दीर्घकालिन योजनामा काम गर्दै गल्याङ नगरपालिका
स्याङ्जा । गल्याङ नगरपालिकाले स्थानीयको आवश्यकता अनुसारका नमुना काम र दीर्घकालिन योजनाहरु सञ्चालन गरिरहेको छ । पालिकाको कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास लगायत लैङ्गीक सशक्तीकरणका कार्यहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको छ । दीर्घकालिन योजनाका कामहरुमा प्राथमिकीकरण गरि कार्यसञ्चालन गरेको नतिजा उन्मुख छन् ।
स्थानीय कृषक कुसुम भण्डारीका अनुसार एकै ठाउबाट योजना सम्झौता, स्वास्थ्य चेकजाँच, माटो परिक्षण र कृषि साथै पशुपालन सम्बन्धि परामर्श पाउदा निकै खुशि लागेको जनाए । पालिकाका ११ वटै वडामा उपलब्ध हुने सेवाहरु योजना शाखाबाट हुने योजना सम्झौता, उपभोक्ता समितिको बैंक खाता खोल्ने कार्य, स्वास्थ्य शाखाबाट प्रवाह हुने सेवा लगायत डाक्टरहरुबाट विशेष चेकजाँच र घुम्ती स्वास्थ्य शिविर, कृषि तथा पशु सेवा शाखाबाट प्रदान हुने माटो परिक्षण, गोबर परिक्षण, दुध परिक्षण लगायत अन्य परामर्श सेवाहरु उक्त घुम्ती शिविरमा उपलब्ध रहेका छन ।
कृषकसंग कृषि प्राविधिक कार्यक्रममा पालिकाका ६१ स्थानमा चार हजार एक ७५ जनाका लागि परामर्श सहयोग र तालिम पनि सञ्चालन गरिएको छ । अधिकांश कृषि सामाग्री र सिपबाट बञ्चित नागरिकहरुका लागि यो कार्यक्रम सञ्चालन गरिएको थियो । यस कार्यक्रमले युवाहरुमा उद्यमशिलता र स्वरोजगारमा टेवा पुग्ने स्थानिय जानकारहरु बताएकाछन् ।
त्यस्तै, पालिकाले नगरकी छोरी कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । महिला सशक्तीकरणमा पालिकाको नगर सभाबाट छोरीको जन्ममा गरिमा विकास बैकमा खाता खोली पाँच हजार जम्मा गरिदिने निर्णय गरेको छ । भर्खर जन्मीएकी छोरी शिशुको लागि यो कार्यक्रम निकै प्रभावकारी हुनेमा स्थानिय महिलाहरुले बताएका छन् ।उपमेयर हेमा न्यौपाने तिमिल्सीनाका अनुसार नगरकी छोरी कार्यक्रमले छोरीहरुको सशक्तीकरणमा महत्वपूर्ण योगदान गर्ने बताईन् ।
त्यस्तै, एकीकृत घुम्ती स्वास्थ्य शिविरमा विशेषज्ञ चिकित्सक सहित निशुल्क औषधी, भिडियो एक्सरे सहितको स्वास्थ्य परिक्षण सेवासमेत पालिकाले निशुल्क उपलब्ध गराएको छ । स्वास्थ्य शिविरमा स्तन क्यान्सरको पहिचान, पाठेघरको मुखको क्यान्सर, आङ पाठेघर खस्ने समस्या, प्रस्तुती पश्चात हुने फिस्टुला, परिवार नियोजनका सेवाहरु साथै विशेषज्ञ चिकित्सकहरुबाट सबै किसिमका उपचार उपलब्ध थिए । यस सेवाले जेष्ठ नागरिक एकल महिला र विपन्न परिवार लगायत वडाका व्यक्तिहरुले लाभ लिएका छन् ।
भौगोलिक, आर्थिक र सामाजिक रुपमा विविधता भएका ग्रामीण वस्तीहरुमा रहेका जनतालाई घरघरमा पुगेर सेवा प्रदान गरि स्थानीय सरकारको अनुभुती गराउने प्रयत्न गरेको नगरप्रमुख गुरु प्रसाद भट्टराईले जानकारी गराए । नगर प्रमुख भट्टराईले भने – “स्थानीय सरकारको सेवा प्रभाहलाई घर घरमा पुर्याउन एकिकृत घुम्ती सेवाहरुलाई सञ्चालनमा ल्याएका हौँ, यस्ले स्थानीयहरुमा निकै सकारात्मक हौसला पुगेको देखेको छु ।” गाउँ गाउमा रहेका जनतालाई घरघरमा पुगेर सेवा प्रदान गरि स्थानीय सरकारको अनुभुती गराउने प्रयत्नमा रहेको नगरप्रमुख गुरु प्रसाद भट्टराईले जानकारी गराए ।
योजना छनौट र कार्यन्वयनमा स्थानीयहरुको पनि उल्लेख्य सहभागिता भएका कारण कार्यक्रमहरुका सहजता थपिएको छ । उपभोक्ता समितिको पदाधिकारी योजना सम्झौता गर्नका लागि नगरपालिकामा जाँदा हुने सम्पूर्ण खर्च वडा बाट एकीकृत घुम्ती शिविर संचालनले गर्दा सहज भएको सेवाग्राहीले खुशि व्यक्त गरेका छन् । पालिकाको समग्र समुन्नति र सुशासनमा केन्द्रीत कार्यक्रमहरुले स्थानीयहरुले समेत कार्यक्रमलाई अपनत्व लिएका छन् । सम्पूर्ण सेवाहरु एकै ठाउबाट उपलब्ध भएकोमा स्थानीय कृषक तथा अन्य सरोकारवाला सम्पूर्णमा उत्साह बढेको छ ।