"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

परराष्ट्रमन्त्री साउद र अमेरिकी सहयोग नियोग प्रमुखबीच छलफल

प्रकाशित मिति :  1 November, 2023 12:33 pm


वासिंटन डीसी / रासस ।अमेरिकाको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी सहयोग नियोग (यूएसएआइडी)का प्रमुख प्रशासक समान्था पावरबीच मंगलबार भेटवार्ता भएको छ ।

भेटका अवसरमा नेपालको विकासका प्राथमिकताहरूमा यूएसएआइडीका चालु कार्यक्रमहरू र त्यसको प्रभावकारिताका विषयमा छलफल भएको थियो । भेटका अवसरमा प्रशासक पावरले अमेरिकी सरकारका तर्फबाट नेपालको प्रजातान्त्रिक प्रक्रियाको प्रगति एवं मजबुत सम्बन्ध निर्माणका क्षेत्रमा प्रतिबद्धता जाहेर गरेकी थिइन् ।

प्रशासक पावरले नेपालको समावेशी आर्थिक विकासको अभिवृद्धिका लागि नियोगको प्रतिबद्धता व्यक्त गर्दै नेपाल सरकार तथा निजी क्षेत्रमार्फत लगानीका सम्भावनाका बारेमा नियोगको कार्यबारेसमेत छलफल गरेकी थिइन् ।

यूएसएआइडीको मुख्यालय वासिंटन डीसीमा भएको सो भेटमा मन्त्री साउदले नेपालको आर्थिक, सामाजिक विकासमा विगत ६ दशकभन्दा लामो समयदेखि यूएसएआइडीले पुर्‍याएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे । भेटका अवसरमा दुई देशका बीचमा विगत ७५ वर्षभन्दा लामो समयदेखिको निकट साझेदारी र सम्बन्धका विषयमा चर्चा भएको थियो ।

सन् २०२२ को मे ५ मा पाँच वर्षका लागि नेपाल सरकार र यूएसएआइडीले गरेका विकाससम्बन्धी सम्झौताअनुसार ६५ करोड ९० लाख अमेरिकी डलर बराबरको सम्झौता भएको थियो । उक्त रकम नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भएर मध्यमस्तरको विकासशील देशका रूपमा प्रवेश भएपछिको अवस्थालगायतका विषयमा खर्च गरिने उल्लेख गरिएको छ ।

भेटका अवसरमा सहयोगका यी र अन्य परियोजनाका विषयमा पनि कुराकानी भएको थियो । नेपालको आर्थिक, सामाजिक क्षेत्रको विकासमा अमेरिकाले लामो समयदेखि सहयोग पुर्‍याउँदै आएको चर्चा मन्त्री साउदले गरेका थिए । मंगलबारको सो भेटमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, नेपालका लागि अमेरिकी राजदूत डिनआर थम्पसनलगायत दूतावासका अधिकारीसमेत सहभागी थिए ।

नेपालका विभिन्न विकास आयोजना तथा कार्यक्रममा अमेरिकी सहयोग नियोगको महत्त्वपूर्ण योगदान रहँदै आएको छ । सन् १९५१ मा भएको ‘प्वाइन्ट फोर प्रोग्राम’ अन्तर्गतको सम्झौताअनुसार अमेरिका नेपालको पहिलो द्विपक्षीय दाताका रूपमा विगत सात दशकभन्दा लामो समयदेखि महत्त्वपूर्ण विकास साझेदार बन्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ऐजेन्सी – इरानी विदेशमन्त्री अब्बास अराग्ची रूस पुगेका छन्। आइतबार इस्लामावाद फर्किएका अराग्ची सोमबार बिहान रूसको सेन्ट पिटर्सबर्ग पुगेका हुन्।

काठमाडौं – नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिलासम्बन्धी सहायक मन्त्री एसपल कपुरले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। मरिससमा आयोजना भएको हिन्द महासागर सम्मेलनमा सहभागी हुने क्रममा

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूलाई उनीहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ