकै एउटा नैतिक पात्रका रूपमा परिचित भए ।
समाजको माग र आवश्यकता बुझ्ने सधैं क्रान्तिकारी धारका नेता थिए । राजनीतिक दल, नेता तथा कार्यकर्ताहरूमा सधैं खबरदारी र लोकतान्त्रिक मूल्यमान्यता नबिर्सिन चेतावनी दिइरहन्थे । नेपाली कांग्रेसका मात्र नभई अन्य राजनीतिक दलका नीति र सिद्धान्तलाई अध्ययन गरी पार्टीका फरक चरित्रका विषयमा गहन अध्येता थिए ।
राजनीतिक दलका नीति र सिद्धान्तले समाजमा पार्ने प्रभाव र रूपान्तरणका सन्दर्भमा बहस मन्थन गर्थे । दलीय ह्विप र दलतन्त्र होइन, लोकतन्त्र र व्यवस्थालाई सधैं मूल मन्त्रका रूपमा लिए । समाजलाई पढ्न, नियाल्न र सम्बोधन गर्न सधैं अग्रसर देखिए ।
राजनीतिमा भन्दा उनी दर्शन र समाजका सन्दर्भमा धेरै घोत्लिने गर्दथे । उनीसँगका ज्यादै कम र सटिक भेटमा केही जिज्ञासाहरू राख्ने प्रयत्न गर्दथें । तर, प्रायशः उनका प्रारम्भिक जवाफहरू रोचक र ठट्यौली पाराका हुन्थे । समाजको मनोविज्ञान बुझेर नै उनले राजनीतिक पद, सत्तामा बस्न चाहेनन् ।
अहिले समाजमा युवाहरूको बाहुल्य छ, अब युवाले राजनीति, समाज र अर्थव्यवस्थालाई बदल्ने कोसिस गर्नुपर्छ भन्ने आशयका भनाइ लेखका माध्यमबाट धेरै पटक प्रस्तुत गरेका थिए । युवाहरूसँग अन्तरक्रिया गर्न, समयानुकूल समाजलाई बुझ्न चाहन्थे, व्यक्त गर्थे । दलभित्रका मात्र होइन कि दलभन्दा बाहिरका युवाहरूलाई पनि राजनीतिक लय नबिर्सनका लागि पटक–पटक झस्काइरहन्थे । उनले नेतृत्वका बारेमा निर्धक्क, विना पूर्वाग्रह प्रश्न गर्न, सच्चिन र नवीन अभ्यास गर्न आग्रह गरिरहे ।
फराकिलो अध्ययनको दायरामा अडिग गिरी अध्ययनको कुनै सीमामा बाँधिन चाहँदैनथे । ७५ वर्षको उमेरमा पनि उनी अझै सिक्दैछु, सिकाइ अनन्त छ भन्ने हार्दिकता कहिल्यै छोड्दैनथे । राजनीति बाहेक भाषा, संस्कृति, कला, इतिहास, अर्थशास्त्र, धर्मशास्त्र र सभ्यताका अनेक सन्दर्भमा पनि रुचि राख्ने गिरी निरन्तर अध्ययन गर्थे । आफूले अध्ययन गरेका विषयवस्तुलाई विभिन्न माध्यमबाट विचारका रूपमा प्रसारित गरिरहेका धेरै दृष्टान्त छन् ।
गिरी सीमान्तकृत जनजाति, दलित र महिलाले पनि न्याय पाउनुपर्छ भनेर सामाजिक समतामूलक न्यायका लागि माग राख्ने नेता थिए । उनी मधेशका दलित बस्तीमा न्याय र जागरण ल्याउन खटे । पहिचान नपाएर पिल्सिएका मानिसहरूको न्यायका लागि उनले अन्तिम समयसम्म बोले । मधेश र दलितका समस्याहरू क्षेत्रीय र कुनै वर्ग, जातिको मात्र होइन, यी राष्ट्रिय समस्या हुन्, राष्ट्रिय रूपमा नै न्यायोचित समाधान खोज्नैपर्छ भन्ने कुरामा उनी स्पष्ट थिए ।
राजनीतिमा भन्दा उनी दर्शन र समाजका सन्दर्भमा धेरै घोत्लिने गर्दथे । उनीसँगका ज्यादै कम र सटिक भेटमा केही जिज्ञासाहरू राख्ने प्रयत्न गर्दथें । तर, प्रायशः उनका प्रारम्भिक जवाफहरू रोचक र ठट्यौली पाराका हुन्थे । समाजको मनोविज्ञान बुझेर नै उनले राजनीतिक पद, सत्तामा बस्न चाहेनन् ।
विभिन्न अवसर आउँदा समेत उनले बेवास्ता गरेका धेरै उदाहरण छन् । तर, पार्टीले उनको राजनीतिक विचार आवश्यकतालाई कहिल्यै छोड्न चाहेन । उनका विचारलाई पार्टीले महत्वपूर्ण मान्यो । पार्टी कार्यक्रमहरूमा सहभागिता कम र अध्ययनमा धेरै समय व्यतीत गरे पनि पार्टीले उनको चिन्तनशील, वैचारिक गहन अध्ययनलाई सधैं चुम्बकीय शक्तिबाट आकर्षित गरिरह्यो ।
अहिले प्रदीप गिरी हामीसामु छैनन् । तर, उनले हामीलाई जीवन र जगतलाई बुझ्न सघाउने कैयौं ज्ञान र दृष्टिकोण छोडेर गएका छन् । नेपालमा राजनीतिज्ञहरू सत्ताको खिचातानीमा लागिरहँदा त्योभन्दा पर बसेर राजनीति हुन्छ भन्ने उदाहरण र कैयौं अनुभव छोडेर गएका छन् । कैयौं भेटघाटका यादहरू छोडेर गएका छन् ।
त्यस्तै महत्वपूर्ण बहस र पैरवीहरू छोडेर गएका छन् । उनको अन्तरात्माको स्वभाव, अध्ययनप्रतिको लगाव साथै समाज र राजनीतिलाई अध्ययनसँग जोडिरहनुपर्छ भन्ने त्यो अविचलित जीवन पद्धतिमा सम्भवतः अहिलेको पुस्ताले सिक्नुपर्ने महत्वपूर्ण सन्देश अन्तरनिहित छ । उनी जस्तै समाजप्रति चिन्तनशील भएर लाग्ने नेता पाउन सायदै यो पुस्तामा अब कठिन होला तर उनले कोरेर गएको विचारको राजनीति चाहिं सधैं स्मरणीय नै होला ।