"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शान्ति स्थापनामा नेपालको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्छ : महासचिव गुटेरेस

प्रकाशित मिति :  30 October, 2023 3:21 pm


काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनामा नेपालले गरेको मौलिक अभ्यासबाट विश्वले पाठ सिक्नुपर्ने बताएका छन्।  

ललितपुरको पुल्चोकस्थित राष्ट्रसंघ भवनमा आज आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले भने, ‘नेपालले शान्ति स्थापनामा गरेको मौलिक अभ्यास, संक्रमणकालीन न्यायलाई अन्तिम निष्कर्ष दिन चालेका कदम र शान्ति स्थापनार्थ खटाइएका शान्ति सेनाका सफल उदाहरणबाट विश्वले पाठ सिक्नुपर्छ।’

हरेक क्षेत्रमा सबल र सफल राष्ट्र बनाउन यहाँस्थित राष्ट्रसंघीय कार्यालयका कर्मचारीलाई आग्रह गरे। उनले नेपाली जनतालाई केन्द्रमा राखेर आर्थिक–सामाजिक विकास गर्दै दिगो विकासका लक्ष्य पूरा गर्न  सम्भव छ भन्ने दृढताका साथ सहयोग गर्न आग्रहसमेत गरे। 
     
शान्ति प्रक्रियालाई अन्तिम निष्कर्षमा लाने, जलवायु परिवर्तनका प्रतिकूल असरबाट प्रभावित समुदायलाई पुनर्स्थापित गर्न र नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील मुलुकका स्तरोन्नति गर्ने प्रक्रियाका विषयलाई प्राथमिकतामा राखेर आफ्नो नेपाल भ्रमण भएको महासचिव गुटेरेसले स्पष्ट पारे। उनले संक्रमणकालीन न्यायलाई टुंगोमा लाँदा पीडितलाई केन्द्रका राख्नुपर्ने स्मरण गराए।  

महासचिव गुटेरेसले विश्वमा कार्बन उत्सर्जनमा कुनै भूमिका नभए पनि जलवायु परिवर्तनको प्रतिकूल असरको मार नेपालले खेपेका र हिमशृंखला पग्लन थालेकामा चिन्ता गर्दै यसको असर नेपाल र समग्र विश्वलाई पर्ने भएकाले त्यस गम्भीरतालाई मनन गरेर काम गर्नुपर्ने बताए। 

नेपालस्थित राष्ट्रसंघीय कार्यालयका आवासीय संयोजक हाना सिंगरले राष्ट्रसंघको मान्यता र तोकिएका कार्यका आधारमा नेपाललाई विकासशील मुलुकमा स्तरोन्नति गराउन र दिगो शान्ति स्थापनाका लागि सम्पूर्ण सहयोग जारी रहने स्पष्ट गरे। 

संवैधानिक हकको कार्यान्वयन र समतामूलक समावेशी विकासका लागि आफूहरूले नेपाललाई निरन्तर साथ रहने उनको भनाइ थियो।

कार्यक्रममा गायिका आनी छोइङ डोल्माले शान्तिभावका गीत प्रस्तुत गरेकी थिइन् भने समारोहपश्चात् महासचिव गुटेरेसले राष्ट्रसंघ भवन परिसरमा वृक्षारोपण गरेका थिए। चारदिने भ्रमणमा लागि महासचिव गुटेरेसले यही कात्तिक १२ गते नेपाल आएका हुन्।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (पहिलो

काठमाडौँ- राष्ट्रपति कार्यालयले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाएको छ। अध्यादेशको विषयवस्तुका विषयमा पुनर्विचार गर्न भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश फिर्ता पठाएका

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेका छन् । अध्यादेश अनुसार, विभिन्न १