"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राज्य व्यवस्था समितिका सदस्यहरु भूकम्प प्रभावित क्षेत्रमा

प्रकाशित मिति :  8 November, 2023 3:32 pm


काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरु स्थलगत अध्ययन र अनुगमनका लागि जाजरकोट–भूकम्पबाट प्रभावित क्षेत्रतर्फ गएका छन् । गत शुक्रबारको भूकम्पपछि उद्धार तथा राहत वितरणको अवस्था बुझ्न र आवश्यक अनुगमन र निर्देशनका लागि सभापति रामहरि खतिवडा र सदस्यहरु बुधबार बिहान सुर्खेत हुँदै जाजरकोट गएका हुन् ।

समितिले भूकम्प प्रभावितका लागि उद्धार र राहत वितरण गर्न मुख्य मुकाम तोकिएको सुर्खेतमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासहित उपलब्ध सरकारी अधिकारीसँग हालसम्मको खोज, उद्धार, स्वास्थ्य उपचार र राहतबारे जानकारी लिएको सभापति खतिवडाले जानकारी दिए ।

‘हामीले आज बिहान ८ बजेसम्मको सम्पूर्ण जानकारी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, सुर्खेतस्थित कर्णाली सरकारका प्रमुख तथा प्रतिनिधि र सुरक्षा र प्रशासनका प्रमुखहरुसँग लिएका थियौं । अब त्यसबमोजिम नागरिकको उद्धार र राहत वितरणको अवस्थाको अध्ययनका लागि हामी केही क्षणमा जाजरकोट पुग्दैछौं’, उनले भने ।

सभापति खतिवडाले राहत वितरण एवं आवश्यक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा तयारी हालतमा राखिएको, सबै घाइतेको उपचार भइरहेको, हाल एकजना घाइतेमात्र आइसियुमा रहेका र अहिले अस्पतालमा ९९ जना घाइते उपचाररत रहेका सुर्खेतमा ‘ब्रिफिङ’का क्रममा दिइएको जानकारी दिए । उनका अनुसार सर्खेतमा ब्रिफिङका क्रममा अहिलेसम्म करिब दुई अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिइएको थियो ।

त्यस्तै सो भूकम्पबाट ११ हजारभन्दा बढी घरमा आंशिक र १६ हजारभन्दा बढीमा पूर्ण रुपमा क्षति पुगेको भन्दै आफूहरुले ती आंशिक क्षति पुगेका घर पनि सबैजसो ढुंगामाटोको रहेकाले काम नलाग्ने अर्थात् पूर्ण क्षतिको सूचीमा राखेर राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरिएको पनि सभापति खतिवडाले जानकारी दिए ।

अहिलेसम्म करिब ८० प्रतिशत पीडितलाई राहत उपलब्ध गराइएको, उद्धारको काम सकिएकाले अब राहत वितरणका काममा केन्द्रित भएको, आवश्यकताअनुसार कम्तीमा २० जना अट्ने त्रिपाल ठाउँठाउँमा राखेर पीडितलाई सहयोग उपलब्ध गराइएको, चीनले पठाएका राहत सामग्रीहरु पोखराबाट जाजरकोटतर्फ आउँदै गरेका जानकारी गराइएको पनि सभापति खतिवडाले जानकारी दिए ।

जाजरकोट र रुकुम पश्चिमका राहत नपाएका बाँकी सबै प्रभावित पालिकामा आजै राहत सामग्री पुग्ने जानकारी आफूहरुले पाएको उनले बताए । आवश्यक राहत पुर्यादउने प्रयोजनका लागि सुर्खेतमा नेपाली सेनाका तीनओटा हेलिकप्टर तयारी अवस्थामा राखिएको जानकारी गराइएको पनि सभापति खतिवडाले बताए ।

उनले भने, ‘यहाँको अवस्था हेर्दा मान्छे आउने, तस्बिर खिच्ने तथा भीडभाड मात्र गर्ने गरेको पाइएकाले यस्ता कार्य हटाई सबैलाई मानवीय सेवामा लगाउन तथा राहात तथा उद्धारका काममा लागेका सुरक्षाकर्मी तथा उद्धारकर्तालाई अवरोध नगरी सहयोग गर्ने वातावरण निर्माण गर्नुपर्ने देखिएको छ ।’

आफ्नो निजी खर्चमा समितिका सभापति खतिवडा, सदस्यहरु एवं नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडू, नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता बुद्धिमान तामाङलगायत सांसद्हरु काठमाडौँबाट सुर्खेत हुँदै आज जाजरकोट जाँदैछन् ।

गत शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पा जाँदा एक सय ५३ जनाको मृत्यु भएको थियो भने तीन सयभन्दा बढी घाइते भएका थिए ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०८१–०८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको जीवनस्तरमा सुधार र उनीहरूको मुहारमा खुसी ल्याउनसक्ने विकास आजको आवश्यकता भएको बताएका छन्।  ललितपुर महानगरपालिकाको

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल