एनसेल खरिद-बिक्री प्रक्रिया रोक्न सरकारलाई लेखा समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेल खरिद–बिक्री प्रक्रिया रोक्न सरकारलाई निर्देशन दिएको छ ।सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एनसेलको अहिले चलिरहेको खरिद-बिक्री प्रक्रिया तत्काल अगाडि नबढाउन सरकारलाई निर्देशन दिने निर्णय भएको सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।उनका अनुसार यस प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई समितिमा डाकेर छलफल गरिने छ ।
‘एनसेललगायत भ्रष्टाचार र अनियमिताका विषयमा प्रधानमन्त्रीलाई बोलाएर छलफल गर्ने, एनसेल खरिद-बिक्रीका जुन प्रक्रिया चलिरहेको छ यसलाई तत्काल रोक्न सरकारलाई निर्देशन दिने निर्णय भयो,’ बैठकपछि सभापति पोखरेलले भने, ‘एनसेन खरिद-बिक्रीमा प्रक्रिया र सेयर अंक अस्वाभाविक रहेकोले करछली भएको आशंका रहेकोले छानबिन गर्नुपर्ने निष्कर्ष समितिको छ ।’
बैठकमा धारणा राख्ने धेरैजसो सांसदहरुले एनसेल खरिद-बिक्री प्रकरणमा उच्चस्तरका नेताहरुको समेत संलग्न रहेको आरोप लगाएका थिए । उनीहरुले नेपालमामा लगानीको वातावरण नभएर बाहिरिन लागेको भन्ने एनसेलको विज्ञप्तिका विषयमा पनि नेपाल सरकारको प्रस्ट धारणा आउनुपर्ने बताए ।
बैठकमा सांसदहरु अमरेशकुमार सिंह, अर्जुननरसिंह केसी, हरि ढकाल, मनिष झा, राजन केसी, योगेश भट्टराई, राजेन्द्र लिङ्देनलगयातले बोलेका थिए । आजियटाले सन् २०१६ मा १ खर्ब ४३ करोड रुपैयाँमा खरिद गरिएको कम्पनी अहिले करिब साढे ३ प्रतिशत मूल्य अर्थात् ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गरेको छ ।













