"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

वर्तमान सरकार राष्ट्रघाती भएको अध्यक्ष ओलीको आक्रोश

प्रकाशित मिति :  7 December, 2023 2:07 pm


बागलुङ ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार राष्ट्रघाती र बेइमान भएको बताएका छन् ।  ‘समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा ८औं दिन बागलुङ बजारमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार र सरकारमा बसेका दलप्रति आक्रोश पोखेका छन् । 

नेपालको चरम असफलतामा गैरजिम्मेवार सरकार र गठबन्धन भएको पनि ओलीको आरोप छ । ‘देशमा अराजकता बढाउने, गैरराजनीतिक कुसंस्कारलाई प्रश्रय दिने, जनतामा निराशा बढाउने यो सरकार लाज पचाएर कुर्सीमा बसेको छ,’ ओलीले भने, ‘यो सरकारले न विकास गर्छ, न राष्ट्रिय हितमा काम गर्छ ।’ यही सरकार रहिरहे देश बर्बाद हुनेसमेत ओलीको भनाइ छ ।

बुधबार बागलुङकै बुर्तिवाङमा आयोजित सभामा ‘राजनीतिबाट माथि उठेर विकासमा लाग्न’ कार्यकर्ता र अन्य राजनीतिक शक्तिलाई आह्वान गरेका ओली भोलिपल्टै सत्ता गठबन्धनप्रति आक्रामक देखिएका हुन् । ‘जहाँ–जहाँ सडक बनेका छैनन् त्यहाँ कांग्रेसले ठेक्का लिएको छ’ ओलीले भने, ‘सरकार त विकास गर्न नसक्ने लुते नै भयो ।’ पोखरा विमानस्थल आफूले बनाएर छाडेको उल्लेख गर्दै उनले छिमेकीसँग डराएकाले सरकारले सञ्चालन गर्न नसकेको उनले बताए । ‘यो सरकार कम्फरटेबलवाला हो, त्यसैले ऊ रिसाउँछ कि भनेर जहाज ल्याउन दिएको छैन,’ ओलीले भने, ‘न कुर्सी छाड्छ, न काम गर्छ, यस्तो देख्दा एमालेको मन पोलेको छ ।’ ओलीले मिसन–०८४ मार्फत एमालेले एकल सरकार बनाएर जनताका सपना पूरा गर्ने दाबी गरे ।

फरक प्रसंगमा अध्यक्ष ओलीले बैंकहरूले ब्याज बढाएर आम नेपालीलाई सास्ती दिएको उनको टिप्पणी थियो । उनले ऋणी र बचतकर्ता नभएसम्म बैंक बन्द हुने कुरा हेक्का राख्न सञ्चालकलाई चेतावनी दिए । ‘ऋणी भएनन्, बचतकर्ता भएनन् भने तिम्रा बैंक बन्द हुन्छन्,’ उनले भने, ‘चर्को ब्याज लगाएर जनतालाई मार्ने काम नगर ।’

मंसिर १४ गतेदेखि सुरु भएको २१ दिने अभियानमा संकलन गरिएका सबै माग र सुझाव बटुलेर राष्ट्रनिर्माणको खाका र योजना बनाउने ओलीले बताए । उक्त योजनाअनुसार मिसन–०८४ मार्फत एकल बहुमतको सरकार बनाएर देशलाई अगाडि बढाउने दाबीसमेत गरे । बिहीबार बागलुङको गलकोट, घोडाबाँधे र बागलुङ बजारमा एमालेले जनभेटघाट र सभासमेत गरेको थियो । अभियानमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित उपाध्यक्षहरू, महासचिव शंकर पोखरेललगायत सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा