कुशासनका प्रकरणले नागरिकमा वितृष्णा उब्जिएको छ : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिक कुशासनले सबैभन्दा आजित भएको बताएका छन् । कुशासन नियत वा अयोग्यतासँग जोडिएको चर्चा गर्दै महामन्त्री थापाले एउटा काण्ड सेलाउन नपाउँदै अर्को काण्ड चर्चामा आउने गरेको बताए । ‘नागरिक सबैभन्दा ठूलो आजित केही कुरालाई भएको छ भने कुशासनले भएको छ । एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ’ थापाले भने, ‘केही समय अगाडिसम्म सुनकाण्ड थियो ।
शरणार्थी काण्ड थियो । अब एनसेल काण्ड आयो । ५/७, १०/१२ दिन सम्म सबैतिर यही काण्ड घुम्छ । यो सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ ।’ कांग्रेसको मुखपत्र नेपाल पुकारको नयाँ अंक सार्वजनिक कार्यक्रममा बोल्दै थापाले सुशासन कांग्रेसको वाचा मात्रै नभई त्यसैको लागि जन्मिएको पार्टी भएको दाबी गरे ।
कांग्रेस सरकारमा रहेको, ठूलो दल भएको, कांग्रेसकै अनुसार देश अघि बढिरहेको बेलामा किन कुशासनका घटना भइरहेका छन्? भनी थापाले आफ्नै दललाई प्रश्न गरे ।













