"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ओली र रविलाई विश्वप्रकाशको प्रश्न- मिसन ८४ भनेको के हो ?

प्रकाशित मिति :  4 December, 2023 4:15 pm


अछाम । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई ‘मिसन ८४’ भनेको के हो भन्ने प्रश्न गरेका छन्। अछाममा कांग्रेसले सोमबार गरेको कार्यक्रममा बोल्दै शर्माले ०८४ मा चुनाव हुने कुरालाई सामान्य रूपमा लिनुपर्ने बताए।

‘दुई-तीन दिनअघि तपाईंहरूको जिल्लामा मेरो जिल्लावासी, बडेबडे झापाली आउनुभएको थियो। तपाईंहरूलाई रमाइलो भयो कि नरमाइलो थाहा भएन। आज फेरि अर्को झापाली तपाईंहरूको जिल्लामा आएर उभिएको छ। बडेबडे झापालीको मूल लक्ष्य मिसन ८४ भन्नुभएको छ,’ ओलीलाई लक्षित गर्दै शर्माले भने, ‘एउटा नयाँ पार्टी रवि लामिछानेजीको नेतृत्वमा संसदमा उभिएको छ, राम्रै भूमिका खेलेको छ। उसले पनि मिसन ८४ भन्दैछ। मिसन ८४ भनेको के हो? के कांग्रेसले २००७ सालमा राणाशासन ढालेर जनतालाई स्वतन्त्रता दिएकोजस्तै हो? होइन।’

०८४ सालमा चुनाव हुने शर्माको भनाइ छ।  ‘न २००७ सालको क्रान्ति, न हिंसाबाट शान्ति’ जम्माजम्मी ०८४ मा चुनाव हुन्छ। चुनाव हुने कुन ठूलो कुरा भयो?,’ उनले प्रश्न गरे, ‘चुनाव पहिला पनि हुन्थ्यो। अब पनि हुन्छ। अब्बल विद्यार्थी त्यो होइन, जसले परीक्षाको चिन्ता गर्छ। अब्बल विद्यार्थी त्यो हो जसले पढाइको चिन्ता गर्छ। जिम्मेवार राजनीतिक दलले मस्तिष्कमा सधैं चुनाव भनेर राख्न हुन्न। चुनावको ओलीजी र लामिछानेजीलाई शुभकामना छ।’

राजनीतिक दलले एकपछि अर्को चुनावको मात्र चिन्ता गरेकोमा जनताले प्रश्न गर्नुपर्ने शर्माले बताए। उनले कांग्रेस मिसन ८४ को घोषणामा नभएको पनि बताए।

‘०८४ को वैशाखतिर चुनाव घोषणा होला त्यतिबेला चिन्ता गरौंला,’ शर्माले भने, ‘तर अहिलेलाई हामीले ०८० को चिन्ता गरौं। बाटो, बिजुली के-के गर्न बाँकी छ, काम गरौं। मंगलसेनको दरबार किन बनेन भनेर जनताले सोधिरहेछन्, ०८४ पछि खोज्ने?’

उनले ‘मिसन ८४ भन्दा पनि भिजन-९५’ को कुरा गरिनुपर्ने उनले बताए। ‘१५ वर्षपछि देशलाई कहाँ पुर्‍याउने त्यो विषयमा दलहरूले चिन्ता गरौं न,’ उनले भने, ‘सरकार त आउँछ जान्छ। हिँड्ने बाटो र पुग्ने लक्ष्य प्रष्ट भए जताबाट गए पनि पुगिन्छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका