एमालेको संकल्प यात्रा १८ औं दिनमा चिवाभन्ज्याङमा समापन
पाँचथर । मंसिर १४ मा बैतडीको झुलाघाटबाट सुरु भएको नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रीत ‘समृद्धिका लागि संकल्प यात्रा’ आइतबार १८ औं दिनमा पूरा भएको छ। पाँचथरको चिवाभन्ज्याङमा पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीले केहीबेर अघि राष्ट्रिय झण्डोत्तलन गरेपछि यात्रा औपचारिक रुपमा समापन भएको हो।
लगभग २ हजार किलोमिटर मध्यपहाडी यात्राको औपचारिक समापन नेपालको पाँचथर र भारत सिक्किमको सीमास्थित चिवा भञ्ज्याङमा दिउँसो सवा १२ बजे भएको हो। ओलीले यात्रामा सहभागीहरुलाई धन्यवाद दिएका छन्। राजनीतिक हिसाबले जनतामा निराशा फैलाइएको अवधिमा यात्राले जनतामा उत्साह फैलिएको विश्वास व्यक्त गरे। अन्य पार्टीमा समेत अभियानले प्रभाव पारेको ओलीले बताए।
आफ्ना ठाउँका विशेषता, परिचय, समस्यालगायतका विषय ध्यानाकर्षण, मागपत्र ज्ञापनपत्रद्वारा नागरिकबाट बुझ्ने मौका पाएको बताउँदै ओलीले वैचारिक र जानकारीका हिसाबले पार्टीलाई मजबुद बनाएको र समस्या समाधानका लागि पार्टीलाई कार्ययोजना प्राप्त भएको बताए।
‘देशको राजनीति अलमलमा छ, देशको समय, जनताको आयु, पिँढीको समय खेर गएको छ,’ अध्यक्ष ओलीले भने, ‘संकल्प यात्राले देश विकास र समृद्धिको दिशामा अघि बढाउन असाधारण भूमिका खेलेको छ।’ ओलीले आफूहरुको यात्राले अवाञ्छित चिन्तनलाई हतोत्साही पारेको पनि दाबी गरेका छन्।
‘यात्राले अवाञ्छित चिन्तन, विचारलाई हतोत्साहित गरेको छ, देश र जनताको हितलाई सर्विपरी ठान्न्ने आम जनताको मनोबल उच्च भएको छ,’, उनले भने ‘ सबै नेपालीलाई एकतामा बाँध्ने प्रेरणा यो यात्राले दिएको छ।’













