रास्वपा पदाधिकारी चयन : सबै पदमा तिव्र प्रतिस्पर्धा
चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सभापतिमा रवि लामिछाने निर्विरोध चयन भइसकेपछि अब उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितका पदमा निर्वाचन हुने भएको छ। उपसभापति पदमा अर्थमन्त्रीसमेत रहेका स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
यसैबीच महामन्त्रीका आकांक्षी शिशिर खनाल उम्मेदवारीबाट पछि हटेका छन्। उनले पार्टीभित्र एकता, संस्थागत सुदृढीकरण र सहमतिमा नेतृत्व चयनलाई प्राथमिकता दिन आफूले उम्मेदवारी नदिने निर्णय गरेको बताएका छन्।
खनालको निर्णयसँगै महामन्त्री पदको प्रतिस्पर्धा भने कायम रहेको छ। यसअघि उम्मेदवारी घोषणा गरेका कविन्द्र बुर्लाकोटी, विपिन आचार्य, गणेश पराजुली, मनीष झा, गणेश कार्की, रञ्जु दर्शना, सागर ढकाल र प्रमोद न्यौपाने मैदानमा छन्। यसैबीच राजु पाण्डेले पनि उम्मेदवारी घोषणा गरेका छन्। उनले पार्टीलाई अझ सशक्त, व्यवस्थित र गतिशील बनाउने लक्ष्यसहित महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने बताएका छन्।
उपसभापति पदमा पनि कडा प्रतिस्पर्धा देखिएको छ। खुला उपसभापतिमा स्वर्णिम वाग्ले र विराजभक्त श्रेष्ठ आमनेसामने छन्। महिला उपसभापतिका लागि सोबिता गौतम, इन्दिरा राना मगर र तोसिमा कार्की बीच प्रतिस्पर्धा हुनेछ। सोबिता गौतमको उम्मेदवारीमा प्रतिभा रावल प्रस्तावक बसेकी छन्।
सहमहामन्त्रीतर्फ महिलाबाट ज्वाला संग्रौला, निशा डाँगी र निशा मेहता प्रतिस्पर्धामा छन्। खुलातर्फ अशिम शाह, बब्लु गुप्ता, यज्ञमणि न्यौपाने, पुकार बम, सुलभ खरेल लगायतले उम्मेदवारी दिएका छन्। रास्वपाको नयाँ विधानअनुसार १५८ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था गरिएको छ। यसमा प्रत्यक्ष निर्वाचित, समावेशी, प्रदेश प्रतिनिधित्व र सभापतिबाट मनोनीत सदस्यहरूको मिश्रित संरचना हुनेछ।
पदाधिकारीको संख्या १९ रहने व्यवस्था गरिएको छ। सभापति, वरिष्ठ नेता, तीन उपसभापति, दुई महामन्त्री, पाँच सहमहामन्त्री, प्रवक्ता, सहप्रवक्ता, कोषाध्यक्ष र सहकोषाध्यक्ष समावेश छन्।












